बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय हित र स्वाभिमानको विषयमा सम्झौता हुँदैन, त्यसैले संसद् अवरुद्ध गरेका हौँ : डा. दंगाल

बिहीबार, २८ जेठ २०८३, १८ : १४
बिहीबार, २८ जेठ २०८३

सारांश

  • नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता डा. प्रेमप्रसाद दंगालले राष्ट्रिय हित र स्वाभिमानको विषयमा सम्झौता गर्न नसकिने बताएका छन्।
  • उनले राष्ट्रिय हित विपरीतका अभिव्यक्तिहरू स्वीकार्य नहुने भन्दै प्रतिनिधि सभामा 'नेपालले पनि भारतको भूमि मिचेको छ' भन्ने भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरे।
  • नेता दंगालले सुकुमबासी बस्तीमा डोजर चलाएको विरोध गर्दै सरकारले जनताका आधारभूत समस्या समाधानमा जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

काठमाडौँ । नेकपा (एमाले)का राष्ट्रिय सभा संसदीय दलका नेता डा. प्रेमप्रसाद दंगालले राष्ट्रिय हित र स्वाभिमानको विषयमा कुनै पनि हालतमा सम्झौता गर्न नसकिने बताएका छन्।

राष्ट्रिय हित विपरीतका कुरा आएकाले नै प्रतिपक्षी दलहरूले राष्ट्रिय सभाको बैठक अवरुद्ध गर्नुपरेको उनले प्रष्ट पारेका हुन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै नेता दंगालले नीति तथा विधेयकमाथि छलफल गर्ने विषयमा सभा सधैँ गम्भीर र सकारात्मक भए पनि राष्ट्रिय हित विपरीतका अभिव्यक्तिहरू कहिल्यै स्वीकार्य नहुने स्पष्ट पारे। प्रतिनिधि सभामा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनेर दिएको अभिव्यक्ति कुनै पनि हालतमा मान्य नहुने भन्दै उनले उक्त गैरजिम्मेवारपूर्ण भनाइलाई संसद्को रेकर्डबाट तत्काल हटाउन माग गरे।

बैठकमा आफ्नो धारणा राख्दै उनले भने, ‘विधेयक पास गर्ने कुरा ठिक छ, विधेयक पास गरौँला। अरू नीतिको विषयमा पनि बहस गरेर पारित गरौँला। तर सबैभन्दा ठुलो कुरा भनेको हाम्रो राष्ट्रिय हित हो। यसमा हामी चुप लागेर बस्न र टुलुटुलु हेर्न सक्दैन्थ्यौ। राष्ट्रिय सभा त अर्कै दुनियाँ हो भनेर हामी बस्न सक्दैनौँ। प्रतिनिधि सभाबाट पठाउनुस्, त्यहाँबाट आउने सबै प्रकारका विधेयकहरू हामी परिष्कृत गरेर पटाउँछौँ। तर सबैभन्दा ठुलो हामी सबैको लागि राष्ट्रिय हित र स्वाभिमान नै हो। त्यसकारण सदन अवरुद्ध गर्नुपर्ने अवस्था बन्यो।’

यसैगरी नेता दंगालले सुकुमबासी बस्तीमाथि सरकारले चलाएको डोजर आतङ्कको विरोध गर्दै यस्ता प्रवृत्ति रोक्न माग गरे। सरकारले आफ्ना नीति तथा कार्यक्रमहरूलाई बेवारिसे छोडेको आरोप लगाउँदै उनले जनताका आधारभूत समस्या समाधान गर्न र राष्ट्रिय गौरवका विषयमा जिम्मेवार बन्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप