फिर्के खोलामा चल्यो महानगरको डोजर: हट्दै अतिक्रमण, बन्दै करिडोर
कास्की । पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन सफल भएको छ। बजारको मध्यभाग भएर बग्ने यस खोलाको अतिक्रमण हटाउने योजना अघिल्लो कार्यकालकै जनप्रतिनिधिको थियो।
तत्कालीन प्रमुख मानबहादुर जिसीले डोजर चलाएर सुरुआतसमेत गरेका थिए। तर, त्यो काम एक दिनपछि अघि बढ्न सकेन। फिर्के मापदण्डको विरोधमा स्थानीयले न्यायालयसम्म गुहारेका थिए। यसलगायत विविध कारणले अतिक्रमण हटाउने प्रयास सफल हुन सकेको थिएन।
अहिले भने पोखरा महानगरपालिकाले सङ्घीय सरकारको समेत बलियो साथ पाएपछि फिर्केको खोलाघर हटाउने कार्य आइतबारदेखि सुरु गरेको छ। पहिलो दिन शान्तपूर्ण रूपमा सो कार्य सम्पन्न भयो। खोलाघरमा निजी तथा व्यक्तिगत स्थायी ३५ र अस्थायी ९७ संरचना बनेका छन्। यसैगरी संस्थागत स्थायी १८ र अस्थायी १० वटा संरचना छन्।
महानगरले अतिक्रमण हटाउने कार्य निरन्तर अभियानका रूपमा चल्ने जनाएको छ। स्थानीयले समेत खोलाघर हटाउने कार्यमा महानगरलाई साथ दिएका छन्। खोलाघरमै बनेका संरचना हटाउनुपर्छ भने पनि त्यसपछिको मापदण्डको भने स्थानीयले विरोध गरेका छन्। फिर्के मापदण्ड छ मिटर वैज्ञानिक र व्यावहारिक नभएको गुनासो फिर्के क्षेत्रका नागरिकको छ।
फिर्केको खोलाघर खाली गरेपछि महानगरले फिर्के करिडोर परियोजना सुरु गर्ने योजना बनाएको छ। यस परियोजनाका लागि दातृ निकायबाट सहयोग प्राप्त हुने महानगरले जनाएको छ। पोखरालाई ‘हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोर सहर’ का रूपमा स्थापित गर्ने दूरदर्शी अभियान फिर्के करिडोर परियोजना रहेको महानगर प्रमुख धनराज आचार्यले बताए।
प्रमुख आचार्यका अनुसार फिर्के करिडोरको मुख्य अवधारणामा फिर्के खोलाको दायाँ–बायाँ कम्तीमा छ मिटर मापदण्ड कायम गर्दै व्यवस्थित फुटट्रेल, सुरक्षित साइकल लेन, ‘मर्निङ’ तथा ‘इभिनिङ’ वाकका लागि आकर्षक पदमार्ग निर्माण गरिनेछ।
‘फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ सहरी पहिचान दिने लक्ष्य राखिएको छ। खोलाको प्राकृतिक बहाव संरक्षण गर्दै दुवै किनार हरियाली बेल्ट, रैथाने बोटबिरुवा, ढुङ्गे तटबन्ध, स्मार्ट एलइडी लाइटिङ तथा वातावरणमैत्री सार्वजनिक खुला क्षेत्रले सजाइनेछ,’ महानगर प्रमुख आचार्यले भने।
करिडोरभित्र ठाउँठाउँमा पोखरेली शैलीमा विश्रामस्थल, कफी पोइन्ट तथा खुला क्याफे, सेल्फी पोइन्ट र दृश्यावलोकनस्थल, सानो खुला पार्क तथा बस्ने चौतारी, सांस्कृतिक तथा कलात्मक संरचना, बालमैत्री र ज्येष्ठ नागरिकमैत्री खुला क्षेत्र निर्माण गरिने महानगरको योजना छ।
‘फिर्के करिडोरलाई केवल हिँड्ने बाटो होइन, जीवनशैली र मनोरञ्जनको सार्वजनिक गन्तव्य बनाउने छौँ। यो भविष्यको पोखराको नयाँ सहरी पहिचान बन्नेछ, जहाँ प्रकृति, आधुनिक पूर्वाधार, पर्यटन, स्वास्थ्य, वातावरण र नागरिक जीवनशैलीको सुन्दर सङ्गम हुनेछ,’ आचार्यले भने।
पोखरा गणेशटोलका लोकनाथ भण्डारी खोलाघर भत्काइसकेपछि उचित व्यवस्थापन र दिगो विकास योजना ल्याउनुपर्ने बताउँछन्। ‘फिर्केखोला खाली गर्ने कार्यमा हामी स्थानीयको सहयोग नै छ। तर मापदण्डको नाममा व्यक्तिको जमिनमा मनपरि मापदण्ड लागू गर्न पाइँदैन। महानगरलाई आवश्यक परे मुआब्जा दिनुपर्दछ। फिर्के वरपरका संरचना भत्काइसकेपछि यसको व्यवस्थित विकासको योजना ल्याउनुपर्छ,’ भण्डारीले भने।
पोखरा १८ अँधेरीकुनादेखि वडा नं २, ४, ५, ७, ८, १७ हुँदै वडा नं ६ स्थित पर्यटकीय गन्तव्य फेवाताल–गाईघाटसम्म फैलिएको फिर्के आठ किलोमिटर लामो छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण