आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
काठमाडाैँ महानगरकाे नीति तथा कार्यक्रम

काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने

आइतबार, ३१ जेठ २०८३, १३ : २८
आइतबार, ३१ जेठ २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनका लागि प्रविधिको प्रयोग गरी महानगर क्षेत्रलाई ७ क्लस्टरमा विभाजन गर्ने भएको छ ।
  • आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा स्थानान्तरण केन्द्रबाट निष्कासित न्यून फोहरलाई बन्चरे डाँडा ल्याण्डफिल साइटमा मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरी वैज्ञानिक व्यवस्थापन गरिनेछ ।
  • फोहरमैला व्यवस्थापन सेवा शुल्क प्रदूषकले तिर्ने सिद्धान्त अनुरूप एकद्धार प्रणाली मार्फत सङ्कलन गरिनेछ र यसलाई अनलाइन एपमार्फत सूचना तथा विवरणको पहुँचमा ल्याइनेछ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७ क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने भएको छ ।  महानगरपालिकाले फोहर निःशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक पुनः चक्रीय प्रयोग आधारित ‘सर्कुलर इकोनोमी’ लाई प्रवर्द्धन हुने गरी महानगर क्षेत्रलाई ७ क्लस्टरमा विभाजन गरी प्रविधिको प्रयोगमार्फत फोहर मैलाको उचित व्यवस्थापन गर्ने भएको हो ।

महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा उक्त कार्यक्रम उल्लेख गरेको हो । ‘स्थानान्तरण केन्द्रबाट निष्कासित न्यून फोहरलाई बन्चरे डाँडा ल्याण्डफिल साइटमा मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरी फोहरको वैज्ञानिक व्यवस्थापन गरिनेछ, काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक तथा खाली स्थानहरूलाई बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री पार्कका रूपमा विकास तथा विस्तार गर्दै लगिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘फोहरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदूषकले तिर्ने सिद्धान्त अनुरूप एकद्धार प्रणाली मार्फत शुल्क सङ्कलन गर्ने व्यवस्था मिलाइनेछ । बन्चरे डाँडा ल्यान्डफिल साइटमा फोहरमैला विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहरको परिमाण र प्रकृतिको आधारमा वित्तीय साझेदारी गर्न पहल गरिनेछ ।’ 

फोहरमैला व्यवस्थापनलाई अनलाइन एपका माध्यमबाट सूचना तथा विवरण महानगरपालिका सम्बद्ध कार्यालय, सेवा प्रदायक र सेवाग्राहीको पहुँचमा हुने विशेष प्रबन्ध मिलाउने, उचित प्रविधिको प्रयोग गरी वायु, जल, जमिन, ध्वनि, दृश्य आदि प्रदूषण नियन्त्रण गर्ने, सङ्‍घ, प्रदेश तथा अन्य स्थानीय सरकारसँगको समन्वय, सहकार्य र साझेदारीमा वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रण तथा न्यूनिकरणका कार्यक्रम सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप