शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

कक्षा १२ को नतिजा छिटो ल्याउन उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन : शिक्षामन्त्री

शनिबार, ०६ असार २०८३, १५ : ४१
शनिबार, ०६ असार २०८३

सारांश

  • शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा छिटो प्रकाशन गर्न उत्तरपुस्तिका जाँचमा हतार नगरिएको स्पष्ट पारेका छन् ।
  • उनले आवश्यक जनशक्ति बढाइएको, समपरीक्षणका लागि काठमाडौँ ल्याउनुपर्ने बाध्यता हटाइएको, उत्तरपुस्तिका लामो समयसम्म रोकिराख्ने अभ्यास अन्त्य गरिएको र परीक्षण प्रक्रिया समयमै सुरु गरिएको बताए ।
  • यस वर्ष नतिजा विगतमा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारिएको र गत वर्षको तुलनामा उत्तीर्ण प्रतिशत करिब ८ प्रतिशतले वृद्धि भएको मन्त्री पोखरेलको भनाइ छ ।

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा छिटो प्रकाशन गर्न उत्तरपुस्तिका जाँचमा हतार नगरिएको स्पष्ट पारेका छन् । आज शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री पोखरेलले उत्तरपुस्तिका जाँचमा हतार नगरिएको बरु आवश्यक जनशक्ति बढाइएको बताएका हुन् । 

पोखरेलले भने, ‘उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन। बरु आवश्यक जनशक्ति बढाइएको छ, समपरीक्षणका लागि काठमाडौँ  ल्याउनुपर्ने बाध्यता हटाइएको छ, उत्तरपुस्तिका लामो समयसम्म रोकिराख्ने अभ्यास अन्त्य गरिएको छ, र परीक्षण प्रक्रिया समयमै सुरु गरिएको छ । साथै, गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशत करिब ८ प्रतिशतले वृद्धि भएको तथ्य पनि स्मरण गराउन चाहन्छु ।’

नतिजा छिटो प्रकाशित गर्नका लागि विगतमा अपनाइँदै आएका कुनै पनि आवश्यक प्रक्रिया नहटाइएको उनले बताएका छन् । विगतमा उत्तरपुस्तिका परीक्षणपश्चात् समपरीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउने व्यवस्था थियो । यसवर्ष भने समपरीक्षण सम्बन्धित स्थानमै गर्न सकिने व्यवस्था मिलाइएकाले काठमाडौँ ल्याउनुपर्ने बाध्यता हटाइएको बताए ।

पोखरेलले भने, ‘उत्तरपुस्तिका अनावश्यक रूपमा लामो समयसम्म रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गर्दै परीक्षण प्रक्रिया समयमै सुरु गरिएको हो। यसको अर्थ कसैलाई हतारहतार परीक्षण गर्न लगाइएको भने होइन।  परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतभन्दा बढी जनशक्ति परिचालन गरिएको छ र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन दिइएको छैन ।’

यस वर्ष नतिजा ‘असामान्य रूपमा छिटो’ आएको भन्दा पनि विगतमा नतिजा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारिएको पोखरेलको भनाइ छ । 

गत वर्षको तुलनामा यसवर्ष कक्षा १२ मा उत्तीर्ण प्रतिशत करिब ८ प्रतिशतले वृद्धि भएको तथ्य पनि स्मरण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप