शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सम्झौता भएपछि रोकिएको १२ अर्ब डलर तत्काल उपलब्ध गराउन इरानको माग

मङ्गलबार, १९ जेठ २०८३, १६ : ५९
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • इरानले अमेरिकासँगको अन्तरिम सम्झौता हुनेबित्तिकै रोक्का भएको आफ्नो १२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति तत्काल उपलब्ध गराउन माग गरेको छ ।
  • इरानी प्रतिनिधिमण्डलका सदस्य सइद अजोरलुका अनुसार रोकिएको सम्पत्तिमा पहुँचमा अवरोध आएमा इरान सम्झौताबाट पछि हट्न सक्नेछ ।
  • माग गरिएको १२ अर्ब डलरमध्ये ६ अर्ब डलर इरानको पहिलेदेखि रोकिएको सम्पत्ति हो भने बाँकी ६ अर्ब डलर थप मुक्त गरिनुपर्ने रकम हो ।

तेहरान । इरानले अमेरिकासँग अन्तरिम सम्झौता हुनेबित्तिकै रोक्का भएर बसेको आफ्नो १२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति तत्काल उपलब्ध गराउन माग गरेको छ ।

इरानी अर्धसरकारी फार्स न्यूज एजेन्सीका अनुसार कतारमा भएको वार्तामा सहभागी इरानी प्रतिनिधिमण्डलसँगै गएका पत्रकार सइद अजोरलुले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार वार्ता यस्तो चरणमा पुगेको छ कि रोकिएको सम्पत्तिमा पहुँचमा कुनै अवरोध महसुस गर्‍यो भने इरान सम्झौताबाट पछि हट्न सक्नेछ । अजोरलुको भनाइ उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘१२ अर्ब डलरमा पहुँचको संरचनाले नै सम्झौता कार्यान्वयनको ग्यारेन्टीको काम गर्नुपर्छ । यदि सम्पत्तिमा पहुँच अवरुद्ध भयो भने इरान सम्झौताबाट बाहिरिन सक्ने अवस्था रहन्छ ।’

उनका अनुसार माग गरिएको १२ अर्ब डलरमध्ये ६ अर्ब डलर इरानको पहिलेदेखि रोकिएको सम्पत्ति हो । बाँकी ६ अर्ब डलर भने यस चरणमा थप रूपमा मुक्त गरिनुपर्ने रकम हो । यसअघि तस्निम न्यूज एजेन्सीले तेहरान र वाशिङ्टनबिच अन्तरिम सम्झौता भएमा कुल २४ अर्ब डलर बराबरको इरानी सम्पत्ति फुकुवा हुन सक्ने जनाएको थियो । त्यसमध्ये आधा रकम सम्झौता घोषणा हुनेबित्तिकै उपलब्ध गराइने बताइएको थियो ।

समाचारअनुसार कतारले उक्त रकमको ग्यारेन्टरको भूमिका निर्वाह गर्न सहमति जनाएको थियो । अजोरलुले भने, ‘हामी वार्तामा जाने, सम्झौता गर्ने र फेरि अर्काे युद्ध सुरु भएमा आफ्नै सम्पत्तिमा पहुँच गुमाउने अवस्था चाहँदैनौँ ।’

यद्यपि कतारले भने आफूले सम्झौता सम्पन्न गराउन इरानलाई १२ अर्ब डलर प्रस्ताव गरेको भन्ने समाचारको खण्डन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप