अन्तरजातीय विवाह व्यक्तिगत प्रेमकथाको इतिहास मात्र होइन
सारांश
- नेपालको सामाजिक संरचनामा जातीय व्यवस्थाको प्रभाव लामो समयदेखि रहँदै आएको छ, जसले गर्दा अन्तरजातीय विवाहलाई सामाजिक रूपमा अस्वीकार्य मानिन्थ्यो ।
- संविधानले समानताको अधिकार दिए पनि व्यवहारमा अन्तरजातीय विवाह पूर्ण रूपमा सामान्य हुन सकेको छैन, यद्यपि यसले जातीय पूर्वाग्रह घटाउने र समानताको सोच विकास गर्ने सम्भावना बोकेको छ ।
- विवाहको सफलतालाई केवल परिवारको स्वीकृतिमा मात्र नमापी सम्मान, विश्वास, समानता र आपसी समझदारीमा आधारित हुनुपर्ने आवश्यकता छ ।
नेपालको सामाजिक संरचना लामो समयदेखि जात व्यवस्थाले प्रभावित रहँदै आएको छ । विशेष गरी दलित समुदायलाई सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा पछाडि पारिएको इतिहास हामीले पनि सुन्न पाईरहेकै छौँ । विवाहलाई जातीय शुद्धता कायम राख्ने माध्यमका रूपमा हेरिने भएकाले फरक जातबिच विवाह गर्नु सामाजिक रूपमा अस्वीकार्य मानिन्थ्यो ।
विगतमा दलित र गैरदलितबिच विवाह गर्ने जोडीहरू सामाजिक बहिष्कार, पारिवारिक सम्बन्ध विच्छेद र कतिपय अवस्थामा हिंसासमेतको सामना गर्न बाध्य हुन्थे । यद्यपि शिक्षा, शहरीकरण, लोकतान्त्रिक आन्दोलन र सञ्चार माध्यमको विस्तारसँगै समाजमा परिवर्तन आउन थालेको देखिन्छ ।
नेपालमा अन्तरजातीय विवाहको विषय केवल दुई व्यक्तिको वैवाहिक सम्बन्धको प्रश्न होइन; यो सामाजिक संरचना, जातीय शक्ति सम्बन्ध, पारिवारिक नियन्त्रण र सामाजिक परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । विशेष गरी दलित र गैरदलितबिच हुने विवाहले नेपाली समाजमा गहिरोसँग जरा गाडेर बसेको जातीय सोचलाई चुनौती दिने भएकाले यसले लामो समयदेखि बहस र विवाद दुवै सिर्जना गर्दै आएको छ ।
यद्यपि संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गरेको छ र जातीय विभेदलाई कानुनी अपराध मानेको छ, व्यवहारिक जीवनमा भने अन्तरजातीय विवाह अझै पनि पूर्ण रूपमा सामान्य सामाजिक अभ्यास बन्न सकेको छैन ।
अन्तरजातीय विवाहहरूले दीर्घकालमा जातीय पूर्वाग्रह घटाउने, सामाजिक अन्तरघुलनलाई बढाउने र नयाँ पुस्तामा समानताको सोच विकास गर्ने सम्भावना बोकेका हुन्छन् ।
नेपाली समाजको विद्यमान यथार्थबाट पूर्ण रूपमा टाढा छैन । परिवारको स्वीकृतिले अन्तरजातीय विवाह गर्ने जोडीलाई भावनात्मक सुरक्षा, सामाजिक समर्थन र आर्थिक सहयोग प्रदान गर्न सक्छ । विशेष गरी जातीय पूर्वाग्रह अझै बलियो रहेका समुदायमा परिवारको साथले दम्पतीलाई सामाजिक दबाब र बहिष्करणबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर यहाँनेर के प्रश्न उठ्छ भने परिवारले स्वीकार गरेकै आधारमा विवाह सफल र अस्वीकार गरेकै आधारमा असफल हुन्छ ?
यदि परिवारको विरोधका बाबजुद कुनै जोडीले सम्मान, विश्वास र समानतामा आधारित जीवन बिताइरहेको छ भने त्यसलाई असफल भन्न मिल्छ ? र, परिवारको पूर्ण समर्थन प्राप्त विवाह सम्बन्धविच्छेदमा पुग्छ भने त्यसलाई सफल कसरी मान्ने ? यिनै प्रश्नहरूले अन्तरजातीय विवाहलाई केवल पारिवारिक स्वीकृतिको चस्माबाट नभई व्यापक सामाजिक र समाजशास्त्रीय दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता देखिन्छ ।
तर, परिवारको स्वीकृतिलाई विवाह सफलताको अन्तिम मापदण्ड मान्ने दृष्टिकोणको अर्को पक्ष पनि छ, जसबारे पर्याप्त चर्चा हुने गरेको छैन । नेपाली समाजमा परिवारको पूर्ण समर्थन र सहमतिमा सम्पन्न भएका धेरै विवाहहरू पनि पछि विभिन्न कारणले संकटमा परेका उदाहरणहरू प्रशस्त भेटिन्छन् ।
कतिपय अवस्थामा विवाहपछि दम्पतीबिचको सम्बन्ध बिग्रँदै जाँदा परिवारकै सदस्यहरू विवादको कारण बन्ने गरेका छन् । सासु–बुहारीबिचको तनाव, पारिवारिक हस्तक्षेप, आर्थिक निर्णयमा असहमति, स्वतन्त्र रूपमा जीवन जिउन नपाउने अवस्था, पारिवारिक अपेक्षाको अत्यधिक दबाब, वा दम्पतीको एक अर्रर्कालाई दिने सम्मानमा कमीले दम्पतीलाई मानसिक तनावतर्फ धकेल्ने गरेको पाइन्छ । अझ केही अवस्थामा परिवारको पूर्ण समर्थनमा विवाह गरेका जोडीहरू नै पछि अलग बस्न बाध्य भएका छन् भने माया प्रेम, र दम्पतीबिच असमझदारीले गर्दा तथा विवाहेत्तर सम्बन्धका कारण अन्ततः सम्बन्धविच्छेद हुने गरेका छन् ।
विवाहको सफलतालाई केवल परिवारको स्वीकृतिको आधारमा मापन गर्नु पर्याप्त हुँदैन । सफल विवाह त्यो हो, जहाँ दुई व्यक्तिबिच सम्मान, विश्वास, समानता र आपसी समझदारी हुन्छ ।
यसले के स्पष्ट पार्छ भने परिवारको स्वीकृति विवाहलाई सहज बनाउन सहयोगी हुन सक्छ, तर त्यसले वैवाहिक सम्बन्धको स्थायित्व वा सफलताको ग्यारेन्टी भने गर्दैन । यदि परिवारको समर्थन मात्र सफलताको आधार हुन्थ्यो भने परिवारकै उपस्थितिमा सम्पन्न भएका सबै विवाहहरू दीर्घकालीन रूपमा सफल हुनुपर्ने थियो ।
नेपालमा अन्तरजातीय विवाहको इतिहास केवल व्यक्तिगत प्रेम कथाको इतिहास होइन; यो सामाजिक शक्ति, जातीय संरचना र परिवर्तित सङ्घर्षको इतिहास हो । शताब्दीयौँसम्म जातीय व्यवस्थाले विवाहलाई सामाजिक सीमा कायम राख्ने माध्यमका रूपमा प्रयोग गर्यो । दलित समुदायसँग वैवाहिक सम्बन्ध जोडिनु सामाजिक रूपमा अस्वीकार्य मानिन्थ्यो । आज कानुनी रूपमा समानता स्थापित भएपनि व्यवहारिक स्तरमा अन्तरजातीय विवाह अझै पनि चुनौतीपूर्ण छ ।
अन्तरजातीय विवाह केवल व्यक्तिगत सम्बन्धको विषय मात्र होइन; यो जातीय संरचना तोड्ने सामाजिक प्रक्रियासमेत हो । जब दलित र गैरदलितबिच विवाह हुन्छ, त्यो केवल दुई व्यक्तिको सम्बन्ध होइन, दुई सामाजिक समूहबिचको दूरी घटाउने अभ्यास पनि हो । यसले समाजमा ‘हामी र उनीहरू’ भन्ने विभाजनलाई कमजोर बनाउँदै समानताको नयाँ अभ्यास स्थापित गर्न मद्दत गर्छ ।
यस्ता विवाहहरूले दीर्घकालमा जातीय पूर्वाग्रह घटाउने, सामाजिक अन्तरघुलनलाई बढाउने र नयाँ पुस्तामा समानताको सोच विकास गर्ने सम्भावना बोकेका हुन्छन् ।
नेपालमा अन्तरजातीय विवाहको इतिहास केवल व्यक्तिगत प्रेम कथाको इतिहास होइन; यो सामाजिक शक्ति, जातीय संरचना र परिवर्तित सङ्घर्षको इतिहास हो
उदाहरणका रूपमा, कुनै गाउँमा दलित युवक र गैरदलित युवतीबिच विवाह भएपछि सुरुमा परिवार र समुदायमा विरोध देखिन्छ । तर समयसँगै उनीहरूका सन्तान, चाडपर्वमा सहभागिता र पारिवारिक सम्बन्ध विस्तार हुँदै जाँदा पहिले असम्भव ठानिएको सम्बन्ध सामान्य बन्दै जान्छ । यसले सामाजिक दूरी क्रमशः घटाउने प्रक्रिया सुरु गर्छ । यसैकारण अन्तरजातीय विवाहलाई केवल व्यक्तिगत निर्णय होइन, सामाजिक रूपान्तरणको एउटा माध्यमका रूपमा पनि हेरिन्छ ।
त्यसैले विवाहको सफलतालाई केवल परिवारको स्वीकृतिको आधारमा मापन गर्नु पर्याप्त हुँदैन । सफल विवाह त्यो हो, जहाँ दुई व्यक्तिबिच सम्मान, विश्वास, समानता र आपसी समझदारी हुन्छ । परिवारको समर्थनले त्यो यात्रा सहज बनाउन सक्छ, तर त्यसको अनुपस्थितिले सम्बन्ध स्वतः असफल हुन्छ भन्ने निष्कर्ष निकाल्नु पनि सही होइन ।
समग्रमा हेर्दा, दलित–गैरदलित विवाहको अस्वीकार्यता एक जटिल सामाजिक मुद्दा हो, जसलाई केवल जातीय दृष्टिकोणले मात्र बुझ्न सकिँदैन । यसमा जात, वर्ग, प्रतिष्ठा, परम्परा र सामाजिक दबाब सबै मिसिएका हुन्छन् । वास्तविक परिवर्तनका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतना, शिक्षा र मानव सम्बन्धलाई जातभन्दा माथि राख्ने सोचको विकास आवश्यक देखिन्छ ।
(लेखक पद्मकन्या क्याम्पसकी प्राध्यापक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण