शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २

ईशान र दीपेन्द्र चम्किँदा अमेरिकासामु विशाल लक्ष्य

शुक्रबार, ०८ जेठ २०८३, १३ : ४९
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १७ रन बनाएको छ ।
  • आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले अमेरिकासामु जितका लागि ३ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • नेपालका लागि ईशान र दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले अमेरिकासामु जितका लागि ३ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १७ रन बनाएको हो ।

नेपाली समय अनुसार बिहान ९:३० बजे सुरु हुने भनिएको खेल वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान नसुकेकाले केही ढिला गरी सुरु भएको थियो । टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपाललाई ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाए ।

nep vs usa (11)

शेखले ५७ बलमा ६ चौकाको मद्दतले ४३ रन जोडे भने भुर्तेलले ३९ बलमा २९ रन जोडे । उनले ५ चौका प्रहार गरे ।

त्यसपछि कप्तान रोहित पौडेल र ईशान पाण्डेले शतकीय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले । पाण्डेले टोलीका लागि सर्वाधिक ८४ रनको योगदान दिए । ८३ बलको सामना गर्दै उनले ८ चौका र १ छक्का प्रहार गरे ।

कप्तान रोहित अर्धशतक बनाउन चुके । उनले ५९ बलमा २ चौका र १ छक्काको मद्दतले ४६ रन बनाए ।

nep vs usa (7)

टोलीका लागि दीपेन्द्र सिंह ऐरीले विस्फोटक पारी खेल्दै अर्धशतक बनाए । उनले मात्र ३६ बलमा ५९ रन जोडे । उनले यस क्रममा ४ चौका र ४ छक्का हिर्काए ।

गुल्सन झाले १२ बलमा १५ रन बनाउँदै पभेलियन फर्किए । आरिफ शेखले १० बलमा १८ रन बनाए । सोमपाल कामी अन्तिम ओभरमा ५ रन बनाएर रन आउट भए ।

nep vs usa (1)

अमेरिकाका लागि शुभम रंजानले ३ विकेट लिए । रुसिल उगारकर र मिलिन्द कुमारले १-१ विकेट हात पारे ।

सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोटको यात्रामा महत्त्वपूर्ण मानिएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेल यो शृङ्खलाको अन्तिम खेल हो । यो खेलले लिग २ को अङ्क तालिकामा निकै ठुलो महत्त्व राख्दछ। यस प्रतियोगिताको अन्त्यमा शीर्ष चार स्थानमा रहने टोलीहरूले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान सुरक्षित गर्नेछन् भने बाँकी टोलीहरू कठिन प्ले-अफ मार्गमा धकेलिनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप