आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

पोर्चुगिज राष्ट्रिय फुटबल टोलीको 'ग्लोबल पार्टनर' बन्यो चांगान अटो

आइतबार, १० जेठ २०८३, १६ : ०३
आइतबार, १० जेठ २०८३

काठमाडौँ । चिनियाँ अटोमोबाइल जायन्ट चांगान अटोमोबाइल पोर्चुगिज राष्ट्रिय फुटबल टोलीको आधिकारिक 'ग्लोबल पार्टनर' बनेको छ। 

पोर्चुगलको लिस्बनस्थित 'सिदाद दो फुटेबल'मा आयोजित एक विशेष समारोहका बीच चांगान र पोर्चुगिज फुटबल फेडेरेसनबीच ऐतिहासिक रणनीतिक साझेदारीको घोषणा गरिएको हो।

यस साझेदारीसँगै अब चांगान विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, बर्नार्डो सिल्भा, जोआओ फेलिक्स र राफेल लियाओ जस्ता स्टार खेलाडीहरू सम्मिलित टोलीसँग जोडिएको छ। 

कम्पनीले आफ्नो 'भास्ट ओसन प्लान' रणनीतिको एक महत्त्वपूर्ण हिस्साका रूपमा यस सहकार्यलाई अघि सारेको हो। खेलकुद, प्रविधि र जीवनशैलीसँग सम्बन्धित मार्केटिङमार्फत अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउने चांगानको योजना छ।

साझेदारी घोषणा कार्यक्रममा चांगानले पोर्चुगिज फुटबल नेतृत्वलाई 'दिपल एस०५' प्लग-इन हाइब्रिड कार हस्तान्तरण गरेको थियो। साथै, सोही अवसरमा लिस्बनदेखि मेड्रिड हुँदै टुरिनसम्मको १,००० किलोमिटर लामो युरोपेली टेस्ट ड्राइभ कार्यक्रमको समेत उद्घाटन गरिएको छ।

सन् २०३० सम्ममा चीनबाहिर वार्षिक १५ लाख कार बिक्री गर्ने र युरोपमा अग्रणी चिनियाँ ब्रान्ड बन्ने लक्ष्य राखेको चांगानका लागि यो सहकार्य निकै महत्वपूर्ण मानिएको छ। विश्वभर ५० करोडभन्दा बढी समर्थक रहेको पोर्चुगिज टोलीसँगको आबद्धताले युरोपेली उपभोक्ताको मन जित्न र ब्रान्डलाई 'आकांक्षाको प्रतीक'का रूपमा स्थापित गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।

चांगानले यसअघि नै पोर्चुगल, नर्वे र ग्रिसमा एक्सक्लुसिभ वितरक सम्झौता गरिसकेको छ। कम्पनीका अनुसार यो सहकार्य केवल परम्परागत प्रायोजनमा मात्र सीमित नभई दृढता, उत्कृष्टता र दीर्घकालीन सोच जस्ता साझा मूल्यहरूको प्रतिबिम्ब हो, जसले फुटबल र अटोमोबाइल दुवै क्षेत्रमा विश्वव्यापी पहिचान दिलाउन मद्दत गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप