शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शुक्रबार, ०५ असार २०८३, १४ : ००
शुक्रबार, ०५ असार २०८३

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
  • अधिकृत यादवले सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी दिने प्रक्रियामा सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस लिएको आरोप छ।
  • अख्तियारले यादवविरुद्ध ७२ हजार रुपैयाँ बिगो, जरिवाना र कैद सजायको मागदाबी गरेको छ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी दिने प्रक्रियामा सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस लिएको अभियोगमा उनीमाथि मुद्दा दायर गरिएको हो।

आयोगका अनुसार अधिकृत यादवले सम्झौता अनुसारको काम सकिए पनि विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख दिँदै घुस माग गरेका थिए। सोही सूचनाका आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारले जनाएको छ। 

उनीविरुद्ध ७२ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गर्दै आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप