सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पार्टी एकताका लागि साझा संयन्त्र आवश्यक, विभाजनको कुनै मनसाय छैन: नेता महत

बुधबार, ३० वैशाख २०८३, १७ : ३१
बुधबार, ३० वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी एकताका लागि नेतृत्वलाई थप जिम्मेवार बन्न आग्रह गरेका छन्।
  • उनले पार्टीलाई व्यक्ति नभई संस्थाका रूपमा बलियो बनाउने अभियानमा आफूहरू लागेको र विभाजनको कुनै मनसाय नरहेको स्पष्ट पारे।
  • उनले १५ औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सहमतिको साझा संयन्त्र निर्माणमा जोड दिएका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको वर्तमान नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि नेतृत्वलाई थप जिम्मेवार बन्न आग्रह गरेका हुन्।

सम्बोधनका क्रममा नेता महतले आफूहरू पार्टीमा कुनै पनि किसिमको विग्रह नचाहने र सदैव एकताको पक्षमा रहेको स्पष्ट पारे। एक पक्षले मात्र निर्वाचित गरेको आधारमा नेतृत्वले स्वेच्छाचारी ढङ्गले चल्न नहुने उनको तर्क छ। 

पार्टीलाई व्यक्ति नभई संस्थाका रूपमा बलियो बनाउने अभियानमा आफूहरू लागेको बताउँदै उनले कुनै पनि दुविधामा नपर्न कार्यकर्ताहरूलाई आग्रह गरे। पार्टी विभाजन गर्ने आफूहरूको कुनै मनसाय नरहेको स्पष्ट पार्दै उनले एकताका लागि नेतृत्वले निश्चित आधार तय गर्नुपर्ने र ती आधारप्रति गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

उनले भने, ‘हामी पार्टी एकताको पक्षमा छौँ र कुनैपनि अवस्थामा विग्रह आओस् भन्ने चाहँदैनौँ। तर विशेष अधिवेशनबाट चुनिएर आएको वर्तमान नेतृत्वले सबैलाई मिलाएर लैजाने कानुनी र नैतिक जिम्मेवारी भुल्नु हुँदैन। हामी जे चाहन्छौँ, त्यही मात्र हुन्छ भन्ने सोच राखेर योगदान दिएका अन्य नेता–कार्यकर्ताको अर्थ छैन भन्ने किसिमले अगाडि बढ्नु गलत हुन्छ, यसले पार्टीलाई फाइदा पुर्‍याउँदैन।’

नेता महतले १५ औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सहमतिको ‘साझा संयन्त्र’ निर्माण गर्नुपर्नेमा समेत जोड दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप