बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अण्डाकाे मूल्यमा वृद्धि

एकै महिनामा चार पटक बढ्यो अण्डाको मूल्य, प्रति क्रेट ४५ रुपैयाँले महँगियो

बिहीबार, २८ जेठ २०८३, १८ : ५३
बिहीबार, २८ जेठ २०८३

सारांश

  • नेपाल लेयर्स कुखुरापालक सङ्घले जेठ महिनामा मात्रै अण्डाको समर्थन बिक्री मूल्य चार पटक वृद्धि गरेको छ ।
  • यस निर्णयसँगै जेठ महिनाभरिमा एक्सएल, ठुलो र मिडियम साइजका अण्डाको फार्म मूल्य प्रति क्रेट कुल ४५ रुपैयाँले वृद्धि भएको छ ।
  • यसरी छोटो अवधिमै उत्पादक तहको मूल्यमा लगातार वृद्धि भए तापनि उपभोक्ताका लागि प्रति गोटा तोकिएको सिफारिस मूल्य भने २५ रुपैयाँ नै यथावत् राखिएको छ ।

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक सङ्घले जेठ महिनामा मात्रै अण्डाको समर्थन बिक्री मूल्य चार पटक वृद्धि गरेको छ । सङ्घले जेठ ३ गतेदेखि जेठ २८ गतेसम्मको अवधिमा विभिन्न चरणमा भौतिक तथा भर्चुअल बैठकहरू आयोजना गरी चितवनलाई आधार मानेर नयाँ फार्म समर्थन मूल्य निर्धारण गरेको हो ।

यस निर्णयसँगै जेठ महिनाभरिमा (एक्सएल) सबैभन्दा ठुलो, ठुलो र मिडियम साइजका अण्डाको फार्म मूल्य प्रति क्रेट कुल ४५ रुपैयाँले वृद्धि भएको छ भने सानो अण्डाको मूल्य प्रति पेटी ५०० रुपैयाँले बढेको छ ।

यो महिनामा मात्रै  जेठ ४ गतेदेखि लागू हुने गरी  एक्सएल  अण्डाको मूल्य प्रति क्रेट ५३० रुपैयाँ, ठुलो अण्डाको ५१५ रुपैयाँ, मिडियम अण्डाको ४८५ रुपैयाँ र सानो अण्डाको प्रति पेटी २ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो।  

त्यसको केही दिनपछि जेठ ११ गते बनेपा र काठमाडौँमा भएको बैठकले पुनः मूल्य वृद्धि गर्दै जेठ १२ गतेदेखि लागू हुने गरी एक्सएल अण्डाको प्रति क्रेट ५४५ रुपैयाँ, ठुलो अण्डाको ५३० रुपैयाँ, मिडियमको ५०० रुपैयाँ र सानो अण्डाको प्रति क्रेट ४०० रुपैयाँ तोकेको थियो ।

मूल्य वृद्धिको यो क्रम महिनाको बीचमा पनि जारी रह्यो । जेठ २२ गते काठमाडौँमा भएको बैठकको सिफारिसअनुसार जेठ २३ गतेदेखि लागू हुने गरी तेस्रो पटक मूल्य बढाएर एक्सएल अण्डाको मूल्य प्रति क्रेट ५६० रुपैयाँ, ठुलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५१५ रुपैयाँ र सानो अण्डाको मूल्य प्रति पेटी ३ हजार रुपैयाँ तोकियो ।

 फेरी जेठ २८ गतेको बैठकले सोही दिनदेखि लागू हुने गरी चौथो पटक मूल्य संशोधन गर्दै एक्सएल अण्डाको प्रति क्रेट ५७५ रुपैयाँ, ठुलो अण्डाको ५६० रुपैयाँ, मिडियम अण्डाको ५३० रुपैयाँ र सानो अण्डाको प्रति पेटी ३ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ।

यसरी छोटो अवधिमै उत्पादक तहको मूल्यमा लगातार वृद्धि भए तापनि उपभोक्ताका लागि प्रति गोटा तोकिएको सिफारिस मूल्य भने २५ रुपैयाँ नै यथावत् राखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप