शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

ऋण लिँदैमा जहाजै डुब्ने होइन, यो बाध्यात्मक अवस्था हो : अर्थमन्त्री वाग्ले

शुक्रबार, ०५ असार २०८३, १४ : ३९
शुक्रबार, ०५ असार २०८३

सारांश

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालका लागि वैदेशिक ऋण लिनु बाध्यात्मक अवस्था भएको बताएका छन् ।
  • उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरिएकाले ऋण लिने कुरालाई लिएर जहाज नै डुब्छ भने जसरी विरोध गर्न आवश्यक नरहेको जिकिर गरे ।
  • उनले ऋणको सही सदुपयोगले आर्थिक वृद्धि र आम्दानी सिर्जना गर्ने तर्क गरे ।

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालका लागि वैदेशिक ऋण लिनु बाध्यात्मक अवस्था भएको बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो स्पष्टीकरण दिएका हुन् । 

अर्थमन्त्री वाग्लेले नेपालले आफैँ तिर्दै जाने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गरेकाले ऋण लिने कुरालाई लिएर जहाज नै डुब्छ भने जसरी विरोध गर्न आवश्यक नरहेको जिकिर गरे । उनले उत्पादनमूलक गतिविधिमा लगानी गरिएकाले लिइएको ऋणबाट नआत्तिन पनि सांसदहरूलाई आग्रह गरे ।

संसद्मा स्पष्टीकरण दिँदै मन्त्री वाग्लेले भने, ‘ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन । माननीयजीहरूबाट नै आइसक्यो । ऋण लिनु खराब होइन, ऋण लिनुपर्दछ । हाम्रो त बाध्यात्मक अवस्था नै छ । कहाँ सदुपयोग गरियो ? त्यो उल्लेख्य हो । त्यसमा माननीयजीहरूले ठुलो निगरानी गर्नुपर्ने हुन्छ । र, आजको दिनमा पनि रातो किताब हेर्नुभयो भने माननीयजीहरूले देख्नुहुन्छ– बढी सडक पूर्वाधार, ट्रान्समिसन लाइन, यस्तैयस्तैमा हो हाम्रो ऋणको लगानी । र, त्यो ऋणको सौन्दर्य के हो भने त्यो आफैँ तिरिँदै जाने लगानी हो ।’

उनले ऋणको सही सदुपयोगले आर्थिक वृद्धि र आम्दानी सिर्जना गर्ने तर्क गरे । उनले अगाडि थपे, ‘त्यसले आर्थिक वृद्धि सिर्जना गर्छ । त्यसले आम्दानी सिर्जना गर्दछ । ऋण लिएर घिउ खाएको पो भएन त । उत्पादनमूलक गतिविधिमा लगानी गर्नुहुन्छ । र, त्यो इतिहास जारी रहेको हाम्रो झन्डै झन्डै ६५ वर्ष भयो । अर्थतन्त्रको आधार र सामर्थ्य बढ्दै गयो भने वैदेशिक ऋण पनि नट ब्याड ।’

यसका साथै अर्थमन्त्री वाग्लेले सरकारले कडाइका साथ भ्रष्टाचार नियन्त्रण गरेर लक्ष्य अनुसारकै राजस्व सङ्कलन गर्न सक्ने दाबी समेत गरे । उनले राजस्व चुहावट रोक्न र वित्तीय अनुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । (न्युज एजेन्सी नेपाल)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप