संसद् बैठकबाट प्रधानमन्त्री बाहिरिनु संसदीय मर्यादा विपरीत: कांग्रेस
सारांश
- नेपाली कांग्रेसले प्रधानमन्त्रीको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला बैठकबाट बाहिरिनुलाई संसदीय मर्यादा विपरीत भनेको छ ।
- कांग्रेसले प्रधानमन्त्रीको यो व्यवहारले संसदीय संस्कार र संवैधानिक मर्यादामाथि प्रश्न उठाएको टिप्पणी गरेको छ ।
- कांग्रेसले राष्ट्रिय पोसाकको विषयलाई पनि उठाएको छ, जुन संवैधानिक तथा राष्ट्रिय महत्वका अवसरमा सम्मान प्रकट गर्ने स्थापित अभ्यास हो ।
काठमाडौँ । नेपाली कांग्रेसले सङ्घीय संसद्को संयुक्त बैठकका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह बीचमै बैठक हलबाट बाहिरिएको घटनालाई संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमा विपरीत भएको टिप्पणी गरेको छ ।
कांग्रेसका प्रवक्ता देबराज चालिसेले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बैठकबाट बाहिरिनुले अप्रिय सन्देश दिएको बताएका हुन् ।
विज्ञप्तिमा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठक राष्ट्रिय महत्वको औपचारिक, उच्चस्तरीय तथा संवेदनशील कार्यक्रम भएको उल्लेख गर्दै आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री अन्त्यसम्म उपस्थित नरहनु उपयुक्त नभएको जनाइएको छ ।
कांग्रेसले प्रधानमन्त्रीले देखाएको व्यवहारलाई अस्वाभाविक शैलीका रूपमा टिप्पणी गर्दै यसले संसदीय संस्कार र संवैधानिक मर्यादामाथि प्रश्न उठाएको उल्लेख गरेको छ ।
त्यसैगरी प्रधानमन्त्रीको पोसाकबारे संसद्भित्रै टिप्पणी भएको विषयलाई पनि कांग्रेसले उठाएको छ। राष्ट्रिय पोसाक कानुनी रूपमा अनिवार्य नभए पनि संवैधानिक तथा राष्ट्रिय महत्वका अवसरमा राष्ट्रिय पहिचान, सांस्कृतिक परम्परा र राज्यको प्रतीकात्मक गरिमाप्रति सम्मान प्रकट गर्ने स्थापित अभ्यास रहेको विज्ञप्तिमा उल्लेख छ ।
लोकतन्त्रमा वैचारिक मतभेद र शैलीगत विविधता स्वाभाविक भए पनि राज्यका विभिन्न अंगबीचको पारस्परिक सम्मान, संसदीय संस्कार र संवैधानिक मर्यादाप्रतिको प्रतिबद्धता साझा राष्ट्रिय मूल्य हुनुपर्ने कांग्रेसको भनाइ छ ।
विज्ञप्तिमा संसद् केवल सरकार निर्माणका लागि गणितीय हैसियत बोकेको संस्था मात्रै नभई लोकतान्त्रिक संस्कार, संस्थागत अनुशासन र राष्ट्रिय सभ्यता प्रदर्शन गर्ने सर्वोच्च मञ्च भएको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
-
स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए
-
कार्गो जहाजमा ड्रोन हमलापछि अमेरिकाद्वारा इरानमाथि प्रत्याक्रमण
-
बागमतीको पूर्वाधार योजनाः प्रादेशिक सडकमा ७ अर्ब १० करोड बजेट
-
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
-
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण