बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

ट्राफिक सचेतनाका कार्यक्रमको प्रभावकारिताबारे प्रमुख सचेतक बासना थापाको प्रश्न

‘रात्रिकालीन यातायात बन्द मात्रै दुर्घटना न्यूनीकरणको विकल्प होइन’
मङ्गलबार, २९ वैशाख २०८३, ११ : ३१
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले मुलुकमा सञ्चालित ट्राफिक सचेतनाका कार्यक्रमहरूको प्रभावकारितामा प्रश्न उठाएकी छन्।
  • उनले सचेतनाका कार्यक्रमको प्रभावकारिताको मूल्यांकन र फिडब्याक लिने परिपाटीमा कमजोरी रहेको औँल्याउँदै कर्णाली प्रदेशमा रात्रिकालीन यातायात बन्द गर्ने निर्णयले सर्वसाधारणको जनजीवनमा पारेको नकारात्मक असरप्रति सरकारको ध्यानाकर्षण गराइन्।
  • थापाले दुर्घटना न्यूनीकरणका लागि वैकल्पिक उपाय खोजिनुपर्ने र सरकारी योजना तथा कानुनहरू कार्यान्वयनको तहमा आई जनताको समस्या समाधानमा ठोस भूमिका खेल्नुपर्नेमा जोड दिएकी छन्।

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले मुलुकमा सञ्चालन भइरहेका ट्राफिक सचेतनाका कार्यक्रमहरूको प्रभावकारितामाथि प्रश्न उठाएकी छन्। 

पूर्वाधार विकास समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले सचेतनाका कार्यक्रमहरू धेरै हुने गरे पनि त्यसको वास्तविक मूल्यांकन र फिडब्याक लिने परिपाटीमा गम्भीर कमजोरी रहेको औँल्याएकी हुन्।

सचेतक थापाले विशेषगरी कर्णाली प्रदेशको सन्दर्भलाई जोड्दै रात्रिकालीन यातायात बन्द गर्ने निर्णयले सर्वसाधारणको जनजीवनमा पारेको नकारात्मक असरबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। दुर्घटना न्यूनीकरण गर्ने नाममा यातायात नै ठप्प पार्नु उचित नभएको तर्क गर्दै उनले यसका लागि अन्य वैकल्पिक उपायहरू खोजिनुपर्नेमा जोड दिएकी छन्। उनले दुर्घटना कम गर्ने बहानामा सर्वसाधारणले भोग्नुपरिरहेको सास्ती र समस्यालाई राज्यले नजरअन्दाज गर्न नहुने धारणा व्यक्त गरेकी छन्।

बैठकमा आफ्नो धारणा राख्दै थापाले भनिन्, ‘सचेतनाका कार्यक्रमहरू धेरै गरिन्छन्, तर ती कार्यक्रम सकिएपछि त्यसले कत्तिको फाइदा भयो वा कत्तिको काम गर्यो भन्ने मूल्यांकन हामीले गर्यौँ कि गरेनौँ ? भन्नेकुरा मुख्य हुन्छ। कार्यक्रमहरूको फिडब्याक लिन हामी कताकता पछि परेको जस्तो देखिन्छ। के रात्रिकालीन यातायात बन्द गर्नु मात्रै दुर्घटना कम गर्ने विकल्प हो ? यस निर्णयबाट जनजीवनमा पर्न गएको असजिलो र समस्याका बारेमा हामीले किन कुरा गरेनौँ ?’

यसैगरी बैठकमा विभागीय मन्त्रीले प्रस्तुत गरेका योजना र ऐन कानुनका विषयमा टिप्पणी गर्दै थापाले ती योजनाहरू केवल कागजमा मात्र सीमित नभई कार्यान्वयनको तहमा आउनुपर्ने माग गरेकी छन्। उनले सरकारी योजना र कानुनहरूले जनताको समस्या समाधान गर्न ठोस भूमिका खेल्नुपर्नेमा जोड दिएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप