बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
पुस्तक अंश

नेपालमा पुस्तकालयको नालीबेली

शनिबार, ०२ जेठ २०८३, १२ : ४५
शनिबार, ०२ जेठ २०८३

सारांश

  • सन् २००० मा जोन ऊडद्वारा स्थापित 'रुम टु रिड' संस्थाले नेपालका विद्यालयहरूमा पुस्तकालय स्थापना गरी बालबालिकाको शिक्षामा सहयोग पुर्‍याएको छ।
  • रुम टु रिडले अहिलेसम्म ४५०० भन्दा बढी विद्यालयमा पुस्तकालय स्थापना, ४०० शीर्षक बालसाहित्य प्रकाशन र १ करोडभन्दा बढी पुस्तक निःशुल्क वितरण गरिसकेको छ।
  • नेपालमा पुस्तकालय विज्ञानको पढाइ त्रिवि अन्तर्गत केन्द्रीय विभाग स्थापना भएपछि व्यवस्थित तालिम र स्नातकोत्तर तहको पढाइ सुरु भएको छ।

शिक्षित बालबालिकाहरूबाटै परिवर्तन सम्भव छ भन्ने मान्यता साथ सन् २००० मा स्थापित ‘रुम टु रिड’ को कथा रोचक छ । विश्व विख्यात माइक्रोसफ्ट कम्पनी चीनका व्यापार प्रमुख जोन ऊड सन् १९९८ मा नेपाल घुम्न आएका थिए । नेपाल घुम्ने क्रमा उनी लमजुको बाहुनडाँडा पुगे । 

त्यहाँ उनलाई नजिकैको विद्यालयमा पशुपति शर्माले लिएर गए । ४५० जना विद्यार्थीहरू अध्ययन गरिरहेको विद्यालयको पुस्तकालयमा पस्दा जोन ऊड झस्के । एउटा थोत्रो बाकसभित्र शिक्षकहरूलाई समेत काम नलाग्ने केही थान पुस्तकहरू थिए त्यहाँ । त्यस्तो दयनीय अवस्था देखेपछि जीवनको बाटो नै मोडिएको भन्छन् जोन ऊड । 

पुस्तकबिनाको पढाइ देखेर त्यही दिन जोन ऊडले सङ्कल्प गरे, नेपालको विद्यालयहरूका लागि पुस्तकालय बनाउने । त्यसको ठिक एक वर्षपछि ६ वटा खच्चडमा ३ हजार किताब बोकाएर बाहुनडाँडाको विद्यालयमा पुगेर उनले पुस्तकालयको स्थापना गरे । नेपालमा अब आफैले केही गर्नुपर्छ तर माइक्रोसफ्ट कम्पनीमा जागिर खाउन्जेल यो सफल नहुने देखेपछि उनले जागिर छाडे । 

यति मात्र कहाँ हो र ? आफूलाई औधी माया गर्ने, आफूले पनि माया गर्ने केटी साथीबाट समेत अलग भएर सन् २००० मा रुम टु रिड नामक अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाको स्थापना गरे । यो संस्था स्थापना गर्नुमा दिनेश श्रेष्ठको ठुलो हात छ । दिनेश श्रेष्ठ रुम टु रिडको सह–संस्थापकका रूपमा चिनिन्छन् । 

सुरुमा अमेरिकाबाट कन्टेनरका कन्टेनर अङ्ग्रेजी भाषाका पुस्तकहरू ल्याइन्थ्यो । ती पुस्तकहरू विद्यालयका र अन्य पुस्तकालयहरूमा निःशुल्क बाँड्न भोलाकुमार श्रेष्ठले पनि सहयोग पुर्‍याएका थिए । अङ्ग्रेजी भाषाका पुस्तकहरू विद्यालयका लागि धेरै उपयोगी नहुने देखेपछि नेपालबाटै पुस्तकालयहरूमा काम लाग्ने नेपाली भाषाका पुस्तकहरू पठाउन थालियो । 

पुस्तकालय व्यवस्थापनका लागि विभिन्न जिल्लाहरूमा पुगेर भोलाकुमार श्रेष्ठ, मुरारीविनोद पोखरेल, राजीवधर जोशीले ३ दिने तालिम दिएका थिए । यसरी रुम टु रिडले अहिलेसम्म चार हजार पाँच सय भन्दा बढी विद्यालयहरूमा पुस्तकालय स्थापना गरिसकेको छ । करिब ४०० शीर्षकको बालसाहित्यका पुस्तकहरू प्रकाशन गरिसकेको छ । 

यसले नेपालमा बालसाहित्य प्रकाशनले ठुलो फड्को मारेको छ । अहिलेसम्म रुम टु रिडले आफ्नो प्रकाशन र अन्य पुस्तकहरू गरी १ करोड भन्दा बढी पुस्तकहरू निःशुल्क वितरण गरिसकेको छ । अहिले रुम टु रिडले नेपालको १५ जिल्लाको ६ सय विद्यालयहरूमा काम गरिरहेको छ । तीन सय विद्यालयको भवन निर्माण गरिसकेको छ । यसका साथै तीन हजार भन्दा बढी निम्न आय भएका छात्राहरुलाई कक्षा १२ सम्म छात्रवृत्ति उपलब्ध गराइरहेको छ । 

हाल आएर रुम टु रिडले पठन सिप विकास गर्न, कक्षाकोठामा पुस्तक कर्नरको व्यवस्था गरेको छ । र, पठन शैलीमा पनि परिवर्तन गरेको छ । यसले शिक्षण सिकाइ, शैक्षिक सामग्रीहरूको प्रयोग गर्ने तरिका आदिमा जोड दिएको छ । आजका दिन रुम टु रिडले नेपालका साथै बंगलादेश, भारत, श्रीलंका, तान्जानिया, भियतनाम, साउथ अफ्रिका, लाओससहित २० देशमा काम गरिरहेको छ । 

एउटा व्यक्तिले दिलैदेखि चाहे के हुन सक्दैन भन्ने ज्वलन्त उदाहरण हुन् जोन ऊड । यसको हेड अफिस क्यालिफोर्नियाको सन्फ्राँन्सिस्कोमा रहेको छ । जोन ऊडले लेखेको माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म पढ्नै पर्ने पुस्तकको रूपमा रहेको छ ।

तर ०१७ साल यता जसको नेतृत्वमा सरकार गठन भएपनि ती सबै सरकारहरू पुस्तकालयको विकास र विस्तारप्रति उदासीन नै देखिए । पुस्तकालयलाई सरकारले प्राथमिकतामा राखेन । न त पुस्तकालय कानुन नै बन्यो । देशले गर्व गर्ने पुस्तकालय निर्माणको त के कुरा भयो र ! भएका पुस्तकालयहरूको स्तर पनि झन्–झन् खस्कँदै गयो ।

नेपालको संविधान ०७२ मा पुस्तकालयलाई स्थान त दिएको छ, तर सो अनुसार काम हुन सकेको छैन । बरु यस अवधिमा स्वदेशी तथा विदेशी सङ्घ संस्थाहरुले पुस्तकालयको विकासमा थुप्रै कामहरु गरिराखेका छन् । ०४६ सालदेखि पुस्तकालयको विकासमा के कस्तो काम भए त त्यसबारे संक्षिप्तमा बुझौँ । 

पुस्तकालय तथा सूचना विज्ञानको पठन

नेपालमा पुस्तकालय पद्धतिको विकास भएको दुई सय वर्ष नाघे तापनि पुस्तकालय विज्ञानको पठन पाठन सुरु भएको धेरै लामो इतिहास छैन । प्रजातन्त्रपछि धेरै विद्यालय, कलेज, विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा प्रतिष्ठानहरूमा पुस्तकालयको स्थापना हुन थाल्यो । यसका साथै सार्वजनिक र सामुदायिक पुस्तकालयहरू पनि खुल्न थाले । पुस्तकालय विषयमा बाहिर पढेर आएका थोरै जनशक्तिले पुग्ने कुरै थिएन । त्यसैले नेपालमै पुस्तकालय व्यवस्थापन तथा सञ्चालनका छोटो समयका तालिमहरू सञ्चालन गरेर यसलाई व्यवस्थित बनाउने काम भयो । 

सर्वप्रथम नेपालमा छोटो अवधिको पुस्तकालय तालिम त्रिवि केन्द्रीय पुस्तकालयले सन् १९७४ मा गरेको हो । तीन दिने तालिम तथा सेमिनार पाल्पाबाट सुरु भएको पाइन्छ । त्यस्तै तालिम धरान र काठमाडौँमा पनि भएको थियो । तर सन् १९९१ देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँगको सम्बन्धनमा नेपाल पुस्तकालय सङ्घले ३५ दिने पाठ्यक्रम तयार पारेपछि मात्र व्यवस्थित रूपमा पुस्तकालय व्यवस्थापन तथा सञ्चालन तालिमको सुरुवात भएको हो । 

यो पाठ्यक्रम तयार पार्नुमा ब्रिटिस नागरिक हेलन पार्सनको ठुलो देन छ । यसरी सुरु भएको ३५ दिने तालिम सञ्चालन गर्नेहरूमा नेपाल पुस्तकालय सङ्घ, त्रिवि केन्द्रीय पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, लिमिसेक आदि संस्थाहरू सक्रिय थिए । हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले एकदेखि चार तहसम्मको पाठ्यक्रम तयार पारेको छ । भोलाकुमार श्रेष्ठ संयोजकत्वमा तीन तहका लागि तीन महिने तालिम दिइन्छ भने हालसम्म चौथो तहको तालिम हालसम्म सञ्चालन हुन सकेको छैन । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत राष्ट्रिय सिप परीक्षण गर्ने व्यवस्था पनि गरिएको छ । तर यसमा ज्यादै थोरैले मात्र भाग लिने गरेका छन् । कारण लोकसेवा आयोगले सिप परीक्षणको प्रमाण पत्रलाई अनिवार्य गरेको छैन । तथापि आफ्नो संस्थाको अनुकूलतामा तीन, सात १४ र २१ दिने पुस्तकालय व्यवस्थापन तालिमहरू हुँदै आएका छन् । 

नेपालमा हजारौँ अर्धव्यावसायिक लाइब्रेरियनहरुको उत्पादन भइसकेको छ र उनीहरूले काम पनि गरिरहेका छन् । तर विद्यालय, कलेज र सार्वजनिक पुस्तकालयहरूमा पुस्तकालयको दरबन्दी नभएकाले पुस्तकालयहरूमा उनीहरूले प्राथमिकता नपाएको अवस्था छ । यसैकारण पुस्तकालयहरू राम्रोसँग सञ्चालन हुन सकेका छैनन् ।

पुस्तकालय तथा सूचना विज्ञान 

अब नेपालमै पुस्तकालय तथा सूचना विज्ञान विभागको पढाइ थालनी गर्नुपर्छ भन्ने माग बढ्दै गएकाले ०४८ मङ्सिर १३ गतेदेखि पुस्तकालय तथा सूचना केन्द्रीय विभाग स्थापना गर्न मानविकी सङ्कायका डिन डा. तुलसीराम वैद्यको संयोजकत्वमा एउटा कार्यदल गठन गरिएको थियो । 

कार्यदलको सदस्यहरूमा त्रिवि केन्द्रीय पुस्तकालय प्रमुख पूर्णप्रसाद अमात्य, त्रिवि केन्द्रीय पुस्तकालयका उपप्रमुख मधुसूदन कार्की, रिकास्ट डकुमेण्टेसन सेन्टरका प्रमुख निर्मला श्रेष्ठ, कृषि आयोजना सेवा केन्द्र पुस्तकालयका सुवर्ण बज्राचार्य, नेपाल पुस्तकालय सङ्घका रुद्रप्रसाद दुलाल र सल्लाहकारमा शान्ति मिश्र थिए । उक्त कार्यदलले तयार पारेको प्रतिवेदन र विभिन्न सरोकारवालासित भएको छलफलको अभिलेखीकरणपछि ०५२ सालदेखि त्रिवि अन्तर्गत पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागको स्थापना भयो । 

पुस्तकालय तथा सूचना विज्ञान विभागमा भर्ना हुनका लागि अन्य कुनै विषयमा स्नातक गरेको हुनुपर्छ । प्रारम्भमा एक वर्षे स्नातकको मात्र पढाइ भएकोमा सो बन्द गरी ०५९ सालदेखि दुई वर्षे स्नातकोत्तरको पढाइ सुरु भयो । हालसम्म उक्त विभागबाट एक सय ३८ जनाले स्नातक तथा दुई सय १७ जनाले स्नातकोत्तर गरिसकेका छन् । 

डिल्लीरमण–कल्याणी स्मारक पुस्तकालय

डा. डिल्लीरमण रेग्मीको जन्म १९७० पुस ३ गते काठमाडौँमा भएको थियो । उनका बुबाको नाम रोहिणीरमण र आमाको नाम मुक्ति देवी हो । सानैमा आमाको निधन भएको र बुबा पनि जागिरको सिलसिलामा धेरै बाहिर हुने भएकाले आफ्नो नातेदार माहिला गुरुज्यू पण्डित हेमराज पाण्डेको संरक्षकत्वमा यिनको बाल्यकाल बितेको थियो । 

हेमराज पाण्डे संस्कृत भाषाका प्रकाण्ड विद्वान् थिए । उनको आफ्नै घरमा विशाल भारती भवन नामक पुस्तकालय थियो । यसरी डा. रेग्मीले केटाकेटीदेखि नै विद्वान्हरूको सङ्गत र पुस्तकालयको सामीप्यले गर्दा र आफै पनि मेधावी भएकाले पढाइमा अब्बल हुँदै गए । परिणामतः यिनी भारतको पटना विश्वविद्यालयबाट सन् १९६५ मा महाविद्यावारिधि गर्ने पहिलो नेपाली हुन पुगे । 

यिनी भारतको स्वतन्त्र सङ्ग्राममा जेल पनि परे । नेपाली राष्ट्रिय कांग्रेसको स्थापना र यसका माध्यमबाट राणा शासन विरुद्ध सक्रिय रहेका रेग्मी पछि मन्त्री पनि भए । यिनको पहिलो विवाह कल्याणी पाण्डेसँग भएको थियो । कल्याणीको असामयिक निधन भएकाले दोस्रो विवाह नूतन पाण्डेसँग भयो । पहिलो श्रीमतीबाट तीन छोरीहरू र एक छोराको जन्म भएको थियो । 

डा. डिल्लीरमण रेग्मीले प्राचीन, मध्यकालीन र आधुनिक इतिहास अङ्ग्रेजी भाषामा लेखेर नेपाललाई विश्वमा चिनाउने काम गरे । यिनको निधन ८७ वर्षको उमेरमा ०५८ भाद्र १० गते भयो ।

काठमाडौँ सहरको मध्यभागमा अवस्थित लाजिम्पाटको ज्ञानोदय आश्रममा डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय सञ्चालनमा रहेको छ । ‘सेवा नै धर्म र धर्म नै सेवा हो’ भन्ने भावनाबाट प्रेरित बुद्ध र गान्धीका अनुयायी प्रसिद्ध विद्वान्, राजनीतिज्ञ तथा समाजसेवी डा. डिल्लीरमण रेग्मीले ०३७ सालमा नै पुस्तकालय, सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको नाम दिई श्री ५ महाराजधिराज वीरेन्द्र वीरविक्रम शाहदेवको हातबाट उद्घाटन गराएका थिए ।

रेग्मीले स्थापना गरेको पुस्तकालय तथा सङ्ग्रहालयमा नेपाली जनताको पहुँच सुनिश्चित होस भनेर आफ्नो शेखपछि नेपाल सरकारको शिक्षा मन्त्रालयमा जाओस भनि बकसपत्र दिएका थिए । 

डा. रेग्मीले पुस्तकालय तथा सङ्ग्रहालय विकास, विस्तार र निरन्तरताका लागि ०५३ सालमा डा. डिल्लीरमण ट्रष्टको स्थापना गरेका थिए । उक्त ट्रष्टको संरक्षकत्व आफैले लिई उपाध्यक्षमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बनाएका थिए । ट्रष्टमा अक्षयकोषका लागि ३५ लाख रुपंैयाँ समेत जम्मा गरिएको थियो । 

यो पुस्तकालय नेपाल सरकारको शिक्षा मन्त्रालय मातहत आइपुग्दा यसमा करिब २५ हजार पुस्तक तथा पत्रपत्रिकाहरू थिए । हाल यहाँ ३५ हजार पुस्तक छन् । धरणीधर कोइरालाको सङ्कलन पनि यस पुस्तकालयमा समावेश छ । 

(‘नेपालमा पुस्तकालय’ पुस्तकको सम्पादित पुस्तक अंश)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भोलाकुमार श्रेष्ठ
भोलाकुमार श्रेष्ठ
लेखकबाट थप