जेफ्री एप्स्टिनले व्यक्तिगत सम्बन्ध बनाउन खोजेको बिल गेट्सको दाबी
सारांश
- बिल गेट्सले अमेरिकी संसदीय समितिसमक्ष आफू र जेफ्री एप्स्टिनबीच कहिल्यै व्यक्तिगत सम्बन्ध नरहेको बताएका छन् ।
- गेट्सले एप्स्टिनले धनसंकलनका लागि सम्पर्क गरेका केही प्रभावशाली व्यक्तिहरूको नाम समितिलाई दिएको र एप्स्टिनले आफ्नो वैवाहिक जीवनबाहिरका सम्बन्धबारे दबाब दिन खोजेको आरोप लगाए ।
- गेट्सले एप्स्टिनको निजी टापु, र्यान्च वा फ्लोरिडास्थित घरमा कहिल्यै नगएको र आफूले कसैलाई पीडित नबनाएको दाबी गर्दै एप्स्टिनले व्यक्तिगत सम्बन्ध बनाउन खोजेको तर आफूलाई त्यसमा रुचि नभएको बताए ।
क्यालिफोर्निया । अमेरिकी अर्बपति व्यवसायी बिल गेट्सले अमेरिकी संसदीय समितिसमक्ष आफू र यौन अपराधमा दोषी ठहरिएका जेफ्री एप्स्टिनबीच कहिल्यै व्यक्तिगत सम्बन्ध नरहेको बताएका छन् । बुधबार अमेरिकी संसदको निगरानी समितिसमक्ष बन्द–द्वार सुनुवाइमा स्वेच्छाले उपस्थित भएका गेट्सले आफ्नो परोपकारी अभियानका लागि धनसंकलन गरिदिने एप्स्टिनको वाचा पूरा नभएपछि आफूले उनीसँगको सम्बन्ध अन्त्य गरेको बताए ।
अमेरिकी राजधानी वासिङ्टनमा भएको सुनुवाइमा गेट्सले एप्स्टिनले धनसंकलनका लागि सम्पर्क गरेका केही प्रभावशाली व्यक्तिहरूको नामसमेत समितिलाई दिएको बताइएको छ । सुनुवाइका क्रममा उनले आफ्नो वैवाहिक जीवनबाहिरका सम्बन्धबारे पनि चर्चा गर्दै एप्स्टिनले त्यसलाई आफूलाई दबाब दिन प्रयोग गरेको आरोप लगाए । समितिका सदस्यहरूका अनुसार गेट्सको बयानले एप्स्टिन प्रभावशाली साथीहरू सङ्कलन गर्ने व्यक्ति रहेको र उनी शक्तिशाली व्यक्तिहरूसँग सम्बन्ध राखेर आफ्नो प्रभाव बढाउन खोज्ने गरेको देखाउँछ ।
प्रारम्भिक वक्तव्यमा गेट्सले आफूले एप्स्टिनलाई कुनै आपराधिक गतिविधिमा संलग्न देखेको वा त्यस्तो कुनै सङ्केत नपाएको बताए । आफू उनको निजी टापु, र्यान्च वा फ्लोरिडास्थित घरमा कहिल्यै नगएको अनि आफूले कसैलाई पीडित नबनाएको उनको दाबी थियो । ‘उनले व्यक्तिगत सम्बन्ध बनाउन खोजेका हुन सक्छन्, तर मलाई त्यसमा कुनै रुचि थिएन र मैले त्यसको प्रत्युत्तर कहिल्यै दिइनँ,’ उनले भने । गेट्सले एप्स्टिनका अपराधबाट प्रभावित व्यक्तिहरूले न्याय पाउनुपर्ने आशा पनि उनले व्यक्त गरे ।
चर्चित नेताहरू पनि समितिको प्रश्नको घेरामा
यसअघि पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन, अमेरिकी वाणिज्यमन्त्री हावर्ड लटनिक लगायत अन्य प्रभावशाली व्यक्तिहरूसँग पनि समितिले सोधपुछ गरिसकेको छ । जेफ्री एप्स्टिनले सन २०१९ मा मुद्दाको सुनुवाइको प्रतीक्षामा जेलमै आत्महत्या गरेका थिए । उनकी दीर्घकालीन सहयोगी घिस्लेन म्याक्सवेल हाल २० वर्षको जेल सजाय भोगिरहेकी छिन् । उनले गत फेब्रुअरीमा भर्चुअल रूपमा समितिसमक्ष उपस्थित भए पनि प्रश्नहरूको उत्तर दिन अस्वीकार गरेकी थिइन् ।
यस वर्ष जनवरीमा अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेका एप्स्टिनसम्बन्धी लाखौँ पृष्ठका कागजातहरूमा बिल गेट्सको नाम हजारौँ पटक उल्लेख भएको थियो । केही तस्वीरहरूमा उनी एप्स्टिनसँगै देखिएका थिए । गेट्सले कुनै पनि गैरकानुनी कार्यमा संलग्नता अस्वीकार गर्दै आफूलाई एप्स्टिनका अपराधबारे जानकारी नभएको बताएका छन् । ‘उनीसँग बिताएको हरेक मिनेटप्रति पछुतो छ’ उनले भने ।
गेट्सले यसअघि दिएको अन्तर्वार्ताको स्मरण गर्दै एप्स्टिनसँग भेटघाट गर्नु आफ्नो कमजोर निर्णय भएको स्वीकार गरेका थिए । उनले भने, ‘उनीसँग परिचित भएकोमा पछुतो मान्ने धेरै व्यक्तिमध्ये म पनि एक हुँ,’ । न्याय मन्त्रालयले सार्वजनिक गरेको एउटा तस्वीरमा गेट्स एप्स्टिनको निजी विमान नजिक देखिएका छन् । गेट्सले आफूले एकपटक एप्स्टिनको निजी जेट विमानमा यात्रा गरेको स्वीकार गरेका छन् ।
सार्वजनिक गरिएका केही इमेल मस्यौदाहरूमा एप्स्टिनले गेट्सको निजी जीवनबारे विभिन्न दाबी गरेका छन्। ती दाबीहरूमा विवाहित महिलासँग सम्बन्ध मिलाइदिएको, रुसी महिलामार्फत यौनजन्य सङ्क्रमण भएको तथा त्यसको उपचारका लागि औषधि उपलब्ध गराएको जस्ता आरोप समावेश छन् । अर्को इमेलमा गेट्सले आफ्नी तत्कालीन पत्नी मेलिन्डा गेट्सलाई थाहा नदिई एन्टिबायोटिक दिन खोजेको दाबी गरिएको छ । गेट्सले यी आरोपहरू अस्वीकार गरेका छन् । यद्यपि उनले दुई रुसी महिलासँग विवाहबाहिर सम्बन्ध रहेको स्वीकार गरेका छन् । ‘एप्स्टिनले मेरा विवाहबाहिरका सम्बन्धबारे जानकारी र त्यसमा थपिएका धेरै झूटा कथाहरू प्रयोग गरेर मलाई फेरि सम्पर्कमा ल्याउन दबाब दिइरहेका थिए,’ उनले समितिलाई भने ।
कसरी सुरु भयो सम्बन्ध ?
गेट्सका अनुसार उनीहरूको सम्बन्ध सन २०११ मा सुरु भएको थियो, जुन एप्स्टिन फ्लोरिडामा वेश्यावृत्तिसम्बन्धी दुई अभियोगमा दोषी ठहरिएको तीन वर्षपछि भएको थियो । दुवैले विश्व स्वास्थ्यसम्बन्धी गेट्सका परोपकारी परियोजनाका लागि सम्भावित धनसंकलनबारे छलफल गरेका थिए । गेट्सले सुरुदेखि नै एप्स्टिनलाई आफ्नो फाउन्डेसनको काममा कुनै भूमिका नदिइने र कुनै पारिश्रमिक पनि नपाउने स्पष्ट पारेको बताए । तर सन २०१४ मा एप्स्टिनले सम्भावित दाताहरूको समूहसँग भेट गराएपछि पनि कुनै सहयोग नआएपछि उनले सम्बन्ध अन्त्य गर्ने निर्णय गरे । ‘त्यतिबेला मैले बुझें कि एप्स्टिनले गरेका वाचाहरू पूरा हुने छैनन्। त्यसपछि मैले उनीसँग सम्पर्क र भेटघाट दुवै बन्द गरेँ,’गेट्सले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक बम विस्फोटको घटनामा दुई जनालाई मृत्युदण्ड
-
जसलाई चुनाव हराउन ठुला एआई कम्पनीहरूले अर्बौँ खर्च गर्दैछन्
-
उपत्यकाको दक्षिणकाली क्षेत्रमा धान रोपाइँ सुरु, तस्बिरहरू
-
विश्वकप २०२६ को अनधिकृत प्रसारण रोक्न प्राधिकरणको निर्देशन, यी ३५ वेबसाइट र एप ब्लक गरिँदै
-
जेनजी आन्दोलनमा थुनाबाट भागेका दुई जना फरार प्रतिवादी पक्राउ
-
राज्य व्यवस्था तथा सुशासन समितिले गरेका यी हुन् चार निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण