सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

आइतबार, २४ जेठ २०८३, २२ : ०५
आइतबार, २४ जेठ २०८३

काठमाडौँ । सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको र त्यसले विदेशी पर्यटकमा नकारात्मक असर परेको जनाउँदै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।

सङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “विसं २०८५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेसँगै हिमाली क्षेत्रमा देखिएको असुरक्षाप्रति आरोही मर्माहत भएका छौँ । नेपाल सरकारसमक्ष आफूलाई पर्न गएको समस्याप्रति धारणा सार्वजनिक गर्न सम्पूर्ण आरोहीलाई अनुरोध गर्दछौँ ।”

सङ्घले सगरमाथा आधार शिविरभन्दा माथि कार्यरत ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका–६ स्थायी ठेगाना भएका आरोही ५७ वर्षीय दावा शेर्पाको जीवनमा आइपरेको घटनाप्रति आरोही सङ्घसहित सम्पूर्ण आरोहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घले भनेको छ, “आरोही शेर्पाको परिवार स्रोतका अनुसार उद्धार कार्यमा सम्बन्धित ट्रेकिङ कम्पनीले बेवास्ता गरेको, खोजी गर्नुको सट्टा गैरजिम्मेवार अभिव्यक्ति दिएकोलगायत अन्य गुनासा छन् । दोस्रो आधार शिविरमा ‘कुक’का रूपमा कार्यरत आरोहीलाई चौथो आधार शिविरमा जान दबावमा पार्ने कार्य र ६ दिनसम्म बेपत्ता हुँदा उहाँको खोजी केकसरी गरियो भन्ने विषयमा उच्चस्तरीय छानबिन समिति गठन हुन जरुरी ठानेका छौँ ।”

हिमाली क्षेत्रमा कार्यरत आरोहीको सुरक्षाप्रति सङ्घ सदैव चनाखो रहने भएको जनाउँदै यस किसिमको दुर्घटनाबाट मानवीय जीवनमा परेको असरप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

साथै शेर्पाको परिवारमा सङ्घले ऐक्यबद्धता जनाउँदै सङ्घले भविष्यमा पुनः यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक कानुनको निर्माण गरिदिनका लागि माग सरकारसमक्ष गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप