सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

सोमबार, ०४ जेठ २०८३, २१ : २६
सोमबार, ०४ जेठ २०८३

कास्की । पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि कास्की र नवलपुर भिड्ने भएका छन्।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न खेलमा कास्कीले स्याङ्जालाई र नवलपुरले तनहुँलाई पराजित गरी फाइनलमा स्थान बनाएका हुन्।

कास्कीले सात विकेटले स्याङ्जालाई पराजित गरेको थियो । मौसमका कारण पाँच ओभरमा खेलाइएको खेलमा कास्कीले पाँच विकेट गुमाएर ४३ रन जोडेको थियो।

कास्कीका शिवरिन श्रेष्ठले सर्वाधिक २२ रन बनाए । जवाफी ब्याटिङ गरेको स्याङ्जाले निर्धारित ओभरमा ३६ रन मात्र बनायो। यसैगरी नवलपुरले तनहुँमाथि १०२ रनको फराकिलो अन्तरले जित निकाल्न सफल भयो।

नवलपुरले टस जितेर व्याटिङ रोज्दै २० ओभरमा सात विकेट गुमाउँदै १८८ रन जोडेको थियो । ‘प्लेयर अफ दी म्याच’ बन्न सफल नवलपुरका रिजन काफ्लेले ४७ बलमा ७३ रन जोड्दै जितको आधार बनाएका थिए । जितका लागि १८९ रनको लक्ष्य पछ्याएको तनहुँले १४ ओभरको चौथो बलमा ‘अलआउट’ हुँदै जम्मा ८६ रन मात्र बनायो।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही जेठ १ गतेदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको ‘समूह ए’ मा कास्की, स्याङ्जा, बाग्लुङ र लमजुङ तथा ‘समूह बि’ मा नवलपुर, पर्वत, तनहुँ र म्याग्दी गरी आठ जिल्लाले सहभागिता जनाएका प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप