सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

पूर्णबहादुर सहभागी कांग्रेस एकता कार्यक्रममा कर्णालीकै केन्द्रीय सदस्य अनुपस्थित

भन्छन्– आधिकारिक भेला अस्ति भइसक्यो, यो निवर्तमान कार्यवाहक सभापतिको गुटको भेला भएकाले उपस्थित नभएका होलान्
शनिबार, ०२ जेठ २०८३, १७ : ४०
शनिबार, ०२ जेठ २०८३

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश समितिले शनिबार वीरेन्द्रनगरको शुभ होटलमा आयोजना गरेको ‘कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठी कार्यक्रममा वर्तमान केन्द्रीय सदस्यहरू सहभागी भएनन् ।

आइतबारसम्म सञ्चालन हुने उक्त कार्यक्रमको प्रमुख अतिथि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का छन् । खड्का कार्यक्रमका लागि बिहीबार नै सुर्खेत आएका थिए । यद्यपि उनै खड्का सहभागी कार्यक्रममा कर्णालीबाट केन्द्रीय सदस्य रहेका नेताहरू सहभागी भएनन् ।

विशेष महाधिवेशनबाट कर्णालीका ८ जना केन्द्रीय सदस्य बनेका छन् । एक जना सहमहामन्त्री छन् । तर प्रदेश कमिटीले नै आयोजना गरेको कार्यक्रममा एक जना पनि वर्तमान केन्द्रीय सदस्य सहभागी नभएको कार्यक्रममा सहभागी एक नेताले बताए । उनीहरू सहभागी नभएपछि कर्णालीका पूर्वमुख्यमन्त्री समेत रहेका जीवनबहादुर शाहीले कार्यक्रममै त्यो कुरा उठाए ।

उनले विशेष महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यलाई ‘कुन्नी के शब्दबाट बनेका’ बहालवाला केन्द्रीय सदस्य भन्न भ्याए । कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता समेत रहेका शाही खड्का समूहकै नेता हुन् ।

उनले अगाडि भने, ‘यो कार्यक्रम आधिकारिक कमिटीले गर्नुहुन्न पनि भनेर केहीले भने । यो गुटको भेला हो पनि भने । गुटको भेला भए, यतिका तामझाम गर्नुपर्ने थिएन ।’

विचार आ–आफ्ना हुन सक्छन्, पार्टीलाई कमजोर गर्ने कुनै भावना छैन, पार्टीलाई मजबुत गर्न गरिएको कार्यक्रम भएको उनले बताए । अगाडि भने, ‘अहिले भर्खरै मनोनीत हुन् कि अथवा के शब्दबाट बहालवाला केन्द्रीय सदस्यज्यूहरू पनि आउनुहुन्छ भन्ने मलाई लागेको थियो । हिजो बेलुकासम्म आउँछु भन्दै हुनुहुन्थ्यो, बिहान आउनुभएन, ठिकै छ, कुनै दुःख छैन ।’

तर कांग्रेस कर्णाली प्रदेश समितिले आयोजना गरेको कार्यक्रम एकताको उद्देश्यले गरिएको कार्यक्रम भएको बताए। सँगै निवर्तमान सभापति पूर्णबहादुर खड्काले मन्तव्यका क्रममा वर्तमान केन्द्रीय सदस्यहरूलाई कार्यक्रममा आउन नदिइएको बताए ।

कांग्रेस कर्णाली प्रदेश कार्यसमितिमा अहिले अधिकांश पूर्णबहादुर खड्का निकट मान्छेहरूको बाहुल्य छ ।विशेष महाधिवेशनका बेला १० मध्ये ९ जिल्ला खड्काको पक्षमा उभिएका थिए । 

सुर्खेत निवासी वर्तमान केन्द्रीय सदस्य जानकी सिंहले भने निवर्तमान कार्यवाहक सभापतिको गुटको भेला भएकाले पनि उपस्थित नभएको हुन सक्ने बताइन् ।

‘म त बिरामी छु, उपस्थित हुन सक्ने अवस्था थिएन,’ उनले रातोपाटीसँग भनिन्, ‘अस्ति आधिकारिक रूपमा पार्टीले प्रदेशस्तरीय भेला गरिसकेको हो । अहिले उहाँहरूको गुटको भेला हो । त्यो भएर पनि नआउनुभएको होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप