चीन भ्रमणको कूटनीतिक टेबलमा ‘लिपुलेक–कालापानी’ उच्चारण गर्न खुश्बुको सुझाव
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव दिएकी छन्।
- ओलीले भारत भ्रमणको क्रममा सीमाको कुरा नउठाएकोमा आपत्ति जनाउँदै चीन भ्रमणमा भने लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो भनी स्पष्ट रूपमा राख्न सचेत गराएकी हुन्।
- उनले सरकार आफैँ स्पष्ट भएर छिमेकी मुलुकहरूसँग बलियो कूटनीतिक संवाद अगाडि बढाउनुपर्नेमा जोड दिइन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव दिएकी छन्।
परराष्ट्रमन्त्री खनालले भारत भ्रमणको क्रममा सीमाको कुरा नउठाएकोमा कडा आपत्ति जनाउँदै उनले चीन भ्रमणमा भने यस विषयलाई स्पष्ट रूपमा राख्न सचेत गराएकी हुन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले परराष्ट्रमन्त्री खनालले संसदमा समेत सीमा समस्या नभई सीमा व्यवस्थापनको मात्र कुरा गरेर यसको गम्भीरतालाई नबुझेको जिकिर गरिन्। उनले सीमा व्यवस्थापन र सीमा विवादबारे सांसदहरूले पनि थप अध्ययन गरेर धारणा बनाउन आवश्यक रहेको उल्लेख गरिन्।
संसद्मा बोल्दै प्रमुख सचेतक ओलीले भनिन्– ‘दिल्लीको औपचारिक वार्ताहरूमा कहीँ कतै पनि सीमाको विषय उठाइनुभएन। यतिसम्मकी नेपाली पक्षले निकालेको कुनै पनि प्रेस विज्ञप्तिमा सीमा विवादको विषयमा एक शब्द पनि उठेन। भ्रमण सकिएपछि दिल्लीमा पत्रकारहरूसँग बन्द कोठामा केही कुरा उठाउनुभयो र काठमाडौँ फर्केपछि एक प्रेस नोट दिनुभयो। त्यसमा पनि एक शब्द सीमा विवादबारे छैन।’
उनले थपिन्– ‘पछि पत्रकारले सोधेपछि मात्र केही बोल्न बाध्य हुनुभयो। संसदमा पनि उहाँले सीमा विवादको बारेमा कुरा उठाउनुभएन। खाली सीमा व्यवस्थापनको नियमित काम जस्तो जङ्गे पिलरको व्यवस्थापन र त्यसको बैठकको विषय उठाउनुभएको छ।’
उनले सीमा व्यवस्थापन र नेपाली नक्साको विषय फरक भएको स्पष्ट पारिन्। विगत ७ वर्षमा नेपालले लेख्ने प्रेस विज्ञप्तिहरूमा सीमाको विवाद जहिले पनि रहने गरेकोमा पहिलो पटक सरकारी प्रेस नोटबाट यो हटेको भन्दै उनले संसद्को ध्यानाकर्षण गराइन्।
उनले भनिन्– ‘परराष्ट्रमन्त्री फेरि पनि चीन जाँदै हुनुहुन्छ। उहाँले जसरी एउटा बन्द कोठामा मिडियामा सशक्त रूपले लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो भनेर भन्नुभयो, त्यो अब उहाँ मित्रराष्ट्र चीनमा जाँदै हुनुहुन्छ। त्यहाँको प्रेस नोटमा, त्यहाँको डिप्लोम्याटिक टेबलमा यी शब्दहरू उच्चारण होस् भन्ने शुभकामना पनि दिन चाहन्छु।’
प्रमुख सचेतक ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा सरकार आफैँ स्पष्ट भएर छिमेकी मुलुकहरूसँग बलियो कूटनीतिक संवाद अगाडि बढाउनुपर्नेमा जोड दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक
-
विकासको नाममा ऋण बढाउने होडबाजी रोकौँ, बरु योजनाका सङ्ख्या घटाऔँ : अध्यक्ष राई
-
वर्षा र पहिरोले कर्णाली करिडोर अवरुद्ध : सडक पुनर्निर्माणका लागि सांसद विश्वकर्माको माग
-
खानेपानी इन्जिनियर कुटपिटमा संलग्न दुईजना पक्राउ
-
लेखामान बोर्डको अध्यक्षमा धिताल नियुक्त
-
लेखा समितिमा प्रधानसेनापति, ‘फास्ट ट्र्याकको १ अर्ब ३९ करोड बेरुजु तत्काल फर्स्योट हुने अवस्था छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण