युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
लक्जेम्बर्ग । युरोपेली संघ (ईयू)ले युक्रेन र मोल्डोभाको सदस्यता प्रवेश प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । सोमबार सुरु भएको यस प्रक्रियासँगै दुवै देशले ईयू सदस्य बन्न आवश्यक राजनीतिक, कानुनी र आर्थिक सुधारका लागि लामो यात्रा प्रारम्भ गरेका छन् ।
यस अवसरमा युक्रेनका उपप्रधानमन्त्री तारास काच्काले लक्जेम्बर्गमा आयोजित अन्तरसरकारी सम्मेलनमा सहभागिता जनाएका थिए । उक्त सम्मेलनमार्फत युक्रेनले ईयूका २७ सदस्य राष्ट्रका कानुन, मापदण्ड र मूल्य–मान्यतासँग आफूलाई अनुकूल बनाउने वार्ता सुरु गरेको हो ।
‘युक्रेनमाथिको आक्रमण र युरोपविरुद्धका धम्कीहरू रुसको स्थायी नीति हो । त्यसैले हामी एकताबद्ध हुन आवश्यक छ । त्यसैले ईयूमा हाम्रो प्रवेश प्रक्रिया छिटो र व्यापक हुनुपर्छ,’ पत्रकारहरूसँग कुरा गर्दै काच्काले भने ।
रुसको आक्रमणसँग जुधिरहेको युक्रेनका लागि ईयू सदस्यता केवल आर्थिक वा राजनीतिक लक्ष्य मात्र नभई सुरक्षा ग्यारेन्टीका रूपमा पनि हेरिएको छ । कीभले यसलाई पश्चिमी मुलुकहरूसँगको आफ्नो सम्बन्ध बलियो बनाउने महत्वपूर्ण आधार मानेको छ ।
तर ईयूभित्र युक्रेन सदस्य बन्न तयार छ कि छैन भन्ने विषयमा चिन्ता कायमै छ । साथै रुससँग जारी युद्ध र मस्कोले युक्रेनका पाँच क्षेत्र आफूमा गाभेको दाबीले सुरक्षा सम्बन्धी जटिलता पनि थपेको छ । विश्लेषकहरूका अनुसार युक्रेनका लागि सबैभन्दा बलियो सुरक्षा ग्यारेन्टी उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)को सदस्यता हुन सक्थ्यो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यसको सम्भावना अस्वीकार गरेको छ भने युद्ध जारी रहेका बेला केही नाटो सदस्य राष्ट्रहरू पनि सावधानी अपनाइरहेका छन् ।
युक्रेनको सदस्यता प्रक्रिया लामो समयसम्म हंगेरीका पूर्वप्रधानमन्त्री भिक्टर ओर्बानका कारण अवरुद्ध भएको थियो । ओर्बानलाई युरोपभित्र रुसको सबैभन्दा निकट सहयोगी मानिन्थ्यो । तर अप्रिलमा भएको निर्वाचनमा ओर्बान पराजित भएपछि नयाँ प्रधानमन्त्री पेटर मजारले ईयूसँगको सम्बन्ध सुधार्ने नीति अपनाएका छन् । गत साता उनले युक्रेनको सदस्यता आवेदनमाथिको हंगेरीको भिटो हटाउन सहमति जनाएका थिए । यो निर्णयपछि ब्रसेल्सले हंगेरीका लागि रोक्का राखिएको १६ अर्ब युरोभन्दा बढी ईयू कोष फुकुवा गर्ने निर्णय गरेको थियो ।
रुसले मोल्डोभालाई पनि आफ्नो प्रभाव क्षेत्रमा राख्न प्रयास गर्दै आएको आरोप लाग्दै आएको छ । गत वर्ष मोल्डोभाको निर्वाचन प्रभावित पार्न कृत्रिम बौद्धिकता (एआई)मा आधारित दुष्प्रचार अभियान सञ्चालन गरिएको आरोप मस्कोमाथि लागेको थियो । यद्यपि चुनावमा पश्चिम समर्थक वर्तमान नेतृत्व विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयका उपकुलपति उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म
-
नेकपा कोशी प्रदेशको कार्य विभाजन टुङ्गियाे, जिल्ला र विभागहरूमा जिम्मेवारी बाँडफाँड
-
के हो ई-पासपोर्ट छपाई प्रकरण, किन पक्राउ परे राहदानी विभागका महानिर्देशक ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गाैतमलाई थुनामा पठाउने आदेश
-
बजेटमाथि रास्वपा सांसदकै आक्रोश : शक्ति केन्द्रको वरिपरि मात्रै घुम्यो
-
मिलेमतोमा ठेक्का, प्रमाण लुकाउन कागजात नै गायब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण