बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
विकास निर्माण

मदन भण्डारी राजमार्गको बड्डीचौर–खम्बागाडेको काममा फेरि विलम्ब

काम सम्पन्न हुन अझै एक वर्ष लाग्ने, स्थानीयलाई बर्खाको चिन्ता
शनिबार, ०९ जेठ २०८३, ०७ : ४७
शनिबार, ०९ जेठ २०८३

सारांश

  • मदन भण्डारी राजमार्गको बड्डीचौर–खम्बागाडे सडकखण्डको १३.९ किलोमिटर काम समयमै सम्पन्न नहुँदा पश्चिम सुर्खेतवासीले दुई वर्षअघि नै पाउनुपर्ने राहत पाउन सकेका छैनन्।
  • सरोकारवाला र सरकारी निकायले आगामी असार अगावै सडक निर्माण सम्पन्न गर्ने आशा देखाए पनि हालसम्म सडकको आधा काम पनि हुन सकेको छैन, जसले गर्दा स्थानीय बासिन्दा हिलो र धुलोको सास्ती भोग्न बाध्य छन्।
  • ठेकदार कम्पनीको चरम लापरबाही र सरकारी प्रक्रियामा ढिलासुस्तीका कारण आयोजनाको काम फेरि एक वर्ष पछाडि धकेलिएको छ, जसले गर्दा निर्माण कार्य २०८४ असारसम्ममा मात्रै सम्पन्न हुने अनुमान छ।

सुर्खेत । बड्डीचौर–खम्बागाडे सडकखण्ड (१३.९ किलोमिटर)को काम समयमै सम्पन्न भएको भइदिएको भए पश्चिम सुर्खेतबासीले दुई वर्षअघि नै राहत पाइसकेका हुन्थे । उक्त खण्डको काम तदारुकताका साथ हुन नसक्दा समस्या उस्तै छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पश्चिमतर्फ बड्डीचौरसम्म कर्णाली राजमार्गले जोडछ । त्यहाँबाट पश्चिमतर्फको सुरुवाती भाग हो– मदन भण्डारी राजमार्गको बड्डीचौर–खम्बागाडे खण्ड ।

सरोकारवालादेखि सरकारी निकायले आगामी असार अगावै सडक निर्माणको काम सम्पन्न गर्ने आशा पश्चिम सुर्खेतबासीलाई देखाएका थिए । यदि ठेकदार कम्पनीले आफ्नो कार्यतालिका अनुसार काम गरिदिएको भए पनि असारसम्म सडक कालोपत्रे भइसक्थ्यो, तर अहिलेसम्म सडकको आधा काम पनि हुन सकेको छैन ।

‘अहिलेको बर्खायाममा सडक सास्तीबाट मुक्ति पाउँछौँ भन्ने आशा थियो,’ बिहीबार दिउँसो उक्त सडकखण्डको वीउरेनी भन्ने ठाउँमा भेटिएका पञ्चपुरीका स्थानीय कमल न्यौपानेले भने, ‘फेरि एक पटक हाम्रो आशामाथि धोका भएकोे छ ।’

उनको आधा परिवार वीरेन्द्रनगरमा बस्छ, आधा गाउँमा । उनी महिनामा ५–७ पटक वीरेन्द्रनगर—पञ्चपुरी आउजाउ गर्छन् ।

न्यौपानेका अनुसार, यात्रा गर्दा घाम लाग्यो भने घुलोले मान्छे चिन्नै नसकिने अवस्था हुन्छ, पानी परेको दिन हिलोले यात्रा गर्नै मुस्किल ।

समयमा उक्त सडक खण्डको काम नहुँदा यो बर्खाले पनि पश्चिम सुर्खेतवासीलाई दुःख दिने चिन्ता उनले प्रकट गरे । ६२ हजार ७८९ जनसंख्या रहेको पश्चिम सुर्खेतका चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका अधिकांश नागरिक पूर्ण रूपमा वीरेन्द्रनगरसँग निर्भर छन् ।

बर्खा याममा सडकका कारण गाडी नै नचल्ने अवस्थाले पश्चिमको वीरेन्द्रनगरसँग सम्पर्क टुट्ने अवस्था आउने गरेको चौकुने गाउँपालिकाको लगामका देउमानसिं बान्तोलाको भनाइ छ ।

‘अहिले बाबियाचौरदेखि यता (पश्चिम) त सडक बनिसक्यो, उता पूर्वसांसदले ठेक्का लिएको सडक अझै बनेन,’ उनले रातोपाटीसँग भने, ‘बर्खामा सडकको चिन्ताले वर्षातका ३–४ महिनाका लागि आवश्यक खाद्य सामग्रीहरू जेठमै ल्याइसक्नुपर्ने चिन्ता हुन्छ ।’

2-photo (4)

अघिल्लो बर्खामा यस्तै समस्या भएको थियो । सडकको कारण देखाउँदै यातायात व्यवसायीले गाडी सञ्चालन नगरेपछि चौकुनेका जनप्रतिनिधिले गाउँपालिकाको टिप्परमा राखेर स्थानीयलाई वीरेन्द्रनगर पुर्‍याएका थिए ।

सडक सास्तीबाट मुक्ति पाउँ भन्दै पश्चिम सुर्खेतबासी कहिले ठेकदारको तस्बिर रुखमा टाँसेर आन्दोलन गर्छन् त कहिले सामाजिक सञ्जालमा सरकार, ठेकदारको आलोचना । जनताको व्यापक आलोचना खेप्नु परेर होला, यो खण्ड कर्णाली सरकारको टाउको दुखाइको विषय भनेको छ ।

यो वर्षदेखि त्यस्तो समस्याको अन्त्य हुनेमा पश्चिम सुर्खेतबासीको आशावादी थिए, तर हालसम्म उक्त सडक खण्डको प्रगति जम्मा ४० प्रतिशतमा सीमित छ । जेठ मसान्तसम्म ५० प्रतिशत काम हुन मुस्किल छ ।

फेरि एक वर्ष धकेलियो आयोजना

सरकारी प्रक्रिया र ठेकदारको चरम लापरबाहीका कारण फेरि राजमार्गको यो खण्डको कम एक वर्ष पछाडि धकेलिएको छ ।

२०८१ असार २४ गते निर्माण सम्पन्न गर्ने भनेर अनक—जयदेवी जेभी बाँकेले ०७९ साउनमा सडक निर्माणको जिम्मा लिएको थियो ।

जयदेव जेभी कांग्रेसका पूर्वसांसद दीक्पाल शाहीको निर्माण कम्पनी हो । ४२ करोड ४७ लाख ६१ हजार लागत रहेको उक्त खण्डको २०८२ साउनमा मात्रै जग्गा प्राप्ति र रुख कटान जस्ता सरकारी प्रक्रियाका काम सकिए । जबकि त्यो बेलासम्म एक पटकको म्याद गुज्रिसकेको थियो ।

त्यो बेला एकातिर सरकारी प्रक्रियाको समस्या र अर्कातिर ठेकदार कम्पनीको चरम लापरबाहीले कामले गति लिएन ।

सुरुमा कटिङ लगायतका काम धमाधम गरे पनि फागुनदेखि पुनः काममा विलम्ब भयो । अहिले कुनै साइटमा समस्या छैन, तर पनि ठेकदारले काममा तदारुकता नदेखाउँदा पछिल्लो म्यादमा काम सम्पन्न हुने छाँटकाँट छैन ।

पूर्वाधार विकास निर्देशनालयले त्यसपछि २०८३ असारसम्म म्याद थप गर्‍यो । सहायक ठेकदार पूर्वसांसद शाहीको जयदेव जेभीले प्रभावकारी काम गर्न नसकेपछि मुख्य ठेकदार कम्पनी ‘अनक कन्स्ट्रक्सन’ आफैँले निर्माणको सम्पूर्ण जिम्मेवारी लिएको छ ।

त्यो बेला स्वयं कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल नै अग्रसर भएर मूल कम्पनीलाई फिल्डमा झिकाएका थिए । अनकले अघिल्लो तिहारपछि फिल्डमा काम सुरु गर्‍यो ।

सुरुमा कटिङ लगायतका काम धमाधम गरे पनि फागुनदेखि पुनः काममा विलम्ब भयो । अहिले कुनै साइटमा समस्या छैन, तर पनि ठेकदारले काममा तदारुकता नदेखाउँदा पछिल्लो म्यादमा काम सम्पन्न हुने छाँटकाँट छैन ।

पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक सूर्यबहादुर शाहीले हालसम्म ४० प्रतिशत भौतिक र ३२ प्रतिशतमात्रै वित्तीय प्रगति भएको बताए ।

‘अहिले २ वटा केवलको बाहेक फिल्डमा कुनै समस्या छैन, गएको कार्तिकमा मन्त्रालयमा आयोजित ठेक्का व्यवस्थापन छलफल तथा गत असार १० गते उहाँहरूले हामीलाई पेस गरेको संशोधित कार्यतालिका अनुसार काम गर्न सक्नुभएन,’ शाहीले भने, ‘रुख कटानको ८ महिना बितिसक्दा पनि फिल्डमा काम सुचारु नहुनु र उपकरण तथा जनशक्ति परिचालन नगर्नुले निर्माण व्यवसायीको नियतमाथि प्रश्न उठेको छ ।’

निर्देशक शाहीका अनुसार, त्यो बेला ठेकदार कम्पनी अनकका तर्फबाट सहभागी प्रतिनिधि शंकर रावतले २०८३ असार तेस्रो सातासम्म अपेक्षित प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर फिल्डमा लक्ष्य अनुसार काम नभएको निर्देशक शाहीले बताए । कार्यालयका तर्फबाट अहिले कुनै बाधा, व्यवधान र समस्या नभएको उनले प्रस्ट पारे ।

ठेकदार कम्पनीका प्रतिनिधि रावतले लक्ष्य अनुसार काम गर्न नसकेको स्विकारे । ‘हो, विगतमा हामीबाट कमजोरी भयो म स्वीकार गर्छु,’ बिहीबार अनुगमनमा गएको पत्रकार टोलीसँग उनले भने, ‘काम गर्ने जनशक्ति पाउन मुस्किल भयो । नदीजन्य पदार्थको समस्या भयो ।’

उनका अनुसार, अहिलेसम्म ६ किलोमिटर ग्राबेलको काम सकिएको छ भने २ किलोमिटर नालाको काम अझै बाँकी छ । कतिपय ठाउँमा पुल र कटिङ गर्न नै बाँकी छ ।

मेसिनरी चिजबाट गर्नुपर्ने काम भए पनि बाँकी जनशक्ति पाउन मुस्किल हुने उनले बताए । अहिले ५ वटा समूहमा जम्मा ४५ जना कामदार परिचालन छन् ।

बर्खामा गाडी रोकिन्नन्, ०८४ असारमा सबै काम सकिन्छ

3-thekdar

ठेकदार प्रतिनिधि रावतले सडक निर्माणको सम्पूर्ण काम अब एक वर्षपछि अर्थात् ०८४ असारसम्म मात्रै सकिने बताए ।

‘यो मेरो प्रतिबद्धता र दाबी भयो, अहिले असारमा सवारी आवागमन स्थगित नहुने वातावरण तयार गर्छु,’ उनले भने ।

पश्चिम सुर्खेतको प्रमुख माग बर्खाको समयमा सवारी साधनको आवागमन नरोकियोस् भन्ने नै रहेको जिकिर गर्दै उनले उक्त समस्या आउन नदिने बताए । ‘गाडी रोकिने अवस्था हुँदैन, ग्राबेलको सबै काम गर्छु,’ उनले भने, ‘एउटा कल्भर्टको काम भइरहेको छ, त्यो पनि सकिन्छ । बाँकी नालाको काम पनि सकिन्छ ।’

रावतका अनुुसार, अहिले असारसम्मै कम्तीमा ८ किलोमिटर कालोपत्रे गरिसक्ने योजना थियो, तर पश्चिम एसियाको युद्धका कारण सडक कालोपत्रका लागि चाहिने अलकत्रा (बिटुमिन) पाइएन । जसका कारण कालोपत्रेको काम नै सुरु गर्न नसकिएको उनले बताए ।

‘बिटुमिन पाउनै मुस्किल, कसैले दिए पनि किन्नै मुस्किल हुने गरी मुल्यवृद्धि छ,’ उनले थपे ।

यो सडक पश्चिम सुर्खेतका जनताको भाग्य र भविष्यसँग जोडिएको छ । पश्चिमका बराहताल, पञ्चपुरी र चौकुने गाउँपालिकाको मेरुदण्डमा रूपमा रहेको सडकको ट्रयाक खोलिएको तीन दशक बितिसकेको छ ।

कर्णालीको प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरको तुलनामा पश्चिमी भेग विकासका दृष्टिले निकै पछाडि परेको छ । पश्चिमको विकासको मेरुदण्ड भनेको यही सडक हो ।

सडकको ट्रयाक खोल्नुभन्दा पहिला यो पश्चिमबासीको पैदल हिँड्ने बाटो थियो । यही बाटोमा पैदल यात्रा गरेर जिल्ला सदरमुकाम आउँथे ।

०४९ सालमा ट्रयाक खुलेको सडकमा ०५१ सालदेखिनै गाडी चल्न सुरु भएका थिए । द्वन्द्वकालमा सडक स्तरोन्नति भनेर कनिका छराई शैलीमा बजेट आउँथ्यो । त्यो बजेट सडक स्तरोन्नतिमा खर्च कहिल्यै भएन ।

बजेट गाउँसम्म नपुग्ने र जिल्लामै उपभोक्ता समिति बनाउने र बाँडेर खाने गरेको सम्झिन्छन् त्यस क्षेत्रका अगुवाहरू ।

राजनीतिक दलहरूका कारण विनियोजित बजेट जिल्लामै दुरुपयोग हुने र गाउँसम्म नपुग्दा सडकले गति लिन सकेन । यो क्रम ०७४ सम्म नै रह्यो । संघीयतापछि ०७५ सालमा सडकलाई मदन भण्डारी राजमार्ग नामकरण गरियो, तर केन्द्रले बजेटमा प्राथमिकता दिएन ।

पछि सोही क्षेत्रका सांसद विन्दमान विष्ट प्रदेशको अर्थमन्त्री हुँदा सुरुवाती खण्डको १३ किलोमिटर सडक प्रदेश सरकारबाट बनाउने गरी बजेट व्यवस्थापन गरे ।

तर प्रक्रियागत झन्झट र ठेकदारका कारण विलम्ब भइरहेको छ । जबकि केन्द्रबाट बजेट व्यवस्थापन भएर पुछार (पश्चिम) भाग कालोपत्रे भइसक्यो ।

चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विक ‘विवश’ सुरुवाती खण्डको कामले पूर्णता नपाउँदा पश्चिमले सास्ती खेपिरहेको बताउँछन् । ‘जनताले भोगेको सास्ती र सडकका कारण सवारी साधनमा भएको क्षतिको क्षतिपूर्ति ठेकदारले दिनुपर्छ,’ ठेकदार प्रतिनिधिसँग आक्रोशित हुँदै उनले भने, ‘यो जनतामाथि ठुलो अन्याय भयो ।’

ठेकदार कम्पनीलाई सरकारको अन्तिम चेतावनी

पूर्वाधार विकास निर्देशनालयले ठेकदार कम्पनीलाई अन्तिम चेतावनी दिएको छ । निर्देशनालयका प्रमुख सूर्यबहादुर शाहीले अब थप एक वर्ष म्याद थपिने बताए ।

hakim

‘उक्त म्यादमा पनि काम सम्पन्न नभए ठेकदारलाई कारबाही गरिने छ,’ उनले भने, ‘यो कुरा सार्वजनिक सूचना निकालेर जानकारी गराइसकिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप