बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चालू आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने तयारीमा कोशी प्रदेश

बुधबार, २७ जेठ २०८३, १४ : ०५
बुधबार, २७ जेठ २०८३

सारांश

  • कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/४ का लागि चालू आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ ।
  • बजेट खर्चको प्रतिशत घटेकाले नगद मौज्दात बढेको र संघीय सरकारले दिने अनुदान रकम बढाएकाले करिब ३८ अर्बको हाराहारीको बजेट आउन सक्ने अनुमान छ ।
  • शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकता दिँदै निम्न मध्यम वर्ग तथा सुकुम्बासीलाई लक्षित गरी केही राहतका कार्यक्रम पनि ल्याइनेछ ।

काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/४ का लागि चालू आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ ।

चालू आर्थिक वर्षमा बजेट खर्चको प्रतिशत घटेकाले नगद मौज्दात बढेको र संघीय सरकारले दिने अनुदान रकम पनि बढाएकाले करिब ३८ अर्बको हाराहारीको बजेट आउन सक्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले जानकारी दिए । 

उनले प्रदेश प्रति जनआस्था बढाउने गरी शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याइएकाले सोही क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको बताए । 

संघीय सरकारले ल्याएको बजेटमा शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क र ५० युनिट भन्दा बढी बिजुली खपत गर्नेलाई ५ प्रतिशत भ्याट लगाउने नीति ल्याएपछि प्रदेश सरकारले निम्न मध्यम वर्ग तथा सुकुम्बासीलाई दृष्टिगत गरेर केही राहतका कार्यक्रम पनि ल्याउन लागेको मन्त्री लिङ्थेपले उल्लेख गरे । 

अघिल्लो वर्ष करिब ८० प्रतिशतसम्म बजेट खर्च भएकोमा चालू आर्थिक वर्षमा करिब ७० प्रतिशत मात्र बजेट खर्च हुने अनुमान छ । गत वैशाख मसान्त सम्म कोशी प्रदेश सरकारको सञ्चित कोषमा करिब १२ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ नगद मौज्दात रहेको बताइएको छ । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३६ अरब २ करोड २ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप