शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

१३ वर्षपछि रियल मड्रिडमा मरिन्होको पुनरागमन

पोर्चुगिज प्रशिक्षकसँग तीन वर्षको सम्झौता
शुक्रबार, २९ जेठ २०८३, १० : ३२
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • स्पेनिस फुटबल क्लब रियल मड्रिडले पूर्व प्रशिक्षक जोसे मरिन्होलाई पुनः मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
  • ६३ वर्षीय पोर्चुगिज प्रशिक्षक मरिन्होले क्लबसँग तीन वर्षको सम्झौता गरेका छन् र आगामी जुलाई १३ मा कार्यभार सम्हाल्ने छन्।
  • यसअघि सन् २०१० देखि २०१३ सम्म रियल मड्रिड सम्हाल्दा मरिन्होले एक ला लिगा, एक कोपा डेल रे र एक स्पेनिस सुपर कप जिताएका थिए।

म्याड्रिड । स्पेनिस फुटबल क्लब रियल मड्रिडले आफ्ना पूर्व प्रशिक्षक जोसे मरिन्होलाई पुनः मुख्य प्रशिक्षकमा नियुक्त गरेको पुष्टि गरेको छ। ६३ वर्षीय पोर्चुगिज प्रशिक्षक मरिन्होले क्लबसँग तीन वर्षको सम्झौता गरेका छन्। 

उनी आगामी जुलाई १३ मा टोली प्रि-सिजन प्रशिक्षणका लागि फर्किएसँगै आफ्नो कार्यभार सम्हाल्ने छन्। रियलले मरिन्होलाई सान्टियागो बर्नाबेउ फर्काउन उनको हालैको क्लब बेन्फिकालाई १५ मिलियन युरो क्षतिपूर्ति बुझाएको छ। यो मरिन्होको रियल मड्रिडमा दोस्रो इनिङ्स हो, यसअघि १३ वर्ष अगाडि उनको पहिलो कार्यकाल सकिएको थियो।

यसै महिना भएको क्लबको चुनावी प्रतिस्पर्धामा ६५ प्रतिशत मत ल्याएर पुनः अध्यक्ष चुनिएका ७९ वर्षीय फ्लोरेन्टिनो पेरेजले चुनाव जितेमा मरिन्होलाई फर्काउने वाचा गरेका थिए। प्रतिद्वन्द्वी एनरिक रिक्वेल्मेलाई पराजित गर्दै पेरेज पुनः शक्तिमा आएपछि मरिन्होका लागि ढोका खुलेको हो। 

पोर्टो र इन्टर मिलानलाई च्याम्पियन्स लिगको उपाधि दिलाइसकेका मरिन्हो अब कीर्तिमानी १५ पटकको युरोपेली विजेता क्लबमा फर्किएका छन्। यसअघि सन् २०१० देखि २०१३ सम्म रियल मड्रिड सम्हाल्दा उनले एक ला लिगा, एक कोपा डेल रे र एक स्पेनिस सुपर कप जिताएका थिए।

मड्रिड छाडेपछि मरिन्होले प्रिमियर लिग क्लबहरू चेल्सी, म्यानचेस्टर युनाइटेड र टोटनहमका साथै रोमा, फेनेरबाचे र बेन्फिकाको प्रशिक्षण सम्हालेका थिए। बेन्फिकामा आफ्नो दोस्रो कार्यकालको एकमात्र सिजनमा उनले टोलीलाई लिग पोर्चुगलमा अपराजित राखे पनि टोली तेस्रो स्थानमा मात्र सीमित भएको थियो। 

बेन्फिकाले मरिन्होको स्थानमा पूर्व फुलहम म्यानेजर मार्को सिल्भालाई नियुक्त गरिसकेको छ। विगत दुई सिजनदेखि कुनै पनि उपाधि जित्न नसकेको रियल मड्रिडले गत जनवरीमा जाबी अलोन्सोसँगको सहकार्य तोडेको थियो र सिजनको अन्त्यसम्म अल्भारो आर्बेलोआले अन्तरिम रूपमा टोली सम्हालेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप