स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगले स्वच्छ, स्वस्थ र दिगो वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हकको संरक्षणका लागि सरकारलाई प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ।
- आयोगले नेपालको संविधान र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रत्याभूत वातावरणीय अधिकारहरूको पूर्ण पालना गराउन सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ।
- वायु प्रदूषण, वन विनाश, जलवायु परिवर्तन र फोहोरमैला व्यवस्थापन जस्ता समस्याले जनस्वास्थ्य र जीवनस्तरमा नकारात्मक प्रभाव पारेको भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले स्वच्छ, स्वस्थ र दिगो वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक र मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको छ।
विश्व वातावरण दिवसका अवसरमा शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले यस्तो निर्देशन दिएको हो। आयोगले नेपालको संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकारका मापदण्ड अनुसार प्रत्याभूत गरिएका वातावरणीय अधिकारहरूको पूर्ण पालना गराउन सबै सरोकारवालाहरूको ध्यानाकर्षण समेत गराएको छ।
नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। संविधानमा राज्यलाई वातावरणीय प्रदूषण नियन्त्रण तथा क्षति न्यूनीकरण गर्ने दायित्व तोकिएको भए पनि यसतर्फ राज्यको पर्याप्त ध्यान पुग्न नसकेको आयोगले ठहर गरेको छ।
पछिल्ला वर्षहरूमा वायु प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापनको कमजोरी तथा प्राकृतिक स्रोतहरूको असन्तुलित दोहनका कारण वातावरणीय अवस्था थप जटिल बन्दै गएको प्रति आयोगले गम्भीर चिन्ता व्यक्त गरेको छ। यी समस्याहरूले जनस्वास्थ्य, नागरिकको जीविकोपार्जन तथा समग्र जीवनस्तरमा नकारात्मक प्रभाव पारेको विज्ञप्तिमा उल्लेख छ।
आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा स्थानीय तहहरूमा देखिएका फोहोरमैला व्यवस्थापनका पछिल्ला समस्याहरूलाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ। भक्तपुरको मध्यपुर ठिमीमा जथाभावी फोहोर फालेका कारण वातावरणमा नकारात्मक असर परेको र डडेल्धुराको अमरगढी नगरपालिकामा मानव बस्तीका बिचमा स्थानीयहरूको विरोधका बाबजुद जबरजस्ती डम्पिङ साइट बनाउन प्रयास गरेको भनी आयोगमा उजुरी परेको जनाइएको छ। यी दुवै विषयमा आयोगमा उजुरी दर्ता भई हाल कारबाहीको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिइएको छ।
अत: स्वच्छ, स्वस्थ र दिगो वातावरणमा बाँच्न पाउने हकको रक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिँदै आयोगले वातावरण प्रदूषणको जोखिमलाई गम्भीर रूपमा लिन सबैमा आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण