टस जितेर पहिले बलिङ गर्ने अमेरिकाको निर्णय
सारांश
- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपाल र अमेरिका कीर्तिपुरमा भिड्दैछन्।
- भर्खरै सम्पन्न टसमा अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
- यो खेलले लिग २ को अङ्क तालिकामा निकै ठुलो महत्त्व राख्दछ।
काठमाडौँ । सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोटको यात्रामा महत्त्वपूर्ण मानिएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपाल र अमेरिका कीर्तिपुरमा भिड्दैछन्।
नेपाली समय अनुसार बिहान ९:३० बजे सुरु हुने भनिएको खेल खराब मौसमका कारण मैदान नसुकेकाले खेल केही ढिला गरी सुरु हुन लागेको हो ।
भर्खरै सम्पन्न टसमा अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण अङ्क जोड्ने सुवर्ण अवसर हो।
यो खेलले लिग २ को अङ्क तालिकामा निकै ठुलो महत्त्व राख्दछ। यस प्रतियोगिताको अन्त्यमा शीर्ष चार स्थानमा रहने टोलीहरूले सन् २०२७ को ओडीआई विश्वकप छनोटमा सिधै स्थान सुरक्षित गर्नेछन् भने बाँकी टोलीहरू कठिन प्ले-अफ मार्गमा धकेलिनेछन्।
जारी लिगमा दुवै टोली भिन्न स्थान र लयमा छन्। अमेरिकाले यस प्रतियोगितामा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै १८ खेलमा जित हात पारेर अङ्क तालिकाको शीर्ष स्थानमा आफ्नो बलियो पकड बनाएको छ। अर्कोतर्फ, नेपालले घरेलु मैदान बाहिरका सुरुवाती खेलहरूमा निकै संघर्ष गर्नु परे पनि कीर्तिपुरमा जारी त्रिकोणीय शृङ्खला मार्फत सानदार पुनरागमन गर्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिन सफल भएको छ।
दुवै टोली आ-आफ्नो अघिल्लो खेलमा स्कटल्याण्डमाथि ६ विकेटको समान अन्तरको जित निकाल्दै मैदान उत्रन लागेका हुन्। अमेरिकाले मे २० मा भएको खेलमा सौरभ नेत्रभाल्करको घातक बलिङ (३/१९) को मद्दतले स्कटल्याण्डलाई १६९ रनमै समेटेको थियो र स्मित पटेल तथा शयन जहाङ्गीरको समान ३७ रनको योगदानमा २८ ओभरमै लक्ष्य पछ्याएको थियो।
नेपालले पनि मे १८ मा भएको खेलमा स्पिनर ललित राजवंशीको ४ र सन्दीप लामिछानेको ३ विकेटको मद्दतले स्कटल्याण्डलाई १९४ रनमा रोकेको थियो। कप्तान रोहित पौडेलको अविजित ७४ रनको कप्तानी इनिङ्सको मद्दतले नेपालले ३९ ओभरमा उक्त लक्ष्य पुरा गरेको थियो।
यस खेलमा अमेरिकाका लागि देव्रेहाते तीव्र गतिका बलर सौरभ नेत्रभाल्कर मुख्य हतियार हुनेछन्, जो ४० विकेटका साथ प्रतियोगिताकै तेस्रो धेरै विकेट लिने बलर बनेका छन्। नेपालका लागि भने ओपनर कुशल भुर्तेल सबैभन्दा ठुलो खतरामूलक खेलाडी हुन्।
गत मे १६ मा भएको खेलमा यिनै दुई टोली भिड्दा भुर्तेलले ११८ बलमा १३ चौका र ४ छक्काको मद्दतले अविजित १२० रनको शतकीय इनिङ्स खेलेका थिए। उक्त खेलमा दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिएपछि १९५ रनमा समेटिएको अमेरिकालाई नेपालले कुशल भुर्तेल र आसिफ शेख (५८ रन) बिचको १४५ रनको ओपनिङ साझेदारीको बलमा ३६.४ ओभरमै ९ विकेटको सहज जित निकालेको थियो।
ऐतिहासिक रूपमा हेर्दा यी दुई टोलीबिचको प्रतिस्पर्धा निकै रोमाञ्चक र कडा हुने गरेको छ। हालसम्म खेलिएका १२ एकदिवसीय खेलहरू मध्ये अमेरिकाले ६ खेलमा जित हात पारेर सामान्य अग्रता लिएको छ भने नेपालले ५ खेल जितेको छ र एक खेल बराबरीमा सकिएको छ।
घरेलु दर्शकको बलियो साथ पाएको नेपाल आजको खेल जितेर दुरीलाई बराबरी गर्ने दाउमा छ भने अमेरिका अघिल्लो हारको बदला लिँदै शीर्ष स्थान अझ मजबुत बनाउन चाहन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण