ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन २०२५ को जनवरीदेखि सुरु गरेको व्यापक निर्वासन अभियानपछि आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बरभन्दा बढी बढेको एक विश्लेषणले देखाएको छ । आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई)का अभिलेखअनुसार ट्रम्प प्रशासनको अभियान सुरु भएयता हिरासतमा रहेका ५० जनाको मृत्यु भइसकेको छ ।
मृतकमध्ये एक भियतनामी नागरिक थिए, जसलाई मुटुसम्बन्धी समस्या थियो । उनको इन्डियानास्थित अधिकतम सुरक्षा कारागारलाई रूपान्तरण गरेर बनाइएको आप्रवासी हिरासत केन्द्रमा बेहोस भएर ढलेपछि मृत्यु भएको थियो । यस्तै, पेन्सिल्भेनियाको एक केन्द्रमा आत्महत्याको प्रयास गरिसकेका एक चिनियाँ नागरिक झुन्डिएको अवस्थामा भेटिएका थिए भने न्युयोर्कको एक केन्द्रमा मदिरा त्याग्दा उत्पन्न स्वास्थ्य समस्याबाट पीडित एक होन्डुरेली नागरिकको कोठामै मृत्यु भएको थियो ।
रोयटर्सले आईसीईको तथ्यांक विश्लेषण गर्दा सन २००९ देखि २०२४ सम्म औसतमा हिरासतमा रहेका प्रत्येक ३ हजार ८४८ व्यक्तिमध्ये एक जनाको मृत्यु हुने गरेको देखिएको छ । तर ट्रम्प दोहोर्याएर राष्ट्रपति बनेपछि यो दर बढेर प्रत्येक १ हजार ६३० बन्दीमा एक जनाको मृत्यु भएको छ । उक्त तथ्यांक सार्वजनिक अभिलेख मागमार्फत ‘डिपोर्टेसन डाटा प्रोजेक्ट’ले प्राप्त गरेको थियो भने त्यसलाई गैरनाफामूलक संस्था ‘भेरा इन्स्टिच्युट अफ जस्टिस’ले प्रशोधन गरेको थियो ।
विशेषज्ञहरूका अनुसार हिरासतमा हुने सबै मृत्यु प्रत्यक्ष रूपमा लापरबाही वा दुर्व्यवहारका कारण नहुन सक्छन् । तर मृत्यु दरमा आएको वृद्धि र अन्य तथ्यांकले निगरानी तथा स्वास्थ्य सेवाको गुणस्तरप्रति गम्भीर प्रश्न उठाएको छ । रोयटर्सका लागि अभिलेख र पोस्टमार्टम प्रतिवेदन अध्ययन गरेका विशेषज्ञहरूमध्ये क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्कोका चिकित्सक सञ्जय बसुले ५० मृत्युमध्ये २१ जना अचेत वा मृत अवस्थामा फेला परेको बताए । तीमध्ये १० वटा घटना आत्महत्यासँग सम्बन्धित थिए ।
उनका अनुसार यस्ता घटनाले मानसिक तथा शारीरिक स्वास्थ्य निगरानी कमजोर रहेको र आवश्यक उपचार समयमै उपलब्ध नभएको संकेत गर्न सक्छ । तथ्यांकअनुसार १६ जनाको मृत्यु हृदयाघात वा मुटुसम्बन्धी समस्याका कारण भएको थियो । चिकित्सकहरूले यसले प्रारम्भिक स्वास्थ्य परीक्षण तथा दीर्घरोग व्यवस्थापनमा कमजोरी देखाउन सक्ने बताएका छन् ।
स्वास्थ्य दृष्टिले जोखिममा रहेका व्यक्तिहरूलाई हिरासतमा राख्ने नीतिका कारण रोकथाम गर्न सकिने मृत्युहरूमा वृद्धि भएको कोलम्बिया विश्वविद्यालय इरभिङ मेडिकल सेन्टरकी सहायक प्राध्यापक शानेल डियाजले बताइन् । उनले भनिन्, ‘यो प्रणाली दीर्घकालीन स्वास्थ्य उपचार व्यवस्थापनका लागि बनाइएको होइन,’ उनका अनुसार मृत्यु हुनेमध्ये कम्तीमा दुई जना डिमेन्सियाका बिरामी थिए र उनीहरूबाट सार्वजनिक सुरक्षामा कुनै जोखिम थिएन ।
अमेरिकी गृह सुरक्षा मन्त्रालयले ट्रम्प प्रशासनकालीन मृत्यु घटनाका विस्तृत अभिलेख उपलब्ध गराएको छैन । मन्त्रालयले हिरासत केन्द्रहरूमा सुरक्षित, व्यवस्थित र मानवीय वातावरण सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ । विभागकी प्रवक्ता लरेन बिसले जारी गरेको वक्तव्यमा हिरासतमा ल्याइएका व्यक्तिहरूलाई आगमनको क्षणदेखि नै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने र बसाइभर निरन्तर उपचार प्रदान गरिने दाबी गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
-
हर्क साम्पाङले महावीरलाई गराए सचेत
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण