रास्वपा लमजुङको सभापति निर्वाचनमा धाँधलीको आरोप, सभापतिका अरू उम्मेदवारले दिए उजुरी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको जिल्ला अधिवेशनमा धाँधली भएको आरोप लगाउँदै सभापतिका उम्मेदवारहरूले केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
- विधान अनुसार ५० प्रतिशतभन्दा बढी मत नआएमा पुनः मतदान हुनुपर्ने प्रावधानविपरीत एक उम्मेदवारलाई विजयी घोषणा गरिएको उम्मेदवारहरूको आरोप छ ।
- उम्मेदवारहरूले विजय घोषणा र पदबहाली खारेज गरी विधानबमोजिम पुनः निर्वाचनको माग गरेका छन् ।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको जिल्ला अधिवेशनमा धाँधली भएको आरोप सहित सभापतिका उम्मेदवारहरुले केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएका छन् । अधिवेशन अन्तर्गत जिल्ला सभापतिको पदमा भएको निर्वाचनमा धाँधली भएको उनीहरूको आरोप छ । निर्वाचन प्रक्रिया पार्टीको विधान र कार्यविधि विपरीत भएको भन्दै ३ जना उम्मेदवारले केन्द्रीय निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् ।
गत जेठ २४ गते सम्पन्न निर्वाचनमा जिल्ला सभापति पदका लागि ५ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । पार्टीको विधान २०७९ (तेस्रो संशोधन) को धारा ३३ (१) र निर्वाचन कार्यविधि २०८० को बुँदा १६ (क) मा सभापति पदमा निर्वाचित हुन कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने अनिवार्य व्यवस्था छ । उक्त व्यवस्थाअनुसार बहुमत प्राप्त नभएमा बढी मत ल्याउने दुई उम्मेदवारबिच पुनः मतदान हुनुपर्ने प्रावधान छ ।
जिल्ला निर्वाचन समितिका प्रमुख कृष्णकुमारी अधिकारीले कुल सदर मत १ सय ३४ मध्ये ६९ मत मात्र प्राप्त गरेका उम्मेदवार अशोक सापकोटालाई सभापति घोषणा गरेकी उनीहरूको आरोप छ । निर्वाचन परिणाम आएपछि निर्वाचन समितिले जेठ २५ गते बिहान ११ बजे दोस्रो चरणको निर्वाचन हुने घोषणा गरेको थियो । तर, अधिकांश प्रतिनिधि घर फर्किएको मौका छोपी अन्य चार उम्मेदवारको सहमति बिना नै सापकोटालाई विजयी घोषणा गरिएको र शपथसमेत खुवाइएको उम्मेदवारहरूको गुनासो छ ।
‘विधि र सुशासनलाई मूल आदर्श मान्ने हाम्रो पार्टीमा यस किसिमको कार्यशैलीले पार्टीको गरिमामा आँच पु¥याएको छ,’ उजुरीमा भनिएको छ । सापकोटाको विजय घोषणा र पदबहाली तत्काल खारेज गरी पार्टी विधान बमोजिम पुनः निर्वाचन गराउन उनीहरूको माग छ । सभापति उम्मेदवारहरू हरि बहादुर धिताल, विजय रन्जन पौडेल र नवराज पहाडीले संयुक्त रूपमा उजुरी दर्ता गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२७ को क्रिकेट विश्वकपको मिति तय : १४ टोली भिड्ने, दक्षिण अफ्रिकाले धेरै खेल आयोजना गर्ने
-
लागुऔषधसहित ३३ जना पक्राउ
-
गोदावरी नदीमा बगेर दुई महिलाको मृत्यु
-
इरानी आप्रवासीहरूलाई मध्य अफ्रिकी गणतन्त्र पठाउने तयारीमा अमेरिका
-
युरोपेली हतियार भारतविरुद्ध प्रयोग भइरहेका छन् : जयशङ्कर
-
सुनसरीको देवानगञ्जमा सबैभन्दा बढी बेरुजु, सोलुदुधकुण्ड बन्यो सुशासनको नमुना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण