बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतका टप १० ‘भ्यालुएबल सेलिब्रेटी’ : बलिउड स्टारलाई पछि पार्दै कोहली पहिलो नम्बरमा

बुधबार, २७ जेठ २०८३, १४ : १२
बुधबार, २७ जेठ २०८३

सारांश

  • विराट कोहली भारतको सबैभन्दा मूल्यवान् सेलिब्रेटी बनेका छन्, जसको ब्रान्ड भ्यालु ३ हजार ५ सय ४२ करोड भारतीय रुपैयाँ पुगेको छ।
  • यो सूचीमा बलिउड स्टार शाहरुख खान दोस्रो र प्रियंका चोपडा जोनस तेस्रो स्थानमा छन्।
  • शीर्ष १० मा ३ जना क्रिकेटर र ७ जना चलचित्र क्षेत्रका सेलिब्रेटी अटाएका छन्।

नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका दिग्गज खेलाडी विराट कोहली भारतको सबैभन्दा मूल्यवान् सेलिब्रेटी बनेका छन्। 

‘फर्च्युन इन्डिया’ र ‘इन्टरब्रान्ड’ले संयुक्त रूपमा तयार पारेको देशका २५ सबैभन्दा मूल्यवान् सेलिब्रेटीहरूको सूचीमा कोहलीले बलिउडका ठुला स्टारहरूलाई पछि पार्दै पहिलो स्थान ओगटेका हुन्। अनुसन्धानअनुसार उनको ब्रान्ड भ्यालु ३ हजार ५ सय ४२ करोड भारतीय रुपैयाँ पुगेको छ।

यस सूचीको दोस्रो स्थानमा बलिउडका सुपरस्टार शाहरुख खान रहेका छन् भने तेस्रो स्थानमा अभिनेत्री प्रियंका चोपडा जोनस छिन्। अध्ययनले तयार पारेको शीर्ष १० को सूचीमा खेलकुद र चलचित्र क्षेत्रको वर्चस्व देखिएको छ। टप १० भित्र ३ जना क्रिकेटर र ७ जना चलचित्र क्षेत्रका सेलिब्रेटी अटाएका छन्।

सार्वजनिक भएको शीर्ष १० को सूचीअनुसार चौथो स्थानमा पूर्वक्रिकेटर महेन्द्र सिंह धोनी र पाँचौँ स्थानमा अभिनेता रणवीर सिंह रहेका छन्। त्यस्तै, छैटौँ स्थानमा अक्षय कुमार, सातौँमा अमिताभ बच्चन र आठौँ स्थानमा क्रिकेटका लेजेन्ड सचिन तेन्दुलकर रहेका छन्। यसैगरी, अभिनेत्री आलिया भट्ट नवौँ र साउथका सुपरस्टार अल्लु अर्जुन दसौँ स्थानमा पर्न सफल भएका छन्।

महिला सेलिब्रेटीहरूको कुरा गर्दा प्रियंका चोपडा समग्रमा तेस्रो र महिलातर्फ पहिलो स्थानमा छिन्। उत्कृष्ट २५ भित्र अन्य चर्चित महिला अनुहारहरूले पनि स्थान बनाएका छन्। जसमा अभिनेत्री दीपिका पादुकोण ११औँ र रश्मिका मन्दाना १७औँ स्थानमा रहेका छन्। 

यसबाहेक कृति सेनन, भारतीय महिला क्रिकेटर स्मृति मन्धाना र साउथ अभिनेत्री नयनतारा पनि यो मूल्यवान् सूचीमा अटाएका छन्। त्यस्तै, पन्जाबी गायक तथा अभिनेता दिलजित दोसाँझ, निर्देशक करण जोहर, पूर्वक्रिकेटर सौरभ गांगुली र अभिनेता विक्की कौशलको नाम पनि उत्कृष्ट २५ भित्र समावेश छ।

यी सेलिब्रेटीहरूको ब्रान्ड भ्यालु उनीहरूको कमाइ, सामाजिक सञ्जालका फलोअर्स वा बक्स अफिसको सफलताको आधारमा मात्र तय गरिएको होइन। अध्ययनका अनुसार ब्रान्डको तागत निर्धारण गर्ने विभिन्न महत्त्वपूर्ण पक्षहरूलाई मध्यनजर गरेर यो सूची तयार पारिएको हो। जसमा सेलिब्रेटीको विशिष्टता, सामञ्जस्यता, दर्शकसँगको जुडाव, विश्वास, आत्मीयता र उनीहरूले बहन गर्ने जिम्मेवारी जस्ता कुराहरूको गहिरो विश्लेषण गरेर मात्र अन्तिम ब्रान्ड भ्यालु तय गरिएको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप