बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आईपीएल २०२६ क्वालिफायर-२

फरक दर्शन बोकेका गुजरात र राजस्थान भिड्दै, सूर्यवंशीको ब्याट चल्ला वा रबाडाको बल ?

वर्षाले खेल बिथोले कसलाई फाइदा ?
शुक्रबार, १५ जेठ २०८३, १३ : ००
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • क्वालिफायर-२ मा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।
  • गुजरातका ओपनरहरू कम जोखिमपूर्ण रणनीति अपनाउँछन् भने राजस्थानका युवा स्टार सूर्यवंशी आक्रामक ब्याटिङ गर्छन्।
  • टस महत्त्वपूर्ण हुने खेलमा वर्षाको सम्भावनाले राजस्थानलाई घाटा हुन सक्छ।

चण्डीगढ । शुक्रबार राति न्यु चण्डीगढमा आईपीएल २०२६ को क्वालिफायर-२ सुरु हुँदा, धेरै समानता तर पूर्ण रूपमा फरक दर्शन भएका दुई टोली फाइनलको टिकटका लागि भिड्नेछन्।

क्वालिफायर-१ मा रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित हुँदै आएको गुजरात टाइटन्स र एलिमिनेटरमा सनराइजर्स हैदराबादलाई हराएको राजस्थान रोयल्स बिच धेरै कुरामा समानता छ। दुवै टोली शीर्ष तीन ब्याटरमा धेरै निर्भर छन्, दुवैको मध्यक्रम कमजोर छ, र दुवैसँग नयाँ बलका धारिला बलरहरू छन्। तर, खेलप्रतिको उनीहरूको दृष्टिकोण भने विल्कुलै फरक छ।

इम्प्याक्ट प्लेयरको यो युगमा पनि गुजरातका ओपनरहरू शुभमन गिल र बी साई सुदर्शन रन जोड्न कम जोखिमपूर्ण रणनीति अपनाउन रुचाउँछन्। यस सिजन पावरप्लेमा उनीहरूको स्कोरिङ रेट ९.६६ छ, जुन पुछारतिर पर्छ। उनीहरू औसत स्कोरमै सन्तुष्ट हुन्छन् र त्यसको रक्षा गर्न आफ्नो बलिङ युनिटमाथि भर पर्छन्।

Rajsthan

अर्कोतर्फ, राजस्थानलाई १५ वर्षीय युवा स्टार वैभव सूर्यवंशीले नेतृत्व गरिरहेका छन्। उनी हरेक बललाई बाउन्ड्री पार गराउने प्रयास गर्छन्। यस सिजन गिल र सुदर्शनले मिलेर ५९ छक्का प्रहार गरेका छन्, जबकी सूर्यवंशी एक्लैले ६५ छक्का हिर्काइसकेका छन्। यशस्वी जायसवाल आफ्नो उत्कृष्ट लयमा नहुँदा पनि पहिलो ६ ओभरमा राजस्थानको रन रेट ११.६६ छ, जुन यस प्रतियोगिताकै उत्कृष्ट हो।

पहिले ब्याटिङ गर्ने टोलीले विशाल योगफल तयार पार्दा गुजरात निकै कमजोर देखिने गरेको छ। बेंगलुरुले क्वालिफायर-१ मा ५ विकेट गुमाएर २५४ रन बनाउँदा गुजरातको जित्ने सम्भावना निकै कम थियो। 

यसरी विशाल योगफल तयार पार्न सक्ने अर्को टोली राजस्थान हो। एलिमिनेटरमा हैदराबादविरुद्ध उनीहरूले ८ विकेट गुमाएर २४३ रन बनाएका थिए। हुन त हैदराबादको तुलनामा गुजरातको बलिङ निकै बलियो छ, तर यदि सूर्यवंशी लयमा आए भने उनलाई र राजस्थानलाई रोक्न सहज हुनेछैन।

यस अवस्थामा टस महत्त्वपूर्ण बन्न पुग्छ। यस सिजन लक्ष्य पछ्याउने टोलीहरूको जित-हारको रेकर्ड ४३-२७ छ (टाई र रद्द भएका खेल बाहेक)। तर, अहिलेसम्मका दुवै प्लेअफ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन्। आईपीएलका १९ सिजनको नकआउट चरणको कुरा गर्दा यो आँकडा लगभग बराबर 

त्यसैले, शुक्रबार यदि टस राजस्थानको पक्षमा पर्‍यो भने, उनीहरूले पहिले ब्याटिङ गर्दै गुजरातलाई खेलबाट बाहिर राख्ने प्रयास गर्नेछन्। साथै, यो खेल त्यही पिचमा खेलिनेछ जहाँ एलिमिनेटर खेलिएको थियो। त्यसैले पुरानो पिचमा लक्ष्य पछ्याउन सहज नहुन सक्छ र त्यहाँ शीत पर्ने सम्भावना पनि कम छ।

gujrat

  • हेड टु हेड

हेड टु हेड रेकर्डमा गुजरातको पल्ला भारी छ। दुवैबिच हालसम्म १० खेल खेलिएका छन्, जसमा ७ खेल गुजरातले जितेको छ भने ३ खेल राजस्थानको नाममा रहेको छ। 

यस सिजनमा दुवै टोली बराबरीको स्थितिमा छन्। पछिल्लो खेल गुजरातले ७७ रनले जितेको थियो। त्यसअघि राजस्थानले ६ विकेटको जित हासिल गरेको थियो।

मुख्य खेलाडीहरू

  • सूर्यवंशी र आर्चरमा निर्भर राजस्थान : 

राजस्थान रोयल्स हाल निकै हदसम्म वैभव सूर्यवंशी र जोफ्रा आर्चरमा निर्भर छ। एलिमिनेटरमा टोलीको जितमा यी दुवै खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेका थिए। वैभव ६८० रनसहित जारी सिजनको सर्वाधिक रन बनाउने खेलाडी हुन् भने जोफ्रा आर्चर २४ विकेटसहित टोलीका सर्वाधिक विकेट लिने बलर हुन्।

यस सिजन सूर्यवंशीको चमकसामु यशस्वी जायसवाल फिक्का देखिएका छन्। ध्रुव जुरेलले भने तेस्रो नम्बरमा उपयोगी पारी खेलेका छन्। कप्तान रियान परागले सनराइजर्सविरुद्ध टोली २६० रनसम्म पुग्न सक्ने तर डेथ ओभरमा ब्याटिङ धर्मराएको स्वीकार गरेका छन्। टोलीले यो कमजोरी सुधार्न चाहनेछ।

साई सुदर्शनलाई ओरेन्ज क्याप जित्ने मौका :

गुजरात टाइटन्सको ब्याटिङ धेरै हदसम्म साई सुदर्शन (६५२ रन), शुभमन गिल (६१८ रन) र जोस बटलर (४९८ रन) मा निर्भर छ। पछिल्लो खेलमा बेंगलुरुविरुद्ध शीर्ष तीन ब्याटर चाँडै आउट भएपछि टोली १६२ रनमै अलआउट भएको थियो।

क्वालिफायर-१ मा बेंगलुरुका ब्याटरहरूले गुजरातका बलरहरूको कडा धुलाइ गरेका थिए। यस्तोमा गुजरातले आफ्नो बलिङ र फिल्डिङ प्रदर्शनमा सुधार गर्न चाहनेछ। कागिसो रबाडा २६ विकेट लिएर यस सिजनको सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्।

  • नजरमा रबाडा र आर्चर

कागिसो रबाडा र जोफ्रा आर्चर आ-आफ्ना टोलीका प्रमुख हतियार हुन् र उनीहरूबीच खासै भिन्नता छैन। रबाडाले १५ खेलमा २६ विकेट लिएका छन् भने आर्चरले १५ खेलमा २४ विकेट लिएका छन्। रबाडाको इकोनोमी रेट ९.४८ छ भने आर्चरको ९.१७ छ। रबाडाले अक्सर पावरप्लेमा तीन ओभर बलिङ गरेका छन्।

 राजस्थानले भने आर्चरलाई डेथ ओभरका लागि पनि बचाएर राख्ने गर्छ। शुक्रबार सबैको एउटा नजर ओपनिङ जोडीमा हुनेछ भने अर्को नजर यी दुई तीव्र गतिका बलर र खेलको नतिजामा कसको प्रभाव बढी हुन्छ भन्नेमा रहनेछ।

  • मुल्लानपुरमा हाइ स्कोरिङ खेलको अपेक्षा

मुल्लानपुरस्थित महाराजा यादवविन्द्र सिंह क्रिकेट स्टेडियममा अर्को हाइ स्कोरिङ खेलको अपेक्षा गरिएको छ। यहाँ पछिल्ला चारवटै खेलमा २०० रनभन्दा बढीको स्कोर बनेको छ। जसमा दुई पटक लक्ष्य पूरा गरिएको छ भने दुई पटक स्कोरको रक्षा गरिएको छ। पछिल्लो खेलमा राजस्थानले २४३ रन बनाएको थियो, जसको जवाफमा हैदरावाद १९६ रनमा अलआउट भएको थियो।

  • ६० देखि ७० प्रतिशत वर्षाको सम्भावना

खेलको दिन न्यु चण्डीगढको तापक्रम २३ डिग्री सेल्सियसदेखि ३७ डिग्री सेल्सियससम्म रहन सक्छ। तर, यस खेलमा वर्षाको खतरा मडारिरहेको छ। मौसम विज्ञान केन्द्र चण्डीगढका मौसमविद् शिवेन्द्र सिंहले चण्डीगढ-मोहालीमा ६० देखि ७० प्रतिशत वर्षाको सम्भावना रहेको बताएका छन्। यहाँ दिउँसोपछि पानी पर्न सक्छ। वर्षाका कारण खेल रद्द भएमा राजस्थानलाई घाटा हुनेछ। अङ्क तालिकाको आधारमा गुजरात फाइनलमा प्रवेश गर्नेछ। यस एलिमिनेटर-२ का लागि कुनै 'रिजर्भ डे' पनि राखिएको छैन।

टोली समाचार

यो पिच पहिले नै प्रयोग भइसकेको हुनाले, गुजरातले कुलवन्त खेजरोलियाको ठाउँमा मानव सुथार वा आर साई किशोर जस्ता स्पिनरलाई मौका दिने विचार गर्न सक्छ। कुलवन्तले क्वालिफायर-१ मा आफ्नो दुई ओभरमै ३१ रन दिएका थिए।

gujrat 1

गुजरात टाइटन्स (सम्भावित): १. शुभमन गिल (कप्तान), २. बी साई सुदर्शन, ३. जोस बटलर (विकेटकिपर), ४. निशान्त सिन्धु, ५. वासिंटन सुन्दर, ६. राहुल तेवतिया, ७. जेसन होल्डर, ८. राशिद खान, ९. कागिसो रबाडा, १०. मानव सुथार/आर साई किशोर, ११. मोहम्मद सिराज, १२. प्रसिद्ध कृष्णा।

Rajsthan 2

राजस्थान रोयल्सले जित हासिल गरेको टोलीलाई नै निरन्तरता दिने सम्भावना छ।

  • राजस्थान रोयल्स (सम्भावित): १. यशस्वी जायसवाल, २. वैभव सूर्यवंशी, ३. ध्रुव जुरेल (विकेटकिपर), ४. रियान पराग (कप्तान), ५. डोनोभान फरेरा, ६. दासुन शनाका, ७. रवीन्द्र जडेजा, ८. जोफ्रा आर्चर, ९. नान्द्रे बर्गर, १०. सुशान्त मिश्रा, ११. बृजेश शर्मा, १२. यश राज पुन्जा।

तथ्याङ्क र रोचक कुराहरू

  • सूर्यवंशीले रबाडाको १४ बलमा २५ रन र मोहम्मद सिराजको २० बलमा ३८ रन बनाएका छन्।
  • तर, जायसवालविरुद्ध रबाडाको रेकर्ड राम्रो छ। उनले जायसवाललाई २७ बलमा २७ रन मात्र दिएर तीन पटक आउट गरेका छन्।
  • आर्चरले गिललाई ३० बलमा ३६ रन मात्र खर्चेर तीन पटक आउट गरेका छन्। तर, उनले साई सुदर्शनलाई आउट गर्न सकेका छैनन्। सुदर्शनले आर्चरविरुद्ध ३३ बलमा ४४ रन (स्ट्राइक रेट १३३.३३) बनाएका छन्।
  • टी-२० क्रिकेटमा जोस बटलरले आर्चरको ५६ बलमा १०९ रन (स्ट्राइक रेट १९४.६४) बनाएका छन् र दुई पटक आउट भएका छन्।
  • राशिद खानले रियान पराग र रवीन्द्र जडेजालाई शान्त राखेका छन्। परागको स्ट्राइक रेट उनीविरुद्ध ९०.०० छ भने जडेजाको मात्र ७२.०९ छ।
  • राजस्थानले न्यु चण्डीगढमा खेलेका चारवटै खेल जितेको छ। गुजरातले त्यहाँ खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ।

कसले के भने ?

राजस्थानका कप्तान रियान परागले आर्चरको बारेमा भनेका छन्, ‘उनी विश्व क्रिकेटकै उत्कृष्टमध्ये एक हुन्। जब उनी १५० को गतिमा बलिङ गरिरहेका हुन्छन्, तपाईं उनलाई विस्तारै फ्याँक भन्नुहुन्न। तपाईं उनलाई केही गर्न भन्नुहुन्न, बरु यदि उनलाई सम्झाउनु पर्ने केही छ भने सम्झाउनु मात्र हुन्छ। अन्यथा, उनले आफ्नो काम आफैँ गर्छन्।’

गुजरात टाइटन्सका सहायक प्रशिक्षक पार्थिव पटेलले आफ्नो टोलीको खेल्ने शैलीबारे भनेका छन्, ‘सबैको खेल्ने आफ्नै तरिका हुन्छ। हाम्रो पनि खेल्ने आफ्नै शैली छ। प्रतियोगिताको पहिलो हाफमा हामीले खासै राम्रो प्रदर्शन गर्न नसकेको अवस्थामा पनि हामीले आफ्नो प्रक्रियालाई निरन्तरता दियौँ। हामीलाई हाम्रो क्षमतामा विश्वास छ, हामी के गर्न सक्छौँ भन्ने हामीलाई थाहा छ। भोलि पनि हामी त्यही गर्ने प्रयास गर्नेछौँ। यदि हामीले मैदानमा गएर आफ्नो योजनाअनुरूप खेल्यौँ भने हामी जित्न सक्छौँ।’

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप