‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’
सारांश
- कांग्रेस सचेतक निश्कल राईले इलामको चिया उद्योग भारतको अवरोधका कारण सङ्कटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
- राईले गुणस्तर परीक्षणका नाममा भारतीय पक्षबाट नेपाली चियाका कन्टेनरहरू १५ दिनसम्म रोकिँदा व्यवसायीहरूले ठूलो क्षति बेहोर्नुपरेको बताए ।
- उनले यो समस्या प्राविधिक मात्र नभई कूटनीतिक भएको उल्लेख गर्दै सरकार-देखि-सरकार तहमा वार्ता गरी दीर्घकालीन समाधान खोज्न माग गरेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले पूर्वी पहाडी जिल्ला इलामको मेरुदण्डका रूपमा रहेको चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
निर्यातमा देखिएका बाधा र बजार व्यवस्थापनको अभावमा चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरेका हुन् ।
संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले इलामका अधिकांश नागरिकको जीविकोपार्जनको मुख्य स्रोत चिया भए पनि सरकारले यस क्षेत्रको समस्या समाधानमा तदारुकता नदेखाएको आरोप लगाए ।
उनले चिया किसान र व्यवसायीहरूले भोग्दै आएका समस्याका बारेमा आफूले पटक–पटक सदन र सरकारको उच्च तहमा कुरा उठाए पनि सुनुवाइ नभएको गुनासो गरे ।
नेपाली चियाको प्रमुख बजारका रूपमा रहेको छिमेकी राष्ट्र भारतको पश्चिम बङ्गाल सरकारले गुणस्तर परीक्षणका नाममा नेपाली चियालाई अनावश्यक दुःख दिइरहेको सांसद राईले बताए। उनका अनुसार पानी ट्याङ्की नाकामा नेपाली चियाका कन्टेनरहरू १५ दिनसम्म रोकिने गरेका छन्।
उनले भने, ‘परीक्षणका नाममा १५ दिनसम्म कन्टेनर रोकिँदा व्यवसायीहरूले ठुलो क्षति बेहोर्नुपरेको छ । नेपालको चिया तुलनात्मक रूपमा गुणस्तरीय भए पनि भारतीय पक्षबाट हुने नेगेटिभ रिपोर्टिङ र अवरोध सुनियोजित देखिन्छ ।’
यो समस्या प्राविधिक मात्र नभई कूटनीतिक भएको उल्लेख गर्दै उनले सरकार–देखि–सरकार (जीटुजी) तहमा वार्ता गरेर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए।परराष्ट्रमन्त्री र अन्य उच्च अधिकारीहरूको हालैका वैदेशिक भ्रमणहरूमा यो विषयले प्राथमिकता नपाउनु दुर्भाग्यपूर्ण रहेको उनको टिप्पणी थियो।
नेपाली चियाको गुणस्तर प्रमाणित गर्न नेपालमै अन्तर्राष्ट्रिय स्तरको परीक्षण केन्द्र स्थापना गर्नुपर्ने माग राईले अघि सारेका छन्। राज्यले चियालाई प्रमुख नगदे बाली र राजस्वको स्रोतका रूपमा स्विकार्न नसकेको उनको तर्क छ । चिया बगानको संरक्षण, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारका लागि सरकारले नयाँ स्टार्टअप र सहुलियतका कार्यक्रम ल्याउनुपर्ने उनले बताए।
व्यवसायीहरू आन्दोलित भई माइतीघर मण्डलामा धर्ना बस्ने तयारीमा रहेको उल्लेख गर्दै सांसद राईले सरकारलाई बेलैमा सचेत बन्न आग्रह गरे ।
प्रतिपक्षमा रहे पनि आफू चिया किसानकै छोरा भएको नाताले यस क्षेत्रको समस्या समाधानका लागि निरन्तर आवाज उठाइरहने र सरकारलाई जबाफदेही बनाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
-
कानुनी आधारबिना लाखौँ अस्थायी लाइसेन्स छपाइ
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण