शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
आयात/निर्यात

जैविक सुरक्षामा कडाइ : केरा, धनियाँ, एभोकाडो लगायतको आयातमा रोक

आँप ‘हट वाटर ट्रिटमेन्ट’ पछिमात्रै नेपाल आउन पाउने
शनिबार, ३० जेठ २०८३, १० : २१
शनिबार, ३० जेठ २०८३

सारांश

  • नेपालले विभिन्न देशबाट आयात हुने कृषिजन्य सामग्रीमा हानिकारक रोग तथा किरा फेला परेपछि जैविक सुरक्षाका लागि केरा, धनियाँ, एभोकाडो लगायतको आयातमा कडाइ गरेको छ ।
  • केरा खेतीमा 'पनामा रोग'को जोखिम, चीनबाट आयातित धनियाँमा 'खपराज' किरा, युगान्डाको एभोकाडोमा 'फाइटोप्थोरा पाल्मिभोरा' जस्ता समस्या देखिएपछि आयात रोकिएको छ ।
  • भारतीय आँप आयातमा ४८ डिग्री सेल्सियसको पानीमा १ घण्टा तातोपानी उपचार जस्ता नयाँ जैविक सुरक्षा मापदण्ड लागू गरिएको छ ।

काठमाडौँ । नेपालको कृषि क्षेत्र पछिल्ला दिनमा विदेशबाट भित्रिन सक्ने विभिन्न हानिकारक रोग तथा किराहरूको उच्च जोखिममा देखिएको छ । स्वदेशी कृषि प्रणाली, अर्बौं रुपैयाँको लगानी र किसानको जीविकोपार्जनलाई सुरक्षित राख्न सरकारले सीमा नाकाहरूमा क्वारेन्टाइन जाँचलाई कडा बनाएको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार, विभिन्न मुलुकबाट आयात हुने कृषिजन्य सामग्रीमा हानिकारक रोग र जीव फेला परेपछि आयात रोक लगाउने तथा नयाँ मापदण्ड तोक्नेजस्ता कदम चालिएका छन् ।

नेपालको केरा खेतीमा देखिएको ‘पनामा रोग’को जोखिम, चीनबाट आयातित धनियाँमा भेटिएको ‘खपराज’ किरा, युगान्डाको एभोकाडोमा देखिएको ‘फाइटोप्थोरा पाल्मिभोरा’ र भारतीय आँप आयातमा लागु गरिएको ‘हट वाटर ट्रिटमेन्ट’को मापदण्डका कारण ती वस्तु नाकामै रोकिने गरेको छ ।

केरा खेतीमा ‘ब्ल्याक डेथ’ को सङ्कट

नेपालको अर्बौं रुपैयाँ बराबरको केरा खेतीलाई विनाशकारी ‘पनामा रोग’ (टिआर–४) बाट जोगाउन सरकारले कडा कदम चालेको छ । असोज २ गतेदेखि लागु हुने गरी भारतबाट केरा आयातमा अनुमति पत्र (इम्पोर्ट पर्मिट) दिन रोक लगाइएको थियो । अब यस व्यवस्थालाई स्थानीय सरकारहरू मार्फत झन् प्रभावकारी र कडा बनाउन लागिएको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले केरा बगानका लागि ‘जैविक सुरक्षा प्रणाली’ जारी गरेका छन् । छिमेकी मुलुकबाट अवैध रूपमा केराका बिरुवा भित्रिन नदिन स्थानीय प्रशासनलाई उजुरी गर्न र अवैध केरा नष्ट गर्न समेत निर्देशन दिइएको छ ।

‘ब्ल्याक डेथ’ संज्ञा दिइएको यो रोगले एकपटक आक्रमण गरेपछि केराको सम्पूर्ण बगान नै सखाप पार्ने क्षमता राख्छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार नेपालको करिब १२ देखि १३ हजार हेक्टर क्षेत्रफलमा केरा खेती फैलिएको छ । यस क्षेत्रमा कृषक र व्यवसायीहरूको १२ अर्ब रुपैयाँभन्दा बढीको लगानी छ ।

केन्द्रका अधिकृत रोशन अधिकारीका अनुसार यदि यो रोग देशव्यापी रूपमा फैलियो भने नेपालको केरामा आत्मनिर्भर बन्ने सपनामात्र टुट्ने छैन, हजारौँ किसान सुकुमबासी हुने अवस्थासमेत आउन सक्छ । यही जोखिमलाई मध्यनजर गर्दै सरकारले भारतबाट आयात हुने केराको बिरुवा र फलमा रोक लगाएको हो ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले केरा बगानका लागि ‘जैविक सुरक्षा प्रणाली’ जारी गरेका छन् । छिमेकी मुलुकबाट अवैध रूपमा केराका बिरुवा भित्रिन नदिन स्थानीय प्रशासनलाई उजुरी गर्न र अवैध केरा नष्ट गर्न समेत निर्देशन दिइएको छ ।

चीनबाट आयातित धनियाँमा हानिकारक ‘खपराज’

चीनबाट नेपालतर्फ आयात गरिएको ठुलो परिमाणको धनियाँको दानामा हानिकारक ‘खपराज’ किरा भेटिएपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले उक्त खेपलाई भन्सार नाकामै रोकेको छ । तातोपानी नाका हुँदै भित्रिएको करिब ३० टन गेडा धनियाँमा अन्तर्राष्ट्रियस्तरमै प्रतिबन्धित क्वारेन्टाइन पेस्ट (किरा) भेटिएको हो ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी एवं वरिष्ठ बाली संरक्षण अधिकृत रोशन अधिकारीका अनुसार, उक्त धनियाँको खेपमा ‘नन–कम्प्लायन्स’ (मापदण्ड विपरीत) पाइएको छ । प्रयोगशाला परीक्षणका क्रममा धनियाँमा ‘खपराज’ नामक किरा फेला परेको हो, जसलाई कृषि र खाद्य सुरक्षाका दृष्टिले निकै खतरनाक मानिन्छ । 

तातोपानी नाकामा गत जेठ १३ गतेतिरै रोकिएको उक्त धनियाँलाई अहिले क्वारेन्टाइनको प्रक्रियामा राखिएको छ । केन्द्रले नेपाललाई ‘डम्पिङ साइट’ हुन नदिने र अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय वस्तुमात्र आयात गर्न दिने अडान लिएको छ ।

वरिष्ठ बाली संरक्षण अधिकृत अधिकारीका अनुसार खपराज किराले अन्नबाली र भण्डारण गरिएका खाद्य सामग्रीलाई पूर्ण रूपमा ध्वस्त बनाउन सक्छ । ‘यसलाई अन्तर्राष्ट्रिय स्तरमै क्वारन्टाइन पेस्टको रूपमा घोषणा गरिएको छ,’ अधिकारीले भने, ‘यो किरा एकपटक प्रवेश गरेमा निकै लामो समयसम्म (४–५ वर्षसम्म) सुषुप्त अवस्थामा बस्न सक्छ र अनुकूल समयमा पुनः सङ्क्रमण फैलाउँछ । त्यसैले यसलाई नेपालभित्र छिर्न दिनु निकै जोखिमपूर्ण हुन्छ ।’

किरा भेटिएपछि केन्द्रले यसबारे चीनको आधिकारिक निकायलाई औपचारिक पत्रमार्फत सूचित गरिसकेको छ । साथै विश्व व्यापार संगठन र इन्टरनेसनल प्लान्ट प्रोटेक्सन कन्भेन्सन जस्ता अन्तर्राष्ट्रिय निकायहरूलाई पनि यसबारे जानकारी गराइएको छ । अधिकारीले बताएअनुसार, चीनले यस विषयमा स्पष्टीकरण नदेखाएसम्म र आगामी दिनमा यस्ता किरा नभेटिने सुनिश्चितता नगरेसम्म धनियाँको आयात प्रक्रिया रोक्का रहनेछ ।

तातोपानी नाकामा गत जेठ १३ गतेतिरै रोकिएको उक्त धनियाँलाई अहिले क्वारेन्टाइनको प्रक्रियामा राखिएको छ । केन्द्रले नेपाललाई ‘डम्पिङ साइट’ हुन नदिने र अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय वस्तुमात्र आयात गर्न दिने अडान लिएको छ ।

युगान्डाको एभोकाडोमा ‘फाइटोप्थोरा पाल्मिभोरा’ को जोखिम

नेपालमा अफ्रिकाको युगान्डाबाट आयात हुने एभोकाडोमा हानिकारक रोग भेटिएपछि सरकारले यसको आयातमा तत्कालका लागि पूर्णरूपमा रोक लगाएको छ । भारतीय बाटो हुँदै र कहिलेकाहीँ तान्जानियाको उत्पादन भनेरसमेत लुकाएर ल्याइने गरिएको युगान्डाको एभोकाडोमा नेपालको स्वदेशी खेतीलाई नै सखाप पार्न सक्ने रोगको जीवाणु भेटिएपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले आयात अनुमतिपत्र (इन्ट्री परमिट) दिन बन्द गरेको हो । 

केन्द्रले बजार अनुगमन गर्दा युगान्डाको एभोकाडोमा गम्भीर प्रकृतिको रोग देखिएको छ। युगान्डाको एभोकाडोमा नेपालमा प्रतिबन्धित र स्वदेशी नेपाली एभोकाडो खेतीमा सल्कन सक्ने रोग ‘फाइटोप्थोरा पाल्मिभोरा’ को उपस्थिति देखिएको हो । केन्द्रका अनुसार पछिल्लो २ सातादेखि युगान्डाको एभोकाडो आयात रोकिएको छ ।

अन्तर्राष्ट्रिय व्यापार सम्झौता र विश्व व्यापार संगठनको एसपीएस सम्झौता अनुसार नेपालले युगान्डालाई यस विषयमा औपचारिक जानकारी गराउने तयारी गरेको छ । रोगको मोलिक्युलर भेरिफिकेसनका लागि प्याथोजेन पठाइसकेको छ ।  अभिकारी भन्छन्, ‘रिपोर्ट आइसकेपछि डब्लूटीओको नियम अनुसार ‘नोटिफिकेसन अफ नन–कम्प्लायन्स’ (मापदण्ड पालना नभएको सूचना) जारी गर्ने तयारीमा छौँ ।’

युगान्डाको एभोकाडोमा एउटा विनाशकारी ढुसीजन्य वनस्पति रोग देखिएको हो (प्याथोजेन) हो । यसको सङ्क्रमणले एभोकाडोको फल कुहाउने मात्र नभई बिरुवाको जरा र डाँठलाई समेत कुहाएर सिङ्गै बोटलाई सुकाएर मारिदिन्छ ।

केन्द्रका अनुसार पानी र माटोका माध्यमबाट द्रुत रूपमा फैलिने यो रोग नेपालका लागि अत्यन्तै खतरनाक मानिएको छ । किनभने, बजारबाट किनेर ल्याइएको आयातित सङ्क्रमित एभोकाडो खाएर त्यसको बोक्रा वा दाना जथाभावी फालिए यसको जीवाणु सजिलै हाम्रो माटोमा मिसिन पुग्छ ।

भारतीय आँपमा जैविक सुरक्षाको मापदण्ड

नेपालले भारतीय आँप आयातमा पनि जैविक सुरक्षा मापदण्ड लगाएको छ । केही दिनदेखि आँप आयातमा प्रतिबन्ध भन्ने हल्ला चले पनि नेपालको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालय दुवैले छुट्टाछुट्टै स्पष्टीकरण र विज्ञप्ति जारी गर्दै आँपको आयात नरोकिएको तर नेपालको जैविक सुरक्षा संवेदनशीलताका कारण नयाँ मापदण्ड मात्र तोकिएको स्पष्ट पारेको छ ।

भारतबाट आयात हुने आँपको हकमा अन्तर्राष्ट्रिय अभ्यास अनुसार केही हानिकारक शत्रुजीवहरूको मुक्तता सुनिश्चित गर्न नयाँ मापदण्ड लागु गरिएको हो । यो व्यवस्था अनुसार आँप पैठारी गर्दा ४८ डिग्री सेन्टिग्रेड तापक्रमको पानीमा १ घण्टा (६० मिनेट) सम्म ‘हट वाटर ट्रिटमेन्ट’ (तातोपानी उपचार) गरिएको हुनुपर्नेछ । यस्तै भारत सरकारको आधिकारिक बिरुवा संरक्षण संगठनबाट सो अनुसार उपचार गरिएको ‘बिरुवा स्वच्छता प्रमाण पत्र’ पेस भएमा नेपालमा पैठारीका लागि बिनाकुनै अवरोध निरन्तर प्रवेश अनुमति पत्र (इम्पोर्ट पर्मिट) जारी भइरहेको केन्द्रले जनाएको छ ।

नियमित शत्रुजीव जोखिम विश्लेषण गरिरहेका छौँ : प्लान्ट क्वारेन्टाइन प्रमुख

केन्द्रका प्रमुख भोजराज सापकोटाका अनुसार नेपालको राष्ट्रिय बिरुवा संरक्षण संगठनको रूपमा कार्यरत यस केन्द्रले ‘बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन २०६४’ बमोजिम नेपालको जैविक सुरक्षा सुनिश्चित गर्न नियमित रूपमा ‘शत्रुजीव जोखिम विश्लेषण’ गर्दै आएको छ ।

यसै सिलसिलामा पछिल्लो समय तरकारी, फलफूलमा जैविक सुरक्षा कडाई गरिन थालिएको हो । सापकोटाले जैविक सुरक्षा र बजारमा फैलिएका अनेकौँ हल्ला आए पनि जैविक सुरक्षामा केन्द्रले ध्यान दिएको बताए । नेपाली चिया निर्यातमा भारततर्फ असहजता भएपछि नेपालले त्यसको बदला लिन भारतीय आँप आयातमा कडाइ गरेको भन्ने अफवाह समेत फैलिएको पनि त्यसमा कुनै सत्यता नरहेको उनको भनाइ थियो ।

‘हामी जैविक सुरक्षामा ‘काउन्टर मेजर’ (बदला लिने कार्य) गर्दैनौँ । यो विशुद्ध रूपमा विज्ञान र अन्तर्राष्ट्रिय नियममा आधारित हुन्छ,’ सापकोटाले भने । उनले विश्व व्यापार सङ्गठनको स्यानिटरी एन्ड फाइटोस्यानेटरी सम्झौता र अन्तर्राष्ट्रिय बिरुवा संरक्षण महासन्धिका नियमहरूका आधारमा मात्र यस्ता कदम चालिने जानकारी दिए ।

सापकोटाले सीमा नाकामा हुने क्वारेन्टाइन जाँच र विषादी अवशेष परीक्षण फरक पाटो भएको पनि बुझाए । क्वारेन्टाइनले विषादी नभई नेपालमा नभएका र यहाँको रैथाने कृषिलाई नष्ट गर्न सक्ने हानिकारक रोग तथा किरा (जैविक सुरक्षा) मात्र हेर्ने गर्छ ।

‘जोखिम विश्लेषण स्थिर हुँदैन’

‘जोखिम विश्लेषण एउटा गतिशील प्रक्रिया हो । यो स्थिर हुँदैन । कोरोना महामारी आउँदा सुरक्षा नीति फेरिएजस्तै कृषिको सुरक्षाका लागि पनि नयाँ चुनौती अनुसार नियमहरू परिमार्जन भइरहन्छन्,’ सापकोटाले रातोपाटीसँग भने ।

युगान्डाको एभोकाडोमा खतरनाक ‘फाइटोप्थोरा पाल्मिभोरा’ रोग भेटिएपछि त्यसको आयात रोकिएको, चीनको धनियाँमा हानिकारक ‘खपराज’ किरा फेला परेकाले भन्सारमै रोकिएको र केरा खेतीलाई ‘ब्ल्याक डेथ’ मानिने ‘पनामा रोग’ बाट जोगाउन आयातमा कडाइ गरिएको प्रस्ट पार्दै उनले यसको उद्देश्य शुद्ध कृषिलाई विनाश हुनबाट बचाउनु नै रहेको बताए । ‘यो विशुद्ध जैविक सुरक्षासँग सम्बन्धित छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय बजारबाट कृषिजन्य सामग्री आयात गर्दा सम्भावित रोग र किराहरूको जोखिम न्यूनीकरण गर्नु नेपालको सार्वभौम अधिकार र दायित्व दुवै रहेको उनले बताए ।

‘यो नयाँ कानुनले गरेको होइन’

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रोशन अधिकारीले यो कडाइ कुनै नयाँ बाह्य कानुन नभई नेपालको विद्यमान कानुनको परिपालना र आन्तरिक प्रणालीगत सुधारको परिणाम भएको बताए ।

‘विगतमा केही शिथिल देखिएको क्वारेन्टाइन प्रणालीलाई हाल थप सुदृढ र प्रविधिमैत्री बनाएर अगाडि बढाइएको छ,’ अधिकारीले भने, ‘कानुनको पूर्ण पालना गराउन सुरु गरिएकाले नाकामा निगरानी बढेको देखिएको हो ।’

२०८१ साल मंसिर १७ गते बसेको समितिको बैठकले संगठनको सुदृढीकरण र नीतिगत स्पष्टताका लागि महत्त्वपूर्ण निर्णयहरू गरेसँगै राष्ट्रिय बिरुवा संरक्षण संगठनको भूमिका थप प्रभावकारी बनेको अधिकारीको भनाइ छ । विगतमा कतिपय प्राविधिक र कानुनी पाटाहरू ओझेलमा परेको भए तापनि हाल समिति र केन्द्रको सक्रियताले गर्दा नाकामा हुने नियमन प्रणालीलाई कानुनसम्मत र व्यवस्थित बनाइएको उनले बताए ।

हाल नाकाहरूमा लागु गरिएको अर्को महत्त्वपूर्ण वैज्ञानिक पाटो ‘शत्रुजीव जोखिम विश्लेषण’को अनिवार्य कार्यान्वयन भएको उनले उल्लेख गरे ।  यस व्यवस्था अन्तर्गत कुन देशबाट कस्तो वस्तु आयात भइरहेको छ, त्यससँगै नेपालको कृषि क्षेत्रलाई नोक्सान पुर्‍याउने कस्ता हानिकारक किरा वा रोगहरू भित्रिन सक्छन् भन्ने विषयमा विस्तृत वैज्ञानिक विश्लेषण गरिने उनले जानकारी दिए ।

‘हामीले अहिले प्रत्येक वस्तु र देशको विशिष्टताका आधारमा कमोडिटी पाथवे विश्लेषण गर्ने गरेका छौँ,’ भारत र चीनबाट आयात हुने स्याउको उदाहरण दिँदै उनले भने, ‘भारत र चीनबाट आउने स्याउमा फरक–फरक जोखिम रहने हुनाले दुवै देशका लागि बेग्लाबेग्लै आयात सर्तहरू तय गरी कडाइका साथ लागु गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप