५५९ ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ
सारांश
- लागु औषध नियन्त्रण ब्यूरोले देशका विभिन्न स्थानबाट ५५९ ग्राम खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेको छ।
- ब्यूरोको कोटेश्वर कार्यालय र मातहतका शाखा कार्यालयहरूले वैशाख २८ र २९ गते काठमाडौँ, पोखरा, नेपालगञ्ज र सुर्खेतमा चलाएको विशेष अपरेशनका क्रममा उनीहरू पक्राउ परेका हुन्।
- प्रहरीले उनीहरूको साथबाट लागु औषधका अतिरिक्त एक थान डिजिटल तराजु र १६ लाख ६३ हजार ५५० रुपैयाँ नगद समेत बरामद गरेको छ।
काठमाडौँ । लागु औषध नियन्त्रण ब्यूरोले देशका विभिन्न स्थानबाट ५५९ ग्राम खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेको छ।
ब्यूरोको कोटेश्वर कार्यालय र मातहतका शाखा कार्यालयहरूले वैशाख २८ र २९ गते काठमाडौँ, पोखरा, नेपालगञ्ज र सुर्खेतमा चलाएको विशेष अपरेशनका क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट लागु औषधका अतिरिक्त एक थान डिजिटल तराजु र १६ लाख ६३ हजार ५५० रुपैयाँ नगद समेत बरामद गरेको छ।
लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले ४९ ग्राम खैरो हेरोइनसहित बझाङका ३१ वर्षीय भरत ओखेडा, दोलखाका ३६ वर्षीय गोपी कटुवाल र भारत बिहारका ३४ वर्षीय मङ्गल रामलाई पक्राउ गरेको छ। त्यस्तै, ब्यूरोको थानकोट शाखा र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले १९७ ग्राम खैरो हेरोइनसहित झापाकी ३४ वर्षीया गंगा राई र सिन्धुपाल्चोकका ३६ वर्षीय गौतम केसीलाई नियन्त्रणमा लिएको छ।
नेपालगञ्ज शाखाबाट खटिएको टोलीले २८० ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ३५ वर्षीय तेजेन्द्र कुमार र २० वर्षीय विजय सिंह रहेका छन्।
पोखरा शाखाले ३० ग्राम खैरो हेरोइन, ११ लाख ४८ हजार रुपैयाँ नगद र डिजिटल तराजुसहित कास्की बस्ने २२ वर्षीया रुबिना खातुनलाई पक्राउ गरेको छ। यसैगरी सुर्खेत शाखाले ३ ग्राम खैरो हेरोइन र ५ लाख १५ हजार ५५० रुपैयाँ नगदसहित वीरेन्द्रनगरका २० वर्षीय प्रशान्त सुनार र ४८ वर्षीय एकेन्द्र बहादुर सुनारलाई पक्राउ गरेको छ।
पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्यूरो र काठमाडौँ उपत्यका बाहिरका हकमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा बुझाइएको प्रहरीले जनाएको छ। कारोबारमा संलग्नहरूको सञ्जाल र स्रोतबारे थप अनुसन्धान भइरहेको ब्यूरोले उल्लेख गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण