प्रचण्ड गर्मीमा पङ्खाविहीन कक्षा, विद्यार्थीको पढाइ प्रभावित
सारांश
- रौतहटको फतुवा विजयपुर नगरपालिका-३ स्थित आधारभूत विद्यालय मेवाका ५४२ विद्यार्थी पङ्खाविहीन कक्षामा अध्ययन गर्न बाध्य छन्।
- चार वर्षअघि बनेको भवनमा विद्युत् वायरिङ नहुँदा पङ्खा जडान गर्न नसकिएको र यसका लागि करिब १ लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने विद्यालय प्रशासनले जनाएको छ।
- विद्यालयमा शिक्षकको चरम कमी छ, जसले गर्दा एक शिक्षकले औसतमा ११० भन्दा बढी विद्यार्थीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था छ।
रौतहट । तराई–मधेसमा गर्मीको प्रकोप दिनप्रतिदिन बढ्दै गइरहेको छ। यस्तो अवस्थामा रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित आधारभूत विद्यालय मेवाका सयौँ विद्यार्थी भने पङ्खाविहीन कक्षाकोठामा अध्ययन गर्न बाध्य छन्। विद्यार्थीको अनुपातमा शिक्षकको संख्या न्यून भएको कारण विद्यार्थीको पठन पाठन प्रभावित भएको छ।
अत्यधिक गर्मीका बिच कक्षाकोठामा बस्न कठिन भए पनि विद्यार्थीहरू दैनिक रूपमा त्यही वातावरणमा पढ्न विवश छन्।
विद्यालयमा बालशिक्षादेखि कक्षा ८ सम्म अध्ययनरत ५४२ विद्यार्थी छन्। तर विद्यालयका १२ वटै कक्षाकोठामा पङ्खाको व्यवस्था छैन। चार वर्षअघि निर्माण सम्पन्न भएको भवनमा अहिलेसम्म विद्युत् वायरिङसमेत नगरिएकाले पङ्खा जडान गर्न नसकिएको विद्यालय प्रशासनले जनाएको छ।
स्थानीय समाजसेवी वीरेन्द्र यादवका अनुसार गर्मीका कारण विद्यार्थी मात्र होइन, शिक्षक तथा कर्मचारीसमेत असहज वातावरणमा काम गर्न बाध्य छन्। चर्को तापक्रमका कारण कक्षाकोठाभित्र लामो समय बस्न समस्या हुने गरेको उनले बताएका छन्।
विद्यालयका प्रधानाध्यापक रामजनम महतोका अनुसार भवन निर्माणकै क्रममा विद्युत् वायरिङ नगरिएकाले अहिले समस्या उत्पन्न भएको हो। उनले विद्यालयमा सरुवा भएर आएपछि वायरिङका लागि लागत अनुमान गराउँदा करिब १ लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने देखिएको बताएका छन्।
“विद्यालयको आफ्नै आम्दानीको स्रोत छैन। बजेट अभावका कारण वायरिङको काम अगाडि बढाउन सकेका छैनौँ,” प्रधानाध्यापक महतोले भनेका छन्।
विद्यालयमा गर्मी र पूर्वाधार अभाव मात्र समस्या होइन, शिक्षकको चरम कमी पनि उत्तिकै गम्भीर देखिएको छ। ५४२ विद्यार्थी अध्ययनरत विद्यालयमा प्राथमिक तहका चार शिक्षक, एक निम्न माध्यमिक तहका अनुदान शिक्षक, एक बालविकास सहजकर्ता र एक कार्यालय सहयोगी मात्र कार्यरत छन्।
यस आधारमा एक शिक्षकले औसतमा ११० भन्दा बढी विद्यार्थीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था छ। सरकारी मापदण्डअनुसार मधेस प्रदेशमा ४० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने व्यवस्था भए पनि विद्यालयमा आवश्यक दरबन्दीको ठुलो अभाव रहेको देखिन्छ।
शिक्षक कम हुँदा नियमित पठनपाठन, गृहकार्यको मूल्याङ्कन, विद्यार्थीको व्यक्तिगत सिकाइ अवस्थाको अनुगमन तथा कमजोर विद्यार्थीलाई अतिरिक्त सहयोग गर्न कठिन भइरहेको प्रधानाध्यापक महतोको भनाइ छ। कक्षाकोठा व्यवस्थापनदेखि विषयगत शिक्षणसम्ममा प्रत्यक्ष असर परेको उनी बताउँछन्।
प्रधानाध्यापक महतोले शिक्षक दरबन्दी थप, निजी स्रोतका शिक्षक व्यवस्थापन, भवनमा वायरिङ तथा अन्य पूर्वाधार सुधारका लागि पटक–पटक नगरपालिकालाई आग्रह गरिएको भए पनि हालसम्म कुनै प्रभावकारी पहल नभएको गुनासो गरेका छन्।
“विद्यालयको वास्तविक आवश्यकता र समस्याबारे नगरपालिकालाई बारम्बार जानकारी गराएका छौँ। तर समाधानका लागि ठोस कदम चालिएको देखिएको छैन,” उनले गुनासो गरेका छन्।
यस विषयमा प्रतिक्रिया लिन फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अम्बेया खातुनसँग सम्पर्क गर्ने प्रयास गरिए पनि प्रतिक्रिया प्राप्त हुन सकेन।
गर्मीको चर्को मौसममा विद्यार्थीको स्वास्थ्य, सिकाइ उपलब्धि र समग्र शैक्षिक वातावरण प्रभावित भइरहेको अवस्थामा विद्यालयका अभिभावक तथा स्थानीयवासीले तत्काल आवश्यक बजेट व्यवस्थापन गरी वायरिङ, पङ्खा जडान र शिक्षक थप गर्न नगरपालिकासँग माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
-
निर्माण व्यवसायीविरुद्ध मन्त्रीले दिएको अभिव्यक्ति प्रति सांसद स्वारकाे आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण