धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
सारांश
- धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
- बजेटमा चालुतर्फ १ अर्ब ४३ करोड र पुँजीगततर्फ १ अर्ब २३ करोड खर्च हुने अनुमान छ, जसको स्रोत आन्तरिक आय, राजस्व बाँडफाँड, वित्तीय हस्तान्तरण र प्रदेश सरकारको सहयोगबाट जुटाइनेछ।
- आगामी बजेटले नगर बस सेवा विस्तार, नगर गौरवका आयोजना, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रोजगारी सिर्जना र खेलकुद विकासलाई प्राथमिकता दिएको छ।
धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि साढे दुई अर्बभन्दा बढीको बजेट ल्याएको छ। आइतबार आयोजित नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकलाकुमारी रानाले कूल २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँको आय(व्यय विवरण प्रस्तुत गरेकी हुन्।
विनियोजित बजेटमध्ये चालुतर्फ १ अर्ब ४३ करोड ६३ लाख ८७ हजार ७८१ रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २३ करोड ७६ लाख ६८३ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
यस बजेटको स्रोत व्यवस्थापनका लागि उपमहानगरले आन्तरिक आयबाट ५५ करोड १० लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ। त्यसैगरी राजस्व बाँडफाँडबाट ६० करोड ४५ लाख, सङ्घीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ६ करोड र प्रदेश सरकारबाट १४ करोड २२ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
अपुग रकम चालु आर्थिक वर्षको बचतबाट व्यवस्थापन गरिने उपप्रमुख रानाले जानकारी दिइन्। बजेट भाषणका क्रममा उनले गत आर्थिक वर्षहरूमा भएको खर्चको समीक्षा गर्दै चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको खर्च विवरण समेत नगरसभामा पेस गरिन्।
आगामी वर्षको बजेटले नगरको यातायात प्रणालीलाई थप व्यवस्थित बनाउन नगर बस सेवाको विस्तारलाई विशेष प्राथमिकता दिएको छ। हाल सञ्चालनमा रहेका रुटबाहेक अब धनगढी–कनरी–रामपुर–चौमाला, धनगढी–पथरी–बनबेहडा, धनगढी–बेली–जुगेडा र धनगढी–घोडसुवा–स्याउले रुटमा पनि बस सेवा विस्तार गरिने भएको छ।
यसका साथै नगर गौरवका आयोजना, दीगो पूर्वाधार विकास, सडक बत्ती व्यवस्थापन र रात्रीकालीन पर्यटन प्रवर्द्धनलाई बजेटले विशेष जोड दिएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा उपमहानगरले पुरानै प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिएको छ। विद्यार्थीलाई सीपसँग जोड्ने ‘पढ्दै सिक्दै’ कार्यक्रम, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र शुक्रबारीय सीप विकास कार्यक्रमलाई आगामी वर्ष पनि प्राथमिकतामा राखिएको छ।
स्वास्थ्यतर्फ विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक र ‘आमा बचाउ’ कार्यक्रमलाई थप सुदृढ बनाइने बजेटमा उल्लेख छ। त्यस्तै, खेलकुदको जग बलियो बनाउन ग्रासरुट फुटबल र क्रिकेट विकासलाई निरन्तरता दिइनेछ।
वातावरण संरक्षण र शहरी सौन्दर्यीकरणका लागि ‘हाम्रो धनगढी, सफा धनगढी’, ‘उज्यालो धनगढी’ र ‘जहाँ खाली, त्यहाँ हरियाली’ जस्ता अभियानहरूलाई बजेटले समेटेको छ।
रोजगारी सिर्जनाका लागि सीप तथा रोजगार मेलाको आयोजना गर्ने र नगर प्रहरीको परिचालनलाई थप प्रभावकारी बनाउने नीति उपमहानगरले लिएको छ। बजेट प्रस्तुत गर्नुअघि उपप्रमुख रानाले नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण