सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयको उद्घाटन
सारांश
- गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले मनाङमा निर्मित सशस्त्र प्रहरी बलको पर्वतीय तालिम शिक्षालयको उद्घाटन गरेका छन्।
- शिक्षालयमा सञ्चालित सिसम-२ उच्च भू-भाग खोज तथा उद्धार तालिमको समापन गरिएको छ, जसमा प्रशिक्षार्थीहरूले चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका थिए।
- यस शिक्षालयबाट तालिम प्राप्त सशस्त्र प्रहरीले हिमाली जिल्लाहरूमा हिउँमा फसेका व्यक्तिहरू र १५ सय नागरिकहरूको उद्धार गरेका छन्।
काठमाडौँ । मनाङमा निर्मित सशस्त्र प्रहरी बलको पर्वतीय तालिम शिक्षालयको उद्घाटन गरिएको छ । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले मनाङमा निर्माण भएको तालिम शिक्षालय भवनको उद्घाटन गरेका हुन् । बिहीबार गृहसचिव श्रेष्ठ र सशस्त्रका आईजी नारायणदत्त पौडेल मनाङ पुगेका थिए ।
शिक्षालयमा सञ्चालित सिसम–२ उच्च भू–भाग खोज तथा उद्धार तालिमको पनि समापन गरिएको छ । कार्यक्रममा बोल्दै गृहसचिव श्रेष्ठले विपद् उद्धार कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरूको ज्ञान, त्याग र साहसको प्रशंसा गरे । उनले भने– ‘अकस्मात् आउन सक्ने विपद् कार्यहरूमा सीमित श्रोत साधनको बाबजुद पनि सशस्त्र प्रहरी बल, नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।’
सशस्त्रका आईजी नारायणदत्त पौडेलले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरीले आफूलाई राष्ट्रको भरोसायोग्य सुरक्षा सङ्गठनका रूपमा आफूलाई स्थापित गर्दै आएको बताए ।
उच्च भूभाग खोज तथा उद्धार तालिमका ४ जना प्रशिक्षक तथा १८ प्रशिक्षार्थीहरूले वैशाख २९ गते ६ हजार ३८ मिटर अग्लो चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका थिए । यसअघि २०८२ असोज २५ गते सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलको कमान्डमा पहिलो पटक ७ जनाले चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका थिए ।
२०८२ असोज ९ गते सशस्त्र प्रहरी नायव उपरीक्षक जोगेन्द्र के।सी।को कमान्डमा २१ जनाले सफल आरोहण गरेका थिए । कार्यक्रममा मनाङ जिल्ला ङिस्याङ गाउँपालिकाका अध्यक्ष, गृहमन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू, मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, शिक्षालयका समादेशक लगायत सिनियर अधिकृत, जुनियर अधिकृत तथा विल्लादार जवानहरूको उपस्थिति रहेको थियो ।
२०७७ सालमा मनाङ जिल्ला सदरमुकाममा स्थापना भई २०७८ साल वैशाखदेखि ङिस्याङ गाउँपालिका ४ स्थित हुम्डेमा शिक्षालय स्थानान्तरण भएको हो । हालसम्म ७५ जनाले उच्च भू–भाग खोज तथा उद्धार आधारभूत तालिम, ५५ जनाले उच्च भू–भाग खोज तथा उद्धार एडभान्स तालिम र १ सय २० जनाले रोप रेस्क्यु तालिम प्राप्त गरेका छन् ।
शिक्षालयमा सञ्चालन भएका विभिन्न तालिम तथा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरूमा गत कार्तिक महिनामा हिउँमा फसेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार, भारी हिमपातमा फसेका १५ सय नागरिकहरूको सकुशल उद्धार गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण