मिर्गौला प्रत्यारोपणपछि पनि सगरमाथाको शिखर चुमेका पेम्बा
सारांश
- मिर्गौला प्रत्यारोपणपछि सगरमाथाको शिखर चुम्ने पेम्बा शेर्पा सातै महादेशका सर्वोच्च शिखर चढ्ने तयारीमा छन्।
- पेम्बाले सगरमाथा आरोहणका क्रममा अङ्गदानको महत्वबारे सन्देश दिएका थिए।
- उनले अङ्गदानको जनचेतना जगाउन र पिडितलाई सहयोग गर्न पेम्बा फाउन्डेसन स्थापना गर्ने योजना सुनाए।
काठमाडौँ । जीवनका उकाली–ओरालीमा जतिसुकै ठुला आँधी आए पनि सोलुखुम्बुका पेम्बा शेर्पालाई ढलाउन सक्दैन । उनी यति कठोर बनिसकेका छन् कि कुनै सङ्कटले उनको आत्मबल गलाउन सक्दैन ।
३७ वर्षीय पेम्बाले मिर्गौला प्रत्यारोपणपछि सगरमाथाको शिखर चुम्ने पहिलो व्यक्तिका रूपमा आफ्नो नाम दर्ज गराइसकेका छन् । आफ्नै बुबाले दिएको मिर्गौला प्रत्यारोपण गरेका यी आरोहीको यात्रा यत्तिमै रोकिएको छैन । सात वटै महादेशका सर्वोच्च शिखर चढ्ने प्रणका साथ उनी कम्मर कसेर अघि बढिरहेका छन् । सोही अनुसार उनले सगरमाथा आरोहणलाई पहिलो अध्याय बनाए ।
सोलुखुम्बुको माप्या दूधकोशी गाउँपालिका स्थायी घर भएका पेम्बाले ०८२ वैशाख ३१ गते बिहान ९ः३० बजे सगरमाथाको चुचुरोमा पाइला राखेर झण्डा फहराए । उक्त झण्डामा लेखिएको थियो– ‘अर्गान् डोनेशन इज् लाइफ डोनेशन, लेट्स डोनेट अर्गान्स द्याट् विद् वी लस्ट् आफ्टर डेथ्’ अर्थात् अङ्गदान नै जीवनदान हो, मृत्युपछि खेर जाने अङ्गहरू दान गरौँ ।
सगरमाथाको सफल आरोहणपछि पेम्बाले ‘अङ्गदान नै जीवनदान हो, आफू पनि बाँचौँ, अरुलाई पनि बचाऔँ’ भन्ने सन्देश बोकेर अन्य ६ महादेशका सर्वोच्च शिखर चढ्ने तयारी गरेका छन् ।
‘अङ्गदानको आह्वान गर्न र जनचेतना जगाउन ७ वटै महादेशका हिमाल चढ्न खोजेको हो,’ उनले भने ।
_moVQr50Rne.jpg)
पेम्बाले सगरमाथा चढ्नुभन्दा पहिले ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल चढिसकेका थिए । सोलुखुम्बुको काखमा हुर्किएका उनी कुनै बेला भरियाको काम गर्थे ।
औपचारिक शिक्षा ५ कक्षासम्म मात्र लिएका पेम्बाले सोलुखुम्बुको पाङ्गोम गुम्बामा ४ वर्ष बुद्धिजम पढे ।
नेशनल इन्सिट्च्युट अफ हेल्थका अनुसार संसारभर ८५ करोड मानिस विभिन्न प्रकारका मिर्गौला रोगबाट पीडित छन् । सरकारी प्रतिवेदन तथा जनस्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको अध्ययन अनुसार नेपालमा झन्डै ३० लाख मानिसको मिर्गौलामा कुनै न कुनै प्रकारको समस्या रहेको अनुमान छ । जसमध्ये तीन लाखको मिर्गौला बिग्रिरहेको तथ्याङ्क छ । नेपालमा बर्सेनि ३ हजार नयाँ बिरामी थपिन्छन् ।
एक व्यक्तिले अङ्गदान गर्दा पीडितहरूको उद्धार हुने पेम्बा बताउँछन् । खरानी भएर जाने अङ्ग समयमै कसैलाई दान गरेमा उसको ज्यान बचाउन सकिन्छ, तर पर्याप्त मात्रामा दाता पाउन नसकेको उनले बताए ।
जनचेतना र प्रचारप्रसारको कमीकै कारण अङ्गदान गर्ने मानिस पाउन नसकेको पेम्बाको भनाइ छ । व्यक्तिगत प्रयासमा उनी ७ वटै महादेशका सर्वोच्च शिखरको आरोहण गरेर ‘अङ्गदान गरौँ, जीवनदान गरौँ’ भन्ने सन्देश फैलाउन चाहन्छन् ।
- बुवाले मिर्गौला दिएपछि नयाँ जीवन
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई पेम्बाले भगवान नै मान्छन् । डा. पुकारसहितको टोलीले २०७९ कात्तिक २ गते शेर्पाको मिर्गौला प्रत्यारोपण गरेको थियो ।
_3ODQsMgeOn.jpg)
पेम्बाका ५७ वर्षीय बुवा आङ्ग्याल्जेन शेर्पाले उनलाई मिर्गौला दान गरेका थिए ।
- वैदेशिक रोजगारीमा जाँदा मिर्गौला फेल
वैदेशिक रोजगारीको सिलसिलामा पेम्बाले ४ वर्ष मलेसिया र ६ वर्ष जापानमा बिताए । मलेसिया छँदा उनी एक प्लास्टिक कम्पनीमा काम गर्थे । जापानमा उनले टोयोटा गाडीको कम्पनीमा काम गरे ।
विदेशमा मजदुरी गर्दा दैनिक ११ घण्टासम्म खट्ने पेम्बाको मलेसिया छँदा २ पटक खुट्टा भाँचियो । जापान बस्दा उनले आफ्नो मिर्गौला फेल भएको अन्तिम स्टेजमा पुगेपछि मात्र थाहा पाए ।
जापानमा उपचार गराउने सामर्थ्य नभएर उनी नेपाल फर्किए । उनी टिचिङ अस्पतालमा २ हप्तासम्म बसे । धुम्बाराहीको ह्याम्स अस्पतालमा १६ महिनासम्म डायलासिसको लागि उनी धाए । मिर्गौला डायलासिस गरेरै साढे २ वर्षसम्म उनले कठिन दिन गुजारे ।
_wNkryZrBye.jpg)
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रबाट मिर्गौला प्रत्यारोपण गराएपछि मात्र उनले बल्ल राहत पाए, त्यो पनि धेरै पैसा खर्च गरेपछि उनी निको भए । दुई छोरी र पत्नीका साथ काठमाडौँको गोकर्णेश्वरमा बसिरहेका पेम्बाले स्वदेश फर्किएपछि जापानी भाषाको प्रशिक्षकको रूपमा समेत काम गरेका थिए ।
- तत्कालीन स्वास्थ्यमन्त्री पौडेलको झुटो आश्वासन
सगरमाथा चढ्नु अगाडि आवश्यक खर्च जुटाउन पेम्बाले धेरै सङ्घर्ष गरे । प्रधानमन्त्री कार्यालय र अन्य विभिन्न मन्त्रालयमा उनी पटक–पटक धाए, तर कतैबाट सहयोग पाएनन् ।
झन्डै ७० हजार रुपैयाँ खर्च भइसक्दा पनि सहयोग नपाएपछि उनी निरास बने । चार पटक स्वास्थ्य मन्त्रालय पुग्दा बल्ल–बल्ल पेम्बाले तत्कालीन स्वास्थ्यमन्त्री प्रदिप पौडेललाई भेट्ने मौका पाए ।
पेम्बाका अनुसार उनलाई तत्कालीन मन्त्री पौडेलले सोधेका थिए, ‘मिर्गौला प्रत्यारोपण गर्नु भएको छ, सगरमाथा चढ्न सक्नुहुन्छ ?’
_MTv9bi1qlg.jpg)
आत्मबल बलियो बनाएका पेम्बाले ‘सक्छु’ भन्ने जबाफ दिए । लगत्तै पौडेलले ‘बधाई छ, चढेर आउनुस्’ भनेर बिदा गरेको उनले सुनाए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनले भेटे । सगरमाथा चढेबापत सरकारलाई तिर्नुपर्ने डेढ लाख रुपैयाँ छुट गराइदिएकोमात्र भए पनि आफूलाई आर्थिक रूपमा निकै हलुको हुने उनको अपेक्षा थियो । यद्यपि, तत्कालीन प्रधानमन्त्री र मन्त्रीले बेवास्ता गरेको उनको गुनासो छ ।
तिनै पेम्बा सगरमाथाको सफल आरोहरण गरेर फर्किएपछि भने तत्कालीन स्वास्थ्यमन्त्री प्रदिप पौडेलले मन्त्रालयमा विशेष कार्यक्रम आयोजना गरेर बधाई दिँदै भने, ‘तपाईं प्रत्यारोपण प्रवर्द्धन दूत बनिदिनु पर्यो ।’
तर, प्रक्रिया पूरा गरेर पटक–पटक ‘स्वास्थ्यमन्त्रीलाई भेट्न खोज्दा स्वकीय सचिवले कहिल्यै भेट नगराएको उनको अनुभव छ ।
‘चार पटक मन्त्रालय धाएँ, कैयौँ पटक फोन गरेँ, तर मन्त्रीका स्वकीय सचिवले मन्त्रीसँग भेट्नै दिएनन्,’ पेम्बाले रातोपाटीसँग भने ।
दुई पटक मिर्गौला फेरेका तत्कालीन प्रधानमन्त्री ओलीले त कुरा बुझिदिन्छन् होला भन्ने लागेको तर त्यो पनि निराशामा परिणत भएको उनले दुखेसो पोखे ।
सगरमाथा चढेर फर्किएपछि ओलीले पनि खादा लगाएर बधाई दिने बाहेक थप सहयोग नगरेको उनले बताए ।
_0WLBj4on1s.jpg)
सगरमाथा चढ्दा पेम्बाले ३२ लाख रुपैयाँ खर्च गरे । त्यसमध्ये १९ लाख रुपैयाँ उनले फेसबुकमार्फत जुटाए । बाँकी रकम एनसेल, यति एयरलाइन्सले सहयोग गरे । दावायाङ्जुम शेर्पा, लाक्पा सोनाम शेर्पा, एसियन ट्रेकका आङ्छिरिङ शेर्पा र उनका साथीभाइ, आफन्तहरूले पनि मन खोलेर ठुलो सहयोग गरे ।
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले सगरमाथा चढ्दा लाग्ने रोयल्टी शुल्क डेढ लाख रुपैयाँ उनलाई सहयोग गरेको थियो ।
सगरमाथापछि विश्वका ६ वटा महादेशका सर्वोच्च शिखर चढ्ने यात्रामा छन् पेम्बा । त्यसका लागि डेढ करोड रुपैयाँको खाँचो छ । हरेक दिन विभिन्न कम्पनी र व्यक्तिहरूसामु आफ्नो उद्देश्य र सन्देश सुनाइरहेका छन् उनी ।
नेपाल र नेपालीहरूको इतिहास लेखाउने पेम्बाको ठुलो धोको छ । त्यसका लागि सबैसँग सहयोग माग्ने उनी बताउँछन् । ‘मानिसले अङ्गदान गर्न हिच्किचाउँछन्, आफ्नो मृत्युपछि सबैले अङ्गदान गरेर अरुको जीवन बचाउन सहयोग गरुन्,’ उनले भने ।
सातै वटा महादेशका सर्वोच्च शिखर चढिसकेपछि ‘पेम्बा फाउन्डेसन’ स्थापना गरेर अङ्ग गुमाएका व्यक्तिहरूलाई सहयोग गर्ने योजना उनले सुनाए ।
‘मानिसको मस्तिष्कको मृत्युपछि ७ वटा अङ्गदान गर्न मिल्छ, त्यसले ७ जना मानिस बचाउन सकिन्छ,’ पेम्बाले भने, ‘खरानी भएर जाने अङ्गदान गरेर अरुको जीवन बचाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्डविरुद्ध बेल्जियमको गोलवर्षा
-
धार्मिक आस्था र जैविक विविधताको अनुपम संगम : पार्वती कुण्ड
-
जहाँ प्रकृतिसँग लुकामारी गर्दै संस्कृतिसँग साक्षात्कार गर्न पाइन्छ (तस्बिरहरू)
-
बेल्जियमको अग्रता दोब्बर, ट्रसयार्डको दोस्रो गोल
-
बजेट कार्यान्वयन सुधारका लागि कर्णालीमा सधैँ उस्तै नीति, अवस्था ज्युँका त्युँ !
-
विजय मल्लका कृतिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण