हतियारसहित भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयको विरोध
सारांश
- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका छन्।
- स्थानीयका अनुसार भारतीय सशस्त्र सीमा बल (एसएसबी) का करिब ६ जना सुरक्षाकर्मी उखु खेती रहेको क्षेत्रमा पुगेपछि स्थानीयले विरोध जनाएका थिए।
- सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार भारतीय सुरक्षाकर्मीले आफ्नो बाटो बिग्रिएकाले अस्थायी रूपमा नेपाली खेतको आलि प्रयोग गरेको जानकारी गराएका थिए।
बुटवल । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा आज बिहान भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका छन्।
स्थानीयका अनुसार भारतीय सशस्त्र सीमा बल (एसएसबी) का करिब ६ जना सुरक्षाकर्मी हतियारसहित नेपाली भूमितर्फ आएका थिए। उनीहरू उखु खेती रहेको क्षेत्रमा पुगेपछि स्थानीय किसान तथा बासिन्दाले कारण सोध्दै विरोध जनाएका थिए। त्यसक्रममा केही समय विवादसमेत भएको बताइएको छ।
स्थानीयको विरोधपछि भारतीय सुरक्षाकर्मी फर्किएका थिए। घटनापछि सीमा क्षेत्रमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो।
नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले भारतीय सुरक्षाकर्मी नियमित गस्तीका क्रममा भारतीयतर्फ रहेको एउटा कल्भर्ट भत्किएपछि उनीहरूले वैकल्पिक रूपमा नेपाली किसानको उखुबारीको आलि प्रयोग गर्ने क्रममा विवाद भएको बताए ।
भण्डारीले भारतीय सुरक्षाकर्मीले आफ्नो बाटो बिग्रिएकाले अस्थायी रूपमा नेपाली खेतको आलि प्रयोग गरेको जानकारी स्थानीय किसानलाईसमेत गराएको बताए। साथै, उनीहरूलाई भारतीय क्षेत्रकै बाटो मर्मत गरी प्रयोग गर्न निर्देशन दिइएको पनि उनले जानकारी दिए।
केही दिनअघि सुस्तामै भारतीय सुरक्षाकर्मीले तटबन्ध निर्माणमा अवरोध गरेको विषय सार्वजनिक भएको थियो। तर, सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीका अनुसार आजको घटना र त्यसअघिको तटबन्ध विवाद एउटै वडाभित्र परे पनि फरक स्थानका हुन्।
घटनाबारे स्थानीय प्रशासनले आवश्यक जानकारी संकलन गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) को पाँचौँ पदाधिकारी बैठक सुरु
-
बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष पक्राउ
-
देउवाको क्रियाशील सदस्यता अध्यावधिक गरेको कार्ड भाइरल, सचिवालय भन्छ– ‘भ्रामक’
-
पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा
-
रास्वपा सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी के छ ?
-
सांसदसँग अर्थमन्त्रीले भने– ‘विनियोजन पातलै थियो, पढेर आउनुभएको भए हुन्थ्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण