पार्टी स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा चुलियो स्वार्थ समूहको लडाइँ
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशनहरू आन्तरिक विवादका कारण प्रभावित भएका छन्, जसले महाधिवेशनको तयारीमा असर पार्ने चिन्ता बढाएको छ ।
- बागमती प्रदेशमा प्राविधिक त्रुटिका कारण निर्वाचन स्थगित भएको छ भने मधेस प्रदेशमा गुटगत स्वार्थ र जातीय संकीर्णताका कारण अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
- पार्टी सभापति रवि लामिछानेले पार्टी गठनको चार वर्ष नपुग्दै गुट उपगुट मौलाएकोमा चिन्ता व्यक्त गर्दै पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन नै प्रभावित भएको छ । महाधिवेशनको तयारीमा रहेको रास्वपाको प्रदेश अधिवेशन रोकिएपछि महाधिवेशनकै कार्यतालिकामा असर पर्ने हो कि भन्ने चिन्ता थपिएको छ ।
वैशाख ३० गते बसेको केन्द्रीय समिति बैठकले जेठ २३ र २४ गते जिल्ला अधिवेशन, जेठ २६ देखि असार १ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । अहिलेसम्म ६५ वटा जिल्ला र ५४० वटा पालिकामा अधिवेशन सम्पन्न भएको संगठन विभागका सचिव शंकर श्रेष्ठले जानकारी दिए ।
विवादका कारण स्थगित भएको बागमती प्रदेशमा ३० गतेसम्म नयाँ नेतृत्व छनोट हुने श्रेष्ठले जिकिर गरे । सर्वाधिक विवादमा रहेको मधेस प्रदेशमा पनि यही महिनाभित्र अधिवेशन सम्पन्न हुने उनले बताए ।
प्रदेश र जिल्लाको विवादकै कारण महाधिवेशनको मिति प्रभावित नहुने श्रेष्ठले दाबी गरे ।
‘जिल्ला र प्रदेश अधिवेशन स्थगित भएकै कारण राष्ट्रिय महाधिवेशनको मिति प्रभावित हुँदैन । असारको पहिलो हप्ताभित्रै सबै प्रदेशको अधिवेशन सम्पन्न गरिसक्छौँ’, रातोपाटीसँग उनले भने ।
पार्टी ठुलो भएका कारण आन्तरिक विवाद हुनु स्वाभाविक भएको श्रेष्ठको तर्क छ । बागमती प्रदेशमा नेतृत्वको टकराव हुँदा निर्वाचन प्रक्रिया नै अनिश्चितकालका लागि स्थगित भएको छ । सभापति पदका लागि वर्तमान सभापति एवं नुवाकोट–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. अच्युतम लामिछाने, निवर्तमान प्रवक्ता उत्सव अर्याल, हरि बहादुर खत्री र कृष्णमान श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
नेतृत्व छनोटमा आन्तरिक विवाद चर्किंदा अधिवेशन नै प्रभावित बन्यो । संगठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठले नेतृत्वको विवादभन्दा पनि प्राविधिक त्रुटिका कारण बागमतीमा निर्वाचन स्थगित भएको जिकिर गरे ।
‘हतारका कारण मतपत्र छपाइमा केही त्रुटि देखियो । मतदाता नामावलीमा पनि समस्या देखिएको छ । प्राविधिक त्रुटिलाई सच्याउनका लागि केही समय लाग्ने भएकाले निर्वाचन आयोगले केही समयका लागि चुनावी प्रक्रिया स्थगित गरेको हो’, उपप्रमुख श्रेष्ठले भने ।
विवादका कारण अधिवेशन प्रतिनिधिहरू नै आ–आफ्ना घर फर्किएका छन् । प्राविधिक त्रुटि सच्चिएपछि प्रतिनिधिहरूलाई बोलाउने तयारी भएको उनले बताए । विवाद मिलाउनका लागि बुधबार बागमतीको १३ जिल्लाका सभापति सहितको बैठक बसेको थियो । क्षेत्रगत रूपमा देखिएका त्रुटि सम्बन्धित जिल्लाले नै हल गर्नेगरी सहमति भएको श्रेष्ठले जानकारी दिए ।
मधेस प्रदेशमा गुटगत स्वार्थ र जातीय संकिर्णताका कारण प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।
रास्वपाको निर्वाचन आयोगका प्रमुख भुवन केसीले प्राविधिक तथा व्यवस्थापकीय कारणले गर्दा निर्वाचन प्रक्रियालाई अस्थायी रूपमा स्थगन गरिएको बताए ।
‘मतपत्र तथा नामावली, समायोजन सूचीको विवाद, समिति व्यवस्थापनमा देखिएको समस्याका कारण अस्थायी रूपमा निर्वाचन स्थगन गरिएको हो । भ्रमवस फर्किनु भएका सबै प्रतिनिधिलाई मतदान प्रक्रियामा सहभागी हुन आवश्यक सुविधाजनक समय प्रदान गर्ने मनसायका साथ यी प्राविधिक तथा व्यवस्थापकीय कार्य सम्पन्न हुनासाथ अधिवेशन सुचारु हुनेछ’, प्रमुख केसीले भने ।
मधेस प्रदेशमा गुटगत स्वार्थ र जातीय संकिर्णताका कारण प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जेठ २६ गते आयोगले सूचना प्रकाशित गरी अधिवेशनको सम्पूर्ण गतिविधि स्थगित भएको बताएको छ । मधेसमा पर्सा बाहेक ७ वटै जिल्ला अधिवेशन स्थगित भएको छ ।
मधेसमा विवादको मूख्य जड धनुषा–३ बाट निर्वाचित सांसद तथा पार्टीको केन्द्रीय प्रवक्ता मनिष झा भएको जिल्लास्तरका नेताहरूको आरोप छ । झाका भाइ बरुणलाई सभापति बनाउनका लागि अधिवेशन स्थगित गरिएको रास्वपाका एक नेताले आरोप लगाए ।
‘नेताहरूलाई जुधाउने–बझाउने काम मनिष झाले गरेका छन् । उनकै हस्तक्षेपले अधिवेशन स्थगित भएको हो । यहाँ जातीय विवाद पनि धेरै छ’, यादवले भने ।
‘मधेसको पार्टी संगठन अस्तव्यस्त बनाउने मुख्य नेता मनिष झा हुन् । यहाँका सबै जिल्ला सभापति उनीसँग असन्तुष्ट छन् । सभापतिमा उनले आफ्नै भाइ बरुणलाई ल्याउन खोजेका छन् । तर महाधिवेशन नजिकिएकाले मधेसबाट उनलाई भोट नआउने देखिएपछि अधिवेशन नै स्थगित गराए’, ती नेताले रातोपाटीसँग भने ।
मधेस प्रदेश नीति तथा प्रचार विभागका प्रमुख सुन्डेश्वर यादवले पनि झाकै कारण अधिवेशन स्थगित भएको आरोप लगाए ।
‘नेताहरूलाई जुधाउने–बझाउने काम मनिष झाले गरेका छन् । उनकै हस्तक्षेपले अधिवेशन स्थगित भएको हो । यहाँ जातीय विवाद पनि धेरै छ’, यादवले भने ।
सप्तरीका जिल्ला सभापति डम्बरनारायण साह तेलीले सप्तरी–२ बाट निर्वाचित सांसद तथा सरकारका श्रममन्त्री रामजी यादव, सर्लाही–३ बाट निर्वाचित सांसद शम्भु कुमार यादवको स्वार्थका कारण पार्टी संगठन ध्वस्त भएको आरोप लगाए । रामजी र शम्भु नाताले ज्वाईं–ससुरा पर्छन् ।
सिराहा जिल्लाका सभापति हरि प्रसाद मैनालीले हाल प्रदेश सभापति तथा सिराहा–४ का सांसद तपेश्वर यादव र जेनजी अगुवा एवं समानुपातिक सांसद पुरुषोत्तम यादवका कारण समस्या आएको आरोप लगाए । पुरुषोत्तम यादवलाई ‘राइट टु रिकल’ बमोजिम पार्टीले फिर्ता बोलाउनुपर्ने उनले बताए ।
यता कोशी प्रदेशमा नेतृत्व विवादका कारण प्रदेश सभापतिका उम्मेदवार गोमा तामाङले पार्टी नै परित्याग गरेको घोषणा गरिन् । आन्तरिक निर्वाचनमा पछि परेकी उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘आजदेखि राजनीतिबाट बिट मारेँ । मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
पार्टीभित्र गुट तथा उपगुट मौलाउँदै जाँदा महामन्त्री भूपदेव शाहले अधिवेशन पद बाँड्नका लागिमात्र नभई रिफर्मको आवश्यकता भएको बताएका थिए ।
गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी–१ बाट पराजित भएकी उनी आन्तरिक निर्वाचनमा पनि पराजित भइन् । उनले कुल खसेको ४९० मतमध्ये १४१ मतमात्र पाइन् । मोरङका चन्द्रबहादुर राई २८० मत ल्याएर विजयी भएका छन् । कोशीमा बुधबार अधिवेशन सुरु भएको थियो । चुनावी प्रतिस्पर्धामा तामाङ, राईसहित झापाका चन्द्रकुमार गौली (निरज) र तेह्रथुमका डाक्टर खगेन्द्र कटुवाल उत्रिएका थिए । तामाङले स्वच्छ प्रतिस्पर्धाबाट आएको परिणाम आफूले स्वीकार गर्ने तर घिनलाग्दो राजनीति आफूलाई स्वीकार्य नहुने बताएकी थिइन् ।
‘स्वच्छ चुनावी परिणाम म स्वीकार गर्छु तर घिनलाग्दो राजनीति सहँदैन । आउनुहोस्, स्वतन्त्र चुनाव लडौँ । तर एउटा व्यक्ति बोकेर कुनै माननीय हिँड्छ भने कोशी प्रदेशले स्वीकार गर्दैन । यो कुरा हेक्का हुनुपर्छ’, उनले चेतावनी दिएकी थिइन् ।
पार्टीभित्र गुट तथा उपगुट मौलाउँदै जाँदा महामन्त्री भूपदेव शाहले अधिवेशन पद बाँड्नका लागिमात्र नभई रिफर्मको आवश्यकता भएको बताएका थिए । प्रदेशको प्रथम अधिवेशनमा बोल्ने क्रममा शाहले भनेका थिए, ‘जसरी संघमा पार्टीले सफलता हासिल गर्यो, त्यसरी नै कोशी प्रदेशका १३७ वटै स्थानीय तह र प्रदेश निर्वाचनमा पनि विजय हासिल गर्नुपर्छ । यस्ता अधिवेशन पद बाँड्नका लागि मात्र नभई रिफर्मको आवश्यकता छ । प्रत्येक सदस्यले आफूलाई अपग्रेड र रिफर्म गर्न सक्नुपर्छ ।’
यता केन्द्रीय सभापति रवि लामिछानेले पार्टी गठन भएको चार वर्ष नपुग्दै गुट, उपगुट झाङ्गिदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । जेठ २३ गते जिल्ला अधिवेशनको दिन सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले भनेका थिए, ‘अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो । त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ । तर, संगठन विस्तार हुँदा म रहन्न कि भन्ने सङ्कीर्ण चिन्तालाई त्याग्नुपर्छ । पार्टी ठुलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ ।’
युगले दिएको अभिभारा पूरा गर्न, पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्नेमा उनले जोड दिएका थिए । अब ‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आएको भन्दै लामिछानेले तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने स्पष्ट पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका पूर्वमन्त्री काफ्लेले लिए ट्राफिक सचेतना कक्षा
-
रास्वपा गण्डकी अधिवेशन : १२ सदस्य निर्विरोध निर्वाचित
-
स्पेसएक्स सफल हुने सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको थिएँ : मस्क
-
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति
-
काभ्रे बस दुर्घटनाको कारण पहिचान गर्न सरकारको निर्देशन
-
शहरी विकासमा सरकारको १ खर्ब १३ अर्बका योजना : सघन सहरीकरण र झोलुङ्गे पुल उच्च प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण