नेसनल कलेजले सुरु गर्यो अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिसम्बन्धी ‘बर्ड’ कार्यक्रम
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयसँग आबद्ध नेसनल कलेजले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिसम्बन्धी ब्यासलर इन इन्टरनेश्लन रिलेसन एण्ड डिप्लोमेसी ‘बर्ड’ नामक नयाँ स्नातक तहको कार्यक्रम सुरु गरेको छ।
कूटनीति, अन्तर्राष्ट्रिय मामिला, विदेश नीति, व्यापार र अर्थराजनीति र भूराजनीतिको क्षेत्रमा विद्यार्थीहरूलाई करिअरका लागि तयार गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो।
काठमाडौँको धुम्बाराहीस्थित कलेज परिसरमा बिहीबार आयोजित एक विशेष समारोहमा कूटनीतिज्ञ, विदेश नीतिविद्, शिक्षाविद्, सरकारी अधिकारी तथा विद्यार्थीहरूको उपस्थितिमा उक्त कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो।
विशिष्ट अतिथिका रूपमा बोल्दै वरिष्ठ विदेश नीति विज्ञ तथा नेपालका लागि अमेरिकाका पूर्व राजदूत प्राध्यापक डा. श्रीधर खत्रीले नेपालमा व्यावसायिक रूपमा प्रशिक्षित कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय मामिला विज्ञको बढ्दो आवश्यकतामा जोड दिए ।
डा. खत्रीले भने, “आजको विश्व झन् बढी अन्तरसम्बन्धित भइरहेको छ, र देशहरूलाई यस्ता पेसागत आवश्यकता छ जसले एकैसाथ विश्व राजनीति, अर्थशास्त्र, सुरक्षा र संस्कृतिलाई बुझ्न सकुन् । नेपाललाई विश्व मञ्चमा देशको हित प्रभावकारी रूपमा प्रस्तुत गर्न कूटनीतिपूर्ण सीप र अन्तर्राष्ट्रिय परिप्रेक्ष्यले सुसज्जित युवा चाहिन्छ ।”
उनले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा विशिष्ट स्नातक उपाधि सुरु गरेकोमा नेसनल कलेजको प्रशंसा गर्दै यस्ता शैक्षिक पहलले भविष्यमा नेपालको विदेश नीतिको क्षमता अभिवृद्धिमा योगदान पुर्याउने बताए । “बर्ड कार्यक्रमको स्थापना समयसापेक्ष कदम हो । यसले समकालीन अन्तर्राष्ट्रिय मामिलाका जटिलतासँग संलग्न हुन सक्षम सूचित र दक्ष पेसाकर्मीको नयाँ पुस्ता विकास गर्न मद्दत पुर्याउनेछ,” उनले थपे ।
नेसनल कलेजका प्रिन्सिपल माधवप्रसाद न्यौपानेले यो कार्यक्रमले नेपालको उच्च शिक्षा प्रणालीको लामो अन्तरलाई सम्बोधन गरेको बताए, जहाँ कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा रुचि राख्ने विद्यार्थीहरूले विशिष्ट स्नातक अध्ययनका लागि सीमित अवसर पाउँदै आएका थिए ।
कार्यक्रममा ‘बर्ड’की कार्यक्रम प्रमुख श्वेता कार्कीले कार्यक्रमको शैक्षिक दृष्टिकोण र पाठ्यक्रम प्रस्तुत गरिन्। उनले यो उपाधिले सैद्धान्तिक जगलाई व्यावहारिक शिक्षा अनुभवहरू–जसमा कूटनीतिक सिमुलेसन, क्षेत्र भ्रमण, इन्टर्नसिप र नीति विश्लेषण अभ्यासहरू समावेश छन्–सँग जोड्ने बताइन् ।

पूर्व कूटनीतिज्ञ डा. दिनेश भट्टराई, विदेश मामिला विश्लेषक डा. निश्चलनाथ पाण्डे, तथा सेवानिवृत्त प्रमुख सेनानी डा. पूर्णबहादुर सिलवालले पनि समारोहमा सम्बोधन गरे । वक्ताहरूले द्रुत गतिमा बदलिँदो विश्व परिवेशमा संस्थागत कूटनीतिक शिक्षाको महत्वलाई जोड दिँदै ‘बर्ड’ कार्यक्रमले प्रयोगात्मक पक्षलाई अँगालेको भन्दै बधाई ज्ञापन गरे ।
प्रमुख अतिथि तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्सका पूर्व डीन प्राध्यापक डा. महेश बास्कोटाले ‘बर्ड’ कार्यक्रम सुरु गरेकोमा नेसनल कलेजलाई बधाई दिँदै यसले नेपालमा अनुसन्धान, नीति विश्लेषण र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमको समापनमा कलेजका अध्यक्ष डा. बद्रीदेव पाण्डेले काठमाडौँ विश्वविद्यालय, प्रतिष्ठित अतिथिहरू, कूटनीतिज्ञहरू, प्राध्यापकहरू र विकास साझेदारहरूलाई सहयोगका लागि धन्यवाद दिए । उनले नवीन र अभ्यासमुखी शिक्षामार्फत विश्वस्तरीय सक्षम स्नातक उत्पादन गर्ने कलेजको प्रतिबद्धता दोहोर्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा र सिद्धबाबाबाहेक थप नयाँ सात सुरुङको अध्ययन गरिँदै, कुनको बजेट कति ?
-
युएईका राजदूत र परराष्ट्र सचिवबिच भेटवार्ता, भिसा सहजीकरण र आर्थिक सहकार्यमा छलफल
-
विश्वकप २०२६ को उद्घाटन : के–के छन् यस प्रतियोगिताका रोचक पक्ष ?
-
कर्णालीमा ६ वटा निर्देशनालय खारेज, जिल्ला कार्यालयमा रूपान्तरण
-
अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
-
दिपक भट्टको बयान, ‘दुबई र सिंगापुरमा घर किनेको छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण