टेक्नोस्ट्रेसः डिजिटल युगको नवीन चुनौती
सारांश
- डिजिटल युगमा टेक्नोस्ट्रेस एक नवीन चुनौती हो जसले कर्मचारीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ।
- प्रविधिको अत्यधिक प्रयोगले कार्य-जीवन सन्तुलन बिग्रनुका साथै चिन्ता, थकान र एकाग्रताको अभाव जस्ता समस्याहरू निम्त्याउँछ।
- टेक्नोस्ट्रेस कम गर्न व्यक्तिगत र संस्थागत दुवै तहमा सचेत प्रविधि प्रयोग, डिजिटल डिटक्स र कार्य-जीवन सन्तुलन कायम गर्न आवश्यक छ।
३५ वर्षका रमेश सरकारी बैंकमा अधिकृत छन् । उनको काम प्रायः अस्त–व्यस्त रहन्छ । पछिल्ला वर्षहरूमा कामको स्वरूप पनि बदलिँदै गएको छ । अफिसको काम सकिएपछि पनि उनको दिन सकिँदैन । मोबाइलमा आउने सामान्य केवाईसी भेरीफिकेशनदेखि इमेल, ह्वाटस्यापका सन्देश, विभिन्न अनलाइन रिपोर्टहरू तथा महत्त्वपूर्ण कर्जा स्वीकृतिसम्मका कामले उनलाई सधैँ व्यस्त बनाइ राख्छ ।
बिहान अफिस पुग्ने बित्तिकै कम्प्युटर खोल्नु, दिनभर सिस्टममा काम गर्नु र साँझ घर पुगेपछि पनि इमेल हेर्नु तथा मोबाइल हेर्न निहुरिनु रमेशको दिनचर्या हो । बिदाका दिनमा पनि काम सम्बन्धी म्यासेज आउँदा बेवास्ता गर्न उनलाई गाह्रो हुन्छ ।
समय बितेसँगै रमेशले आफूमा परिवर्तनहरू देखा पर्न थालेको महसुस गरे । चाँडै थाक्ने, टाउको दुख्ने र रातमा राम्रो निन्द्रा नपर्ने जस्ता समस्याहरू देखा पर्न थाले । परिवारसँग बस्दा पनि उनको ध्यान बारम्बार मोबाइलमै हुन्छ । एक दिन उनकी श्रीमतीले भनिन्, ‘तपाई घरमा हुनुहुन्छ कि अझै अफिसमै ?’
यो प्रश्नले रमेशलाई झस्कायो । उनले प्रविधिले उनको समय मात्र होइन, मानसिक शान्ति पनि खोसेको महसुस गर्न थाले । त्यसपछि रमेशले आफ्नो व्यवहार परिवर्तन गरे । अफिसपछि इमेल नहेर्ने, राति सुत्नुअघि मोबाइल टाढा राख्ने र बिदाको दिनमा डिजिटल कामबाट विश्राम लिने ।
सुरुमा गाह्रो लागे पनि बिस्तारै उनले आफूलाई हल्का महसुस गर्न थाले । उनको सार छ– प्रविधिलाई परिचालन गरौँ, परिचालित नहोऔँ । यो घटना बैंककर्मी, सरकारी कर्मचारी र डिजिटल माध्यममा धेरै समय बिताउने सबै टेक वर्कर्सहरुको हो ।
२१औँ शताब्दीमा प्रविधि हाम्रो दैनिक जीवनको अभिन्न अङ्गका रूपमा स्थापित भएको छ । यसले काम गर्ने तरिका, आपसी सञ्चार र विश्वसँगको अन्तर्क्रियामा व्यापक परिवर्तन ल्याएको छ । यसबाट उत्पादकत्व वृद्धि, सुदृढ सम्पर्क विस्तार तथा विशाल ज्ञान स्रोतमा पहुँच जस्ता महत्त्वपूर्ण लाभ प्राप्त भएका छन् । नेपालमा पछिल्लो केही वर्षयता डिजिटल सेवाको विस्तार तीव्र भएको छ ।
अनलाइन प्रणाली, इमेल, डिजिटल फाइलिङ र विभिन्न सफ्टवेयरहरूको प्रयोगले कामलाई छिटो र सहज बनाएको छ । नेपालका धेरै सरकारी कार्यालयहरू अझै डिजिटल रूपान्तरणको प्रक्रियामा छन् । यस क्रममा कर्मचारीहरूले नयाँ सिस्टम सिक्नुपर्ने, पुरानो साथै नयाँ प्रणालीसँगै चलाउनुपर्ने र प्राविधिक समस्या समाधान गर्नुपर्ने जस्ता चुनौतीहरू भोगिरहेका छन् ।
विशेषगरी, डिजिटल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआरकोड भुक्तानी, डिजिटल सम्झौता र इ–दस्ताबेज लगायतका डिजिटल वित्तीय प्रणालीको विकास तथा ई–कमर्स, फिन–टेक, एग्री–टेक, हेल्थ–टेक जस्ता नवीनतम मोडेलको विस्तारले कर्मचारीहरूमा नयाँ शैलीको तनाव सिर्जना भएको छ ।
निजी कार्यालयहरूमा प्रविधिको प्रयोग अझ बढी भएको देखिन्छ, त्यहाँ कामको दबाब, समय सीमा र अनलाइन मिटिङ साथै निरन्तर सञ्चारका कारण चौबिसै घण्टा उपलब्ध हुनुपर्ने संस्कृतिले कर्मचारीहरूको व्यक्तिगत जीवन र कामबिचको सन्तुलन बिगारिरहेको छ । साथै शिक्षा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगले सिकाइलाई नयाँ आयाम दिएको छ ।
अनलाइन कक्षा सञ्चालनको दबाब, नवीनतम डिजिटल प्लेटफर्म सिक्नुपर्ने चुनौती, प्रविधिको अभाव वा कमजोर पूर्वाधार, विद्यार्थीलाई सिकाइप्रति आकर्षित गर्ने तथा खिया लाग्दै गएको स्मरण शक्ति र संज्ञानात्मक क्षमतालाई सन्तुलित राख्नुपर्ने जस्ता विषयले शिक्षकहरूमा तनाव बढाएको छ भने निरन्तर स्क्रिन समय, अनलाइन असाइनमेन्ट र परीक्षा, इन्टरनेट र उपकरणको असमान पहुँच साथै विशेषगरी ग्रामीण क्षेत्रका विद्यालयहरूमा प्रविधिको पहुँच सीमित हुँदा विद्यार्थीहरूमा समेत तनाव बढी देखिन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार देशमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या कुल जनसङ्ख्याको करिब ६० प्रतिशतभन्दा माथि पुगेको छ, जसले सूचना तथा सञ्चार प्रविधिमा पहुँच तीव्र रूपमा विस्तार भइरहेको सङ्केत गर्छ । त्यसैगरी, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार डिजिटल बैंकिङ कारोबार हरेक वर्ष उल्लेखनीय दरमा वृद्धि भइरहेको छ ।
यसले वित्तीय पहुँच, कारोबारको सहजता र पारदर्शितामा महत्त्वपूर्ण सुधार ल्याएको देखिन्छ । यद्यपि, डिजिटल विस्तारसँगै कर्मचारीहरूमा डिजिटल तनाव पनि बढ्दो रूपमा देखिन थालेको छ । निरन्तर अनलाइन रहनुपर्ने दबाब, छिटो प्रतिक्रिया दिनुपर्ने अपेक्षा, प्रविधिको जटिलता तथा कार्य–जीवन सन्तुलनमा आएको असन्तुलनले कर्मचारीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न थालेको छ ।
यसरी, डिजिटल प्रविधिले एकातर्फ सेवा र कार्यक्षमतामा सुधार ल्याए पनि अर्कोतर्फ मानव संसाधन व्यवस्थापनमा नयाँ चुनौतीहरू सिर्जना गरेको स्पष्ट हुन्छ ।
सङ्गठनहरूले तीव्र रूपमा परिवर्तनशील बजारमा प्रतिस्पर्धात्मकता कायम राख्न तथा नयाँ प्रतिस्पर्धात्मक लाभ सिर्जना गर्न सूचना तथा सञ्चार प्रविधिको उपयोग गरिरहेका छन् । साथै, कर्मचारीहरूको आईसीटी प्रति व्यवहार र प्रतिक्रिया उनीहरूको आत्म–मूल्याङ्कित दक्षतामा निर्भर रहने तथ्य पनि अध्ययनहरूले देखाएका छन् । आईसीटीको प्रयोगले कर्मचारीहरूलाई निरन्तर बदलिँदो कार्य अपेक्षामा अनुकूलन हुन बाध्य बनाएको छ ।
दक्षता नभएको प्रविधिहरूका समेत सञ्चालन तथा उपयोग गर्नुपर्ने वाध्यात्मक परिस्थितिका कारण लामो समयसम्म काम गर्ने तथा बढ्दो कार्यभार वहन गर्नुपर्ने प्रविधिगत जटिलता सिर्जना भएको छ । यसले कतिपय अवस्थामा कर्मचारीहरूलाई आईसीटीको प्रयोग प्रभावकारी रूपमा व्यवस्थापन गर्न असक्षम महसुस गराउँदै तनावको स्थितिमा धकेल्छ ।
यस्ता प्रविधिहरूलाई रणनीतिक रूपमा योजनाबद्ध गरी कार्यान्वयन गर्दा कर्मचारी सन्तुष्टि अभिवृद्धि भई व्यक्तिगत तथा संस्थागत दुवै तहमा सकारात्मक प्रभाव पर्ने देखिएको छ ।
कार्यस्थलमा प्रविधिको अत्यधिक प्रयोगबाट उत्पन्न हुने यस्ता तनावजन्य अवस्थालाई ‘टेक्नोस्ट्रेस’ भनिन्छ । टेक्नोस्ट्रेस आधुनिक प्रविधिको नकारात्मक प्रभावका कारण उत्पन्न हुने तनाव र निर्भरतासँग सम्बन्धित हुन्छ । यसलाई प्रविधिको अन्धकार पक्षका रूपमा समेत वर्णन गर्न सकिन्छ । यसले प्रविधि प्रयोगका प्रतिकूल असरहरूलाई उजागर गर्छ ।
टेक्नोस्ट्रेसलाई मुख्यतः दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ ‘टेक्नो–यूस्ट्रेस’ र ‘टेक्नो–डिस्ट्रेस’ । टेक्नो–यूस्ट्रेसले सूचना प्रणाली प्रयोग गर्दा व्यक्तिले अनुभव गर्ने सकारात्मक तथा प्रेरणादायी तनावको अवस्थालाई जनाउँछ भने यसको विपरीत, टेक्नो–डिस्ट्रेसले सूचना प्रणालीलाई खतरा वा बोझका रूपमा अनुभूति हुँदा उत्पन्न हुने नकारात्मक तनावलाई सङ्केत गर्छ, जसले प्रतिकूल परिणाम निम्त्याउँछ ।
टेक्नोस्ट्रेसका प्रमुख पक्षहरू
टेक्नोस्ट्रेस विभिन्न कारणहरूबाट उत्पन्न हुने मनोसामाजिक अवस्था हो । मुख्य रूपमा ‘टेक्नो–ओभरलोड’, ‘टेक्नो–इनभेजन, ‘टेक्नो–कम्प्लेक्सिटी’, ‘टेक्नो–इनसिक्युरिटी’ तथा ‘टेक्नो–अनसर्टेन्टी’ प्रमुख निर्धारक पक्षहरूका रूपमा चिनिन्छन् । यी प्रत्येक आयामले भिन्न–भिन्न प्रकारका मनोवैज्ञानिक तनावहरू उत्पन्न गर्ने भएकाले तिनको प्रभावकारी व्यवस्थापनका लागि समयसापेक्ष फरक–फरक रणनीतिहरू अपनाउँदै जानुपर्छ
टेक्नोस्ट्रेसले कर्मचारीहरूको मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेको छ । यसले चिन्ता, थकान, डिजिटल विस्मृती, स्मरण शक्तिमा ह्रास, प्रविधिमाथिको परनिर्भरता, संज्ञानात्मक अल्छीपन, एकाग्रताको अभाव, चिन्तन, मनन तथा आलोचनात्मक क्षमतामा ह्रास ल्याउनुको साथै भावनात्मक असन्तुलन तथा व्यवहारिक परिवर्तनहरू निम्त्याउन सक्छ ।
कर्मचारीहरूको कामप्रतिको सन्तुष्टि घट्ने, संस्थाप्रति प्रतिबद्धता कमजोर हुने जस्ता समस्याहरू पनि देखिन्छन् लामो समयसम्म यस्तो तनावमा रहँदा व्यक्तिको सोच्ने क्षमता र कार्यशैलीमा समेत नकारात्मक असर पर्न सक्ने देखिन्छ ।
शारीरिक स्वास्थ्यमा पनि जोखिम
मानसिक असर मात्रै होइन, टेक्नोस्ट्रेसले शारीरिक स्वास्थ्यमा पनि प्रभाव पार्छ । अत्यधिक प्रविधि प्रयोगका कारण स्वास्थ्य समस्याहरू, शरीरमा जैविक परिवर्तन तथा मुटुसम्बन्धी जोखिमहरू बढ्न सक्ने अनुसन्धानहरूले देखाएका छन् । यसले दीर्घकालीन रूपमा कर्मचारीहरूको स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ ।
टेक्नोस्ट्रेसले कर्मचारीहरूको भावनात्मक अवस्थालाई पनि प्रभावित बनाउँछ । निराशा, झर्को, असहायता र भावनात्मक थकान जस्ता समस्याहरू बढ्दै जान्छन् । यसले कार्यस्थलमा सहकर्मीहरूसँग तथा पारिवारिक सम्बन्धमा पनि नकारात्मक असर पारेको छ, जसले समग्र कार्य वातावरणलाई प्रभावित गर्छ ।
प्रविधिको प्रयोगले कर्मचारीहरूलाई सधैँ कामसँग जोडिराख्ने प्रवृत्ति बढाएको छ । साथै काम र व्यक्तिगत जीवनबिचको सिमाना धमिलो बनाएको छ । परिणामस्वरूप परिवार र कामबिच द्वन्द्व, थकान र मानसिक दबाब बढ्ने समस्या उत्पन्न हुँदै गएका छन् ।
टेक्नोस्ट्रेसले संस्थागत संस्कृतिमा पनि प्रभाव पारिरहेको छ । कर्मचारीहरूले नयाँ प्रविधिसँग आफूलाई अनुकूल बनाउन संघर्ष गर्नुपर्दा उत्पादकत्वमा असर पर्न सक्छ । साथै, जटिल कार्यसँगै सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अपेक्षा बढ्दा तनाव झन् बढ्ने देखिन्छ । बिग डाटा, कृत्रिम बौद्धिकता, एआई एल्गोरिदम, रोबोटिक्स, न्यूरल नेटवर्क, मेसिन लर्निङ अनुसारका डिजिटल पूर्वाधारहरु तयार नभएका कारण कर्मचारीहरू यस किसिमका प्रविधिसँग भिज्न सकिरहेका छैनन् ।
साइबर सुरक्षा, ह्याकिङ, फिसिङ, मालवेयर रोकथाम जस्ता विषयहरूमा संस्थागत रणनीतिहरू तयार गर्नुपर्ने चुनौती बढेको छ । डिजिटल साक्षरता, डिजिटल पहुँच, डिजिटल डिभिडेन्स र कर्मचारी तथा नागरिकको क्षमता अभिवृद्धि जस्ता कार्यहरुमा अध्ययन र सुधार गर्दै संस्थाहरूले प्रविधिमैत्री एवं कर्मचारीमैत्री नीति अवलम्बन गर्नु अपरिहार्य बन्दै गएको छ ।
टेक्नोस्ट्रेस कम गर्ने उपाय
टेक्नोस्ट्रेसको व्यापक प्रभावलाई सम्बोधन गर्न, यसको दूरगामी असरका कारण र समाधानहरू कार्यान्वयन गर्न आवश्यक छ । टेक्नोस्ट्रेसको तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न, व्यक्तिगत तथा संस्थागत दुवै तहमा समग्र रणनीति अपनाउनुपर्छ । यसमा अत्यधिक डिजिटल उत्तेजना जस्ता प्रविधि–सम्बन्धी कारकहरूको प्रभाव घटाउने र प्रविधि प्रयोगमा सीमा निर्धारण जस्ता नियन्त्रणकारी उपायहरू अपनाउन सकिन्छ ।
उदाहरणका लागि प्रविधिका सकारात्मक पक्षहरूमा जोड दिने, काम र व्यक्तिगत जीवनबिच सन्तुलन कायम गर्न डिजिटल डिटक्सलाई प्रोत्साहन गर्ने, व्यक्तिहरूलाई सिर्जनात्मक समस्या समाधान गर्ने क्षमताको विकास गर्न प्रेरित गर्ने, योग र ध्यानमा विशेष जोड दिने, राइट टु डिस्कनेक्ट नीति लागू गर्ने, कार्यस्थलमा एर्गोनोमिक सुधार गर्ने, विभिन्न आवश्यकता अनुसार लचिलो कार्य तालिका अपनाउने, प्रविधि प्रयोग निषेध गरिएका निश्चित क्षेत्रहरू सिर्जना गरेर डिट्याचमेन्ट प्रवर्द्धन गर्ने ।
अन्त्यमा टेक्नोस्ट्रेस प्रविधिको अत्यधिक प्रयोगका कारण उत्पन्न हुने नकारात्मक मनोवैज्ञानिक चिन्ता, शारीरिक थकान तथा व्यवहारगत थकावट र दिक्कपन जस्ता प्रतिक्रियाहरूको उपज हो । नेपाल प्रविधिमैत्री समाजतर्फ अघि बढिरहँदा टेक्नोस्ट्रेसलाई बेवास्ता गर्न सकिँदैन ।
दिनानुदिन प्रविधिमा आधारित गतिविधि बढ्दै जाने र कार्यक्षेत्रमा कर्मचारीहरूको सन्तुष्टि घट्दै जाने क्रममा उत्पन्न हुने असन्तुलनलाई उचित सम्बोधन गर्नु पर्छ । कर्मचारीको अवस्था, दक्षता, डिजिटल पूर्वाधारको पहुँच र उपलब्धता अनुरूप प्रविधिको प्रयोग तथा परिवर्तनशील प्रविधिमा उपयुक्त हुने गरी कर्मचारीको क्षमता अभिवृद्धि गर्दै जानुपर्छ ।
कर्मचारीहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदै प्रविधिको प्रयोगलाई सहज र प्रभावकारी बनाउन आवश्यक देखिन्छ । उचित कार्य व्यवस्थापन र सचेत प्रविधि प्रयोगका माध्यमबाट मात्र स्वस्थ, उत्पादक र दिगो कार्य संस्कृति निर्माण गर्न सम्भव हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण