चेक रिपब्लिकमाथि दक्षिण कोरिया हाबी, यस्तो छ खेलको तथ्याङ्क
सारांश
- दक्षिण कोरियाले फिफा विश्वकप २०२६ को खेलमा चेक रिपब्लिकलाई २-१ ले पराजित गरेको छ ।
- चेक रिपब्लिकले अग्रता लिए पनि दक्षिण कोरियाले ह्वाङ इन-बोम र ओह ह्योन-ग्युको गोलमा पुनरागमन जित निकालेको छ ।
- दक्षिण कोरियाले बल नियन्त्रण, पासिङ र आक्रमणमा प्रभुत्व जमाउँदै २-१ को जित हासिल गर्यो ।
मेक्सिकाे सिटी । ग्वाडालाजारामा शुक्रबार भएको फिफा विश्वकप २०२६ को समूह ‘ए’ अन्तर्गतको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक हात पारेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेक रिपब्लिकले अग्रता लिए पनि दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै जित सुनिश्चित गर्यो ।
खेलको टर्निङ प्वाइन्ट
५९औँ मिनेटमा लाडिस्लाभ क्रेइचीले लामो थ्रो–इनबाट आएको बललाई हेडमार्फत गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । तर दक्षिण कोरिया धेरै बेर दबाबमा रहेन । ६७औँ मिनेटमा मिडफिल्डर ह्वाङ इन–बोमले व्यक्तिगत कौशल प्रदर्शन गर्दै शानदार गोल गरे र खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि ८०औँ मिनेटमा विकल्प खेलाडी ओह ह्योन–ग्युले विजयी गोल गर्दै दक्षिण कोरियाको पुनरागमन पूरा गरे ।
ह्वाङ इन–बोम बने नायक
दक्षिण कोरियाको जितमा ह्वाङ इन–बोम सबैभन्दा प्रभावशाली खेलाडी देखिए । उनले बराबरी गोल मात्र गरेनन्, दोस्रो गोलको निर्माणमा पनि महत्त्वपूर्ण भूमिका खेले । कप्तान सन ह्युङ–मिन र ली काङ–इनले पनि आक्रमणमा निरन्तर दबाब सिर्जना गरे ।
चेक रिपब्लिकको रणनीति असफल
चेक रिपब्लिकले शारीरिक खेल र सेट–पिसमा भर पर्दै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । दोस्रो हाफमा टोलीको गति खस्किएको देखियो र दक्षिण कोरियाको मिडफिल्डमा गतिलो पकडका कारण चेक रिपब्लिकलाई खेलमा फर्किन कठिन भयो । अन्तिम समयमा चेक रिपब्लिकले अवसर पाए पनि कोरियाली गोलरक्षक किम स्युङ–ग्युले महत्त्वपूर्ण बचाउ गरे ।
तथ्याङ्कमा पनि दक्षिण कोरिया हाबी
दक्षिण कोरियाले २–१ को पुनरागमन जित निकाल्दै गर्दा बल नियन्त्रण, पासिङ र आक्रमणमा आफ्नो प्रभुत्व देखायो । दक्षिण कोरियाले करिब ६२ प्रतिशत बल नियन्त्रण राख्दै १५ प्रहार ग¥यो, जसमा ७ प्रहार लक्ष्यतर्फ सोजिए । चेक रिपब्लिकले ८ प्रहारमध्ये ४ लाई लक्ष्यमा पुर्यायो । पास सफलताको दरमा पनि दक्षिण कोरिया अगाडि रह्यो, जहाँ उसले करिब ८७ प्रतिशत सफल पास पूरा गर्दा चेक रिपब्लिकको दर करिब ७० प्रतिशत रह्यो । दक्षिण कोरियाले ४७३ पास खेल्दा चेक रिपब्लिकले ३१४ पास खेल्यो । खेल शारीरिक रूपमा प्रतिस्पर्धात्मक बनेको थियो, जसमा चेक रिपब्लिकले १६ र दक्षिण कोरियाले ९ फाउल गरे ।
खेलमा कुनै रातो कार्ड देखाउन परेन । नदेखिए पनि दक्षिण कोरियाले १ पहेँलो कार्ड पायो । कर्नरमा दक्षिण कोरिया ४ र चेक रिपब्लिक ५ रहे भने अफसाइडको संख्या २–२ रह्यो ।
रंगशालाको खाली सिट पनि चर्चा
खेलको अर्को चर्चित पक्ष रंगशालामा देखिएको ठुलो संख्यामा खाली सिट रह्यो । सामाजिक सञ्जालमा समर्थकहरूले टिकट मूल्य अत्यधिक महँगो भएको भन्दै आलोचना गरेका छन् । विश्वकप जस्तो प्रतियोगितामा पनि दर्शक उपस्थिति अपेक्षाभन्दा कम देखिनु आयोजक फिफाका लागि चिन्ताको विषय बनेको छ ।
समूह ‘ए’ को समीकरण
यस जितसँगै दक्षिण कोरियाले विश्वकप अभियान सकारात्मक रूपमा सुरु गरेको छ । चेक रिपब्लिकले भने सुरुआती हारपछि आगामी खेलहरूमा दबाब महसुस गर्नेछ । समूह चरणमा अगाडि बढ्ने सम्भावना कायम राख्न चेक रिपब्लिकलाई अब बाँकी खेलमा राम्रो नतिजा आवश्यक पर्नेछ । अब दुवै टिमले समूहका अन्य मेक्सिको र दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछन् । विश्वकपको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध २–०को जीत दर्ता गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसवादी दलको अवसान स्वाभाविक होइन : शैलेन्द्र साह
-
बजेटमा चुहावट भएको भन्दै वर्षमानले मागे संसदीय छानबिन समिति
-
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
-
चुनावले मधेसवादी दलहरूलाई ठुलो पाठ सिकाएको छ : डा. हरिवंश झा
-
प्रसारण लाइन र विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता अपरिहार्य : कामु कार्यकारी निर्देशक श्रेष्ठ
-
कालिकोटमा भारतको सहयोगमा विद्यालय भवन शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण