सकियो २३औँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव, उत्कृष्ट फिल्म पुरस्कृत
सारांश
- काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण विभिन्न विधाका उत्कृष्ट चलचित्रहरूलाई पुरस्कार वितरण गर्दै ३१ मे साँझ सम्पन्न भयो ।
- पाँच दिनसम्म चलेको यस महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्रहरू प्रदर्शन गरिनुका साथै विभिन्न अन्तरक्रियात्मक प्यानल छलफल, बहस, प्रदर्शनी तथा कार्यशालाहरू आयोजना गरिए ।
- उत्कृष्ट फिचर वृत्तचित्रको पुरस्कार 'द ओल्डेस्ट मुनरो ब्यागर' ले, उत्कृष्ट लघु वृत्तचित्रको पुरस्कार 'द एन्टी एक्स्पेडिसन' ले, उत्कृष्ट फिचर फिक्सनको पुरस्कार 'हा लिङ्खा ब्नेङ : द एलिसियन फिल्ड' ले र उत्कृष्ट लघु फिक्सनको पुरस्कार 'अली' ले प्राप्त गरे ।
काठमाडौँ । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण विभिन्न विधाका उत्कृष्ट चलचित्रहरूलाई पुरस्कार वितरण गर्दै आइतबार (३१ मे) साँझ सकिएको छ ।
पाँच दिनसम्म चलेको यस महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्रहरू प्रदर्शन गरिनुका साथै विभिन्न अन्तरक्रियात्मक प्यानल छलफल, समसामयिक बहस, प्रदर्शनी तथा कार्यशालाहरू आयोजना भएका थिए ।
महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर वृत्तचित्रको पुरस्कार ‘द ओल्डेस्ट मुनरो ब्यागर’ ले प्राप्त गरेको छ । यसले १,५०० अमेरिकी डलर नगद पुरस्कार जितेको छ । त्यस्तै, ‘द एन्टी एक्स्पेडिसन’ उत्कृष्ट लघु वृत्तचित्र घोषित हुँदै १,००० अमेरिकी डलर नगद पुरस्कारको विजेता बन्यो ।
कथानक चलचित्र (फिक्सन)तर्फ ‘हा लिङ्खा ब्नेङ : द एलिसियन फिल्ड’ उत्कृष्ट फिचर फिक्सन घोषित हुँदै १,५०० अमेरिकी डलर जित्न सफल भयो भने ‘अली’ ले उत्कृष्ट लघु फिक्सनको उपाधिसहित १,००० अमेरिकी डलर प्राप्त गर्याे ।
यस वर्षको अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा भारतकी चलचित्र कार्यक्रम संयोजक दीप्ती डी कुन्हा, थाइल्यान्डकी अभिलेखालयकी निर्देशक चालिदा उआबुमरुङजित, नेपालको लेखक तथा कवि कुमार नगरकोटी र इटलीस्थित सेर्भिनो सिनेमाउन्टेन महोत्सवका निर्देशक लुका बिच रहेका थिए ।
नेपाल पानोरमा खण्डअन्तर्गत ‘माई मम इज अ बडीबिल्डर’ उत्कृष्ट वृत्तचित्र घोषित भयो भने ‘साँझका रङ्गहरू’ ले उत्कृष्ट कथानक चलचित्रको पुरस्कार प्राप्त गर्यो । यी दुवै चलचित्रले जनही रु.१,००,००० नगद पुरस्कार प्राप्त गरेका छन् ।
यो विधाको मूल्याङ्कन एलायन्स फ्रान्सेज काठमाडौँकी सांस्कृतिक तथा सञ्चार संयोजक लुसी दे बारोस, नेपाली चलचित्रकर्मी नवीन चौहान र चलचित्र पत्रकार एवं समालोचक रिना मोक्तान सम्मिलित टोलीले गरेका थिए ।
यसैगरी, दर्शकको रोजाइका आधारमा प्रदान गरिने रु. १,००,००० राशिको ‘दर्शक पुरस्कार जापानी निर्देशक साकामोटो जुन्जीको चलचित्र ‘क्लाइम्बिङ फर लाइफ’ले प्राप्त ग¥यो । यो चलचित्र विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला जुनको ताबेईको जीवनमा आधारित छ ।
महोत्सवको उद्घाटन त्रिवेणी राई निर्देशित चलचित्र ‘सेप अफ मोमो’ को नेपाल प्रिमियर प्रदर्शनमार्फत गरिएको थियो । महोत्सवका अवधिमा ‘क्लाइम्बिङ फर लाइफ’ को विशेष प्रदर्शन, चलचित्र र सेन्सरसीपसम्बन्धी संवाद तथा नेपाली चलचित्र निर्माणको बदलिँदो परिदृश्यबारे गहन छलफलहरू सञ्चालन गरिएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण