सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक सङ्कटमा, बोरा किन्न नसक्दा उत्पादित सिमेन्ट गोदाममै थन्कियाे

सोमबार, २५ जेठ २०८३, १५ : १२
सोमबार, २५ जेठ २०८३

सारांश

  • राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक सङ्कटमा परेको छ, जसले गर्दा करोडौँ रुपैयाँ बराबरको सिमेन्ट गोदाममै थन्किएको छ ।
  • प्याकिङ बोरा किन्न नसक्दा करिब साढे ६ करोड रुपैयाँ बराबरको सिमेन्ट अलपत्र परेको छ, जसले उद्योगको आर्थिक अवस्था झनै कमजोर बनाएको छ ।
  • तलबभत्ता नपाएका कर्मचारी र मजदुर आन्दोलनमा उत्रिएका छन्, जसले उद्योगको भविष्यबारे चिन्ता बढाएको छ ।

काठमाडौँ । राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक सङ्कटमा फसेको छ । सामान्य प्याकिङ गर्न बोरा किन्न नसक्दा उत्पादन भइसकेको करोडौँ रुपैयाँ बराबरको सिमेन्ट समेत गोदाममै थन्किएको छ । 

उदयपुर सिमेन्ट उद्योगमा प्याकिङ बोरा अभाव हुँदा करिब साढे ६ करोड रुपैयाँ बराबरको सिमेन्ट अलपत्र परेको हो । देशकै पुरानो तथा सरकारी स्वामित्वको उद्योगमध्ये एक मानिने उदयपुर सिमेन्ट उद्योग अहिले आर्थिक सङ्कट, व्यवस्थापकीय कमजोरी र श्रमिक समस्याले थलिएको अवस्थामा पुगेको हो । 

उद्योगका अनुसार हाल उद्योग परिसरमा करिब ८२ हजार बोरा बराबरको सिमेन्ट मौज्दात रहेको छ । त्यसमध्ये करिब ५० हजार बोरा तयारी सिमेन्ट गोदाममै थन्किएको छ भने थप २७ हजार बोरा उत्पादन गर्न पुग्ने क्लिन्कर मौज्दात अवस्थामा रहेको जनाइएको छ । उत्पादन भएर तयार भइसकेको सिमेन्ट बजार पठाउन नसक्दा उद्योगको आर्थिक अवस्था झन् कमजोर बन्दै गएको छ ।

उद्योग प्रशासनले प्याकिङका लागि आवश्यक बोरा खरिद गर्नसमेत रकम अभाव भएको जनाएको छ । उद्योग प्रशासन प्रमुख गम्भिरजङ खत्रीका अनुसार प्रतिबाेरा ७ सय ७५ रुपैयाँका दरले हिसाब गर्दा हाल थन्किएको सिमेन्टको मूल्य करिब ६ करोड ३५ लाख रुपैयाँ पुग्ने बताइएको छ । उहाँका अनुसार उद्योग प्राविधिक कारणले नभई आर्थिक अभावका कारण बन्द अवस्थामा पुगेको हो ।

यता उत्पादन विभागले पटक–पटक बोरा व्यवस्थापन गर्न आग्रह गरे पनि प्रशासनबाट प्रभावकारी पहल नभएको गुनासो गरेको छ । समयमै प्याकिङ र व्यवस्थापन हुन नसक्दा प्याकिङ हाउसमा छरिएको झण्डै ५ हजार बोरा बराबरको सिमेन्ट पूर्ण रूपमा नष्ट भएको उद्योगको भनाइ छ ।

उद्योगमा कार्यरत कर्मचारी तथा मजदुरले करिब १५ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन् । दैनिक जीवन सञ्चालन गर्न कठिन भएपछि उनीहरू आन्दोलनमा उत्रिएका छन्। 

आर्थिक सङ्कट, मर्मत अभाव, श्रमिक आन्दोलन र कमजोर व्यवस्थापनका कारण उद्योग पूर्ण रूपमा बन्द अवस्थामा पुगेपछि यसको भविष्यलाई लिएर स्थानीयवासी तथा सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप