शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
अनुसन्धान प्रतिवेदन

हिमालयन रि–इन्स्योरेन्ससहित ५ बिमा कम्पनीको ४ अर्ब अपचलन

दीपक भट्टसहित ४० जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
मङ्गलबार, १९ जेठ २०८३, २० : १५
मङ्गलबार, १९ जेठ २०८३

काठमाडौँ । व्यवसायी दीपक भट्ट र उनका साझेदारहरू मिलेर हिमालयन रि–इन्स्योरेन्स सहित पाँच वटा इन्सुरेन्स कम्पनीबाट ४ अर्ब भन्दाबढी रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल समेतका प्रतिवादीहरूमाथि अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको सीआईबीका एआईजी डा. मनोज केसीले रातोपाटीलाई बताए ।

प्रहरीले हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, जावलाखेल डिस्टिलरीका सञ्चालक राज बहादुर शाह, हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाल र मनीष कुमार तथा सीईओ उपासना पौडेललाई प्रतिवादी बनाएर अभियोग दायर गर्न सीआईबीले राय दिएको छ । अर्का व्यवसायी ऋषिराज मोरलाई पनि प्रतिवादी कायम गर्नुपर्ने सीआईबीको राय छ ।

४० जनाभन्दा धेरै व्यक्तिहरूलाई प्रतिबादी बनाउनुपर्ने प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रहरीले उनीहरूविरुद्ध बिमासम्बन्धी कसुरमा पाँच वर्ष कैद सजाय गर्न मागदाबी लिनुपर्ने प्रहरीले राय दिएको छ ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययनकै क्रममा रहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता सोमकान्ता भण्डारीले बताए । उनले भने, ‘विशेष सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) बारे अध्ययन गरिरहेको छ, कतिपय विषयमा त्यहाँ पनि समन्वय गर्नुपर्ने हुन्छ ।’

आरोपीहरूले हिमालयन रिसँग सम्बन्धित बिमा कम्पनीहरूबाट करिब ४ अर्ब रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बिमक (बिमा गर्ने व्यक्ति) हरूले तिरेको रकम अनुमति बिना निकालेर अन्यत्र लगानी गरेको अनुसन्धानबाट थाहा भएको छ । एआईजी डा. केसी भन्छन्, ‘बिमा कम्पनीको रकम निकालेर धितोपत्रमा लगानी गरेको देखिन्छ ।’

हिमालयन रि–इन्स्योरेन्स सहित ५ वटा कम्पनीमार्फत ४ अर्ब रकम अपचलन गरेको भेटिएको छ । हिमालयन रि, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन क्याप सर्व, हिमालयन सेक्युरिटिज बैंकर र एचएलआई लार्ज क्याप फन्ड को रकम अपचलनमा मुख्य भूमिका देखिएको छ । त्यसबेला हिमालन रिको अध्यक्ष शेखर गोल्छा थिए । अनुसन्धाननमा संलग्न एक अधिकृत भन्छन्, ‘यसमा हिमालयन रि र यसका सहायक कम्पनीहरूको रकम अनियमितता गर्न सबै प्रक्रिया मिलाउने भूमिकामा दीपक भट्ट देखिन्छन् ।’

सीआईबीले बैंकिङ्ग कसुर र धितोपत्रसम्बन्धी दुई वटा छुट्टाछुट्टै कसुरमा थप अनुसन्धान गरिरहेको छ । बैंकिङ र धितोपत्रका दुई वटा कसुरको अनुसन्धान पनि अन्तिम चरणमा पुगेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप