नीति सुधारेर वनलाई अर्थतन्त्रसँग जोडौँ : सांसद देवकोटा
सारांश
- सांसद सम्झना देवकोटाले वन, कृषि र युवा स्वरोजगारका नीतिगत झन्झट हटाउन माग गरेकी छिन् ।
- उनले वनको व्यावसायिक उपयोग नहुँदा देशले आर्थिक लाभ लिन नसकेको र वन मुद्दा अव्यवहारिक रहेको बताइन् ।
- सांसद देवकोटाले वन्यजन्तु नियन्त्रण, युवा स्वरोजगार, महिलाका लागि सहुलियत ऋण, बजार अनुगमन र पर्यटन विकासमा पनि जोड दिइन् ।
काठमाडौँ । सांसद सम्झना देवकोटाले वन,कृषि र युवा स्वरोजगारका क्षेत्रमा रहेका नीतिगत झन्झट हटाउन माग गरेकी छिन् । राष्ट्रियसभाको विकास, आर्थिक मामला तथा सुशासन समितिमा आगामी आर्थिक वर्षको बजेट तर्जुमाका विषयमा मन्त्रालयहरूसँग भएको छलफलमा उनले आफ्नो धारणा राखेकी हुन् ।
बैठकमा बोल्दै सांसद देवकोटाले हरियो वन नेपालको धन भन्ने नारालाई व्यवहारमा उतार्न वनको व्यावसायिक उपयोग हुनुपर्नेमा जोड दिइन् । उनले वन क्षेत्र बढे पनि देशले त्यसबाट आर्थिक लाभ लिन नसकेको बताइन् ।
सांसद देवकोटाले वनसँग सम्बन्धित कानुन अव्यवहारिक रहेको भन्दै आलोचना गरिन् । उनले भनिन्, ‘अहिलेको व्यवहारमा हेर्दा ज्यान मुद्दा सजिलै मिल्छ होला तर वन मुद्दा लागेपछि मान्छेको उठीबास नै हुन्छ । कसैलाई दुःख दिनु छ भने वनको मुद्दा लगाइदिए पुग्ने अवस्था छ ।’
उनले वनको संरक्षण मात्र नभई यसको वैज्ञानिक उपयोग र आन्तरिक उपभोगका लागि नीति खुकुलो बनाउनुपर्ने माग गरिन् । बुढा रुखहरूले अक्सिजन कम दिने भएकाले तिनलाई काटेर नयाँ बिरुवा रोप्ने र काठको आयात घटाउनुपर्ने उनको सुझाव थियो ।
गाउँमा बाँदर, भालु, मृग र दुम्सी जस्ता वन्यजन्तुले खेतीबाली नष्ट गर्दा मानिसहरू गाउँ छोड्न बाध्य भएको बताइन् । वन्यजन्तुको संरक्षणसँगै तिनको नियन्त्रण र किसानको बालीको क्षतिपूर्तिका लागि ठोस नीति ल्याउन उनले आग्रह गरिन् ।
सांसद देवकोटाले श्रम बजारमा युवाहरूलाई आकर्षित गर्न ‘जेनजी’ पुस्ता सुहाउँदो कार्यक्रम ल्याउनुपर्ने बताइन् । विदेशमा जस्तै नेपालमा पनि महिनाको सट्टा हप्ता वा १५ दिनमा पारिश्रमिक दिने व्यवस्था मिलाउन सके बजारमा पैसाको चहलपहल बढ्ने उनको तर्क थियो । साथै, गाउँका महिलाहरूका लागि विना धितो र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न पनि उनले सुझाव दिइन् ।
बजारमा पाइने दूध, घिउ र खाद्यान्नमा विषादीको मात्रा बढ्दा क्यान्सर जस्ता रोग फैलिएको भन्दै उनले बजार अनुगमनमा कडाइ गर्न माग गरिन् । ‘राजमार्गका होटलहरूमा पाइने खाना अस्वस्थ छ, यसलाई व्यवस्थित गर्नुपर्छ,’ उनले भनिन् ।
पर्यटनको क्षेत्रमा गोरखाको रानी वनमा रहेका ठुला ढुङ्गाहरूलाई उपयोग गरी ‘स्टोन पार्क’ बनाउन र देवघाट तथा चतरा धामलाई जोडेर धार्मिक पर्यटनको विकास गर्न उनले सरकारलाई प्रस्ताव गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
-
नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार
-
नेपालको जलवायु उत्थानशीलता र कृषिको दिगो विकासमा बेलायतको सहयोग जारी रहने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण