सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

देउवाको स्वास्थ्य र स्वदेश फिर्ताबारे संसदीय समितिमा चर्चा

बुधबार, ०६ जेठ २०८३, १३ : २९
बुधबार, ०६ जेठ २०८३

सारांश

  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य र उनको स्वदेश फिर्ताको विषयमा चर्चा भएको छ।
  • सांसद महन्थ ठाकुरले देउवा लगायतका नेताहरूलाई स्वदेश फर्कन आग्रह गरेपछि सभापति कृष्णप्रसाद पौडेलले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।
  • सभापति पौडेलले देउवाको स्वास्थ्यमा प्रेसरमा ठुलो उतारचढाव देखिएको र डाक्टरको सल्लाहमा उपचारका लागि बाहिर गएको जानकारी दिए ।

काठमाडौँ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य र उनको स्वदेश फिर्ताको विषयमा चर्चा भएको छ। समितिको बैठकमा सांसद महन्थ ठाकुरले देउवा लगायतका नेताहरूलाई स्वदेश फर्कन आग्रह गरेपछि सभापति कृष्णप्रसाद पौडेलले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

बैठकमा बोल्दै सांसद महन्थ ठाकुरले पछिल्लो राजनीतिक समीकरण र तीन दलको एकतालाई सकारात्मक रूपमा लिँदै देशबाहिर रहेका नेताहरू अब स्वदेश फर्कनुपर्ने बताए । विशेषगरी शेरबहादुर देउवा, आरजु राणा र विनोद चौधरीको नाम लिँदै ठाकुरले भने- ‘अब बाहिर बस्ने अवस्था छैन, आफ्नो देश र भूमिमा आउने समय आइहाल्यो। तपाईंहरू आउनुहोस्, हामी स्वागत गर्छौँ।’

ठाकुरले राजनीति व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताका लागि हुनुपर्ने कुरामा जोड दिए । सांसद ठाकुरको आग्रहपछि समितिका सभापति कृष्णप्रसाद पौडेलले सभापति देउवाको पछिल्लो स्वास्थ्य अवस्थाबारे स्पष्ट पारेका थिए । पौडेलले देउवा कुनै राजनीतिक कारणले नभई गम्भीर स्वास्थ्य समस्याका कारण उपचारका लागि बाहिर रहेको जानकारी दिए ।

‘माननीय शेरबहादुरजीको प्रेसरमा ठुलो उतारचढाव देखिएको छ,’ सभापति पौडेलले भने, ‘मैले आफैँ सम्पर्क गर्दा उनको प्रेसर घटेर ५१ सम्म पुगेको र तलमाथि भइरहेको थाहा पाएँ। डाक्टरले एक मिनेट पनि ढिला नगरी उपचार गर्न सल्लाह दिएपछि उनी गएका हुन् ।’

सभापति पौडेलले देउवाको भनाइ उद्धृत गर्दै उनी ‘खुला पुस्तक रहेको र स्वास्थ्यमा सुधार आउनासाथ नेपाल फर्किएर लोकतान्त्रिक आन्दोलनलाई बलियो बनाउन भूमिका खेल्ने बताए। देउवाले आफू नेपालमै बस्ने र बिरामीका कारण मात्र अहिले रोकिएको सन्देश पठाएको पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप