चलचित्र ‘काला हिरण’ विवाद : अभिनेता गोविन्द नामदेवसँग ५० लाख रुपैयाँ क्षतिपूर्ति माग
सारांश
- फिल्म ‘काला हिरण: द ब्याटल फर लेगेसी’का निर्माता अमित जानीले अभिनेता गोविन्द नामदेवलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति र सार्वजनिक माफी माग्दै कानुनी नोटिस पठाएका छन्।
- अभिनेता गोविन्द नामदेवले आफूलाई झुक्याएर फिल्ममा साइन गराइएको र कथावस्तु फरक भएको आरोप लगाएका छन्।
- सलमान खानको कानुनी टोलीले पनि फिल्मले आफ्नो व्यक्तिगत अधिकारको उल्लंघन गरेको भन्दै निर्माण रोक्न माग गर्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेको छ।
मुम्बई । बलिउड अभिनेता सलमान खानको सन् १९९८ को चर्चित कालो हरिण शिकार मामिलामा बनिरहेको फिल्म ‘काला हिरण: द ब्याटल फर लेगेसी’ लाई लिएर विवाद निकै चर्किएको छ।
फिल्मका निर्माता अमित जानीले दिग्गज अभिनेता गोविन्द नामदेवलाई कानुनी नोटिस पठाएपछि यो विवाद थप सतहमा आएको हो। अमित जानीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै नोटिसमा अभिनेता नामदेवसँग सात दिनभित्र सार्वजनिक रूपमा माफी माग्न र प्रोडक्सन हाउसलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरिएको बताएका छन्।
यो कदम अभिनेता गोविन्द नामदेवको त्यो बयानपछि चालिएको हो, जसमा उनले फिल्मका निर्माताहरूले आफूलाई झुक्याएर फिल्म साइन गराएको आरोप लगाएका थिए। यसअघि एक अन्तर्वार्तामा नामदेवले फिल्मको टिजर हेरेपछि आफूलाई गहिरो धक्का लागेको बताएका थिए। फिल्म आफूलाई सुनाइएको कथा र विषयवस्तु अनुसार नबनेको उनको जिकिर थियो।
उनका अनुसार निर्माताहरूले सुरुमा यो फिल्म धार्मिक विषयमा आधारित रहेको र यसको नाम ‘सम्भल’ हुने बताएका थिए। पछि यसको नाम बदलेर ‘काला हिरण’ राखियो र यसमा सलमान खानको केससँग जोडिएका अदालतका दृश्यहरू मात्र देखाइने आश्वासन दिइयो। नामदेवले आफूलाई अन्धकारमा राखेर प्रयोग गरिएको गुनासो गरेका थिए।
सलमान खानसँग आफ्नो पुरानो र राम्रो सम्बन्ध रहेको भन्दै नामदेवले आफूहरूले ‘वान्टेड’ जस्ता थुप्रै फिल्ममा सँगै काम गरेको स्मरण गरे। उनले सलमान खानलाई गलत तरिकाले प्रस्तुत गर्ने वा उनलाई नोक्सान पुर्याउने कुनै पनि फिल्मको हिस्सा आफू कहिल्यै नबन्ने स्पष्ट पारेका छन्। यदि फिल्मको वास्तविक कथा पहिले नै थाहा पाएको भए आफूले तुरुन्तै काम गर्न अस्वीकार गर्ने बताउँदै उनले आफू कुनै पनि हालतमा लरेन्स ग्याङलाई आफ्नो आदर्श मान्न नसक्ने उल्लेख गरे।
अभिनेताका यी आरोपहरूको प्रतिवाद गर्दै निर्माता अमित जानीले गोविन्द नामदेवका सबै दाबीहरू झुटा भएको दाबी गरे। अमितका अनुसार अभिनेताले फिल्म साइन गर्नुअघि पूरै स्क्रिप्ट पढेका थिए र उनले फिल्मको कोर्टरुम ड्रामा सम्बन्धी दृश्यहरूको सुटिङ समेत पूरा गरिसकेका छन्।
सम्झौताअनुसार फिल्मको छवि खराब गर्न नपाइने प्रावधान विपरीत नामदेवले आफूहरूलाई धोका दिएको मेकरको आरोप छ। अमितले अभिनेतालाई यस फिल्मको सिक्वेलका लागि समेत साइन गराइसकेको दाबी गर्दै अहिले सलमान खानको नजरमा राम्रो बन्नका लागि मात्र उनी फिल्मबाट टाढिन खोजेको आरोप लगाए।
यस फिल्मलाई लिएर भइरहेको विवाद कलाकारहरूमा मात्र सीमित छैन। बलिउड स्टार सलमान खानको कानुनी टोलीले पनि फिल्मका निर्माताहरूलाई कानुनी नोटिस पठाइसकेको छ। सलमानको टोलीले फिल्मको निर्माण, विकास र प्रवर्द्धनका सम्पूर्ण गतिविधिहरूमा तुरुन्त रोक लगाउन माग गरेको छ।
यो फिल्मले सलमानको व्यक्तिगत अधिकार (पर्सनालिटी राइट्स) को उल्लंघन गरेको उनीहरूको तर्क छ। यस मामिलालाई लिएर सलमान खानले दिल्ली उच्च अदालतको ढोका ढकढक्याएका छन्, जसको सुनुवाइ जुन १९ मा हुने तय भएको छ।
जानी फायरफक्स फिल्म्सको ब्यानरमा बनिरहेको र भारत एस श्रीनेतले निर्देशन गरिरहेको यस फिल्ममा सिधै सलमान खानको नाम प्रयोग नगरिए पनि टिजरमा अयान खान नामक पात्र देखाइएको छ। सो पात्रको रूप, गढन र शैली दुरुस्तै सलमान खानसँग मिल्दोजुल्दो छ।
सलमानको निवेदनमा फिल्म र यससँग जोडिएका प्रवर्द्धनात्मक सामग्रीहरू सन् १९९८ को कालो हरिण शिकार मामिलाबाटै प्रेरित वा त्यसमै आधारित रहेको उल्लेख छ। निवेदनका अनुसार अभिनेताको नाम सिधै प्रयोग नगरिए पनि पोस्टर, टिजर र प्रोजेक्टसँग जोडिएका व्यक्तिहरूको सार्वजनिक बयानका कारण दर्शकले सजिलै सलमानलाई चिन्न सक्छन्।
रिटमा मे २९, २०२६ मा सार्वजनिक गरिएको एउटा पोस्टरको पनि चर्चा गरिएको छ, जसमा देखाइएको पात्र सलमानसँग मिल्ने मात्र नभई उनले अभिनेताको मुख्य पहिचान मानिने नीलो रङ्गको ब्रेसलेट जस्तै ब्रेसलेट समेत लगाएका छन्। सलमानले अदालतसँग विवादको अन्तिम निरुपण नभएसम्म फिल्मसँग सम्बन्धित कुनै पनि टिजर, ट्रेलर, पोस्टर वा अन्य प्रवर्द्धन सामग्रीको प्रकाशन, प्रसारण र प्रदर्शनमा रोक लगाउनुका साथै फिल्मको रिलिज समेत रोक्न माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन केही मानिसहरू लामखुट्टेका लागि ‘चुम्बक’ बन्छन् ?
-
रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा पति, सासू र ससुरा पक्राउ
-
मलेसियाको आन्तरिक पर्यटक ११ दशमलव पाँच प्रतिशतले वृद्धि
-
जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन
-
लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेको अर्जेन्टिनालाई अल्जेरियाको चुनौती
-
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण