आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
टिप्पणी

रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश

आइतबार, ०७ असार २०८३, २१ : ०९
आइतबार, ०७ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र मार्फत नेपाली नागरिक, आफ्ना कार्यकर्ता र अन्य दलहरूलाई केही सन्देश दिएको छ ।
  • पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाहले गुटगत प्रतिस्पर्धालाई निरुत्साहित गर्दै महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गरे ।
  • रवि लामिछानेले बालेन शाहलाई गोल हान्ने जिम्मा प्रधानमन्त्रीको हुने बताए भने बालेन शाहले सुशासनको अभिभारा यही कार्यकालमा पूरा गरेर अर्को निर्वाचनमा अन्य एजेन्डा बोकेर जनतामा जाने प्रतिबद्धता जनाए ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार चितवनमा प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र मार्फत नेपाली नागरिक, आफ्ना कार्यकर्ता र अन्य दलहरूलाई केही सन्देश प्रस्ट रूपमा दिएको छ ।

पार्टीभित्र कुनै रूपमा विभाजनको बिजारोपण भइरहेको छ कि ? रवि र बालेनबिच सत्ता स्वार्थ बढेर पार्टी विभाजन हुने हो कि ? राज्यसत्तामा अनुभव नभएको र पार्टीको संगठनसमेत जरा तहमा मजबुत नभएका कारण झन्डै दुई तिहाइ बहुमतको भार रास्वपाले थेग्न नसक्ने पो हो कि भन्नेजस्ता आशङ्का पछिल्लो दिनमा उजागर भइरहेको थियो ।

गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत पाएर सङ्घीय सरकारको नेतृत्व गरिरहेका कारण पनि रास्वपालाई यतिबेला देश–विदेशबाट निकै चासोका साथ हेरिएको छ ।

प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले हासिल गरेको सफलता लोभलाग्दो नै थियो । दशकौँ लामो इतिहास बोकेका दलहरूलाई पाखा लगाउँदै रास्वपाले स्थापनाको चार वर्ष नपुग्दै झन्डै दुई तिहाइ बहुमतसहित एकल सरकार गठन गर्नु सामान्य उपलब्धि होइन ।

एकथरिले प्रतिनिधि सभा निर्वाचनको परिणाम घोषणा भएदेखि नै रास्वपाले कसरी यतिका सिट जित्न सफल भयो भन्नेबारे लख काट्ने, आफ्नो विवेक अनुसारका व्याख्या–विवेचना गरेर आफूलाई विश्लेषकको परिचय दिलाउने प्रयास गरिरहेका छन् ।

अर्काथरि भने निर्वाचनमार्फत बेलुनझैँ फुलेको रास्वपा कहिले फुट्ला र आफूहरूकै साइजमा आइपुग्ला भनेर प्रतीक्षा गरेझैँ देखिन्छन् ।

यसक्रममा कहिलेकाहीँ सरकार र रास्वपाप्रति आरोपको प्रहार नभएका पनि होइनन् ।

हुन पनि प्रतिनिधि सभा चुनाव अघि रास्वपाले झन्डै दुई तिहाइ बहुमत पाउँछ भन्दा धेरैका लागि त्यो हाँसो–खिल्लीको विषय बन्थ्यो । कतिपयले रास्वपा मुस्किलले ४०–५० सिटसहित सरकार गठनका लागि एउटा निर्णायक राजनीतिक शक्ति बन्न सक्ने आकलन गरेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, विभिन्न मधेसवादी दल हुँदाहुँदै रास्वपाले झन्डै दुई तिहाइ मत पाएर एकल बहुमतको सरकार बनाउँछ भन्नेबारे धेरैले कल्पनासमेत गर्न सकेका थिएनन् ।

आखिर पुराना र तत्कालीन अवस्थामा ठुला रहेका दलका नेता, उनीहरू निकटका विश्लेषकलाई चकित पार्दै जनताले रास्वपालाई प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गरे । पूर्वघोषणा अनुसार नै रास्वपाले वरिष्ठ नेता वालेन्द्र (बालेन) शाहको नेतृत्वमा सरकार गठन गर्‍यो ।

यसबिचमा सरकारले गरेका काम–कारबाहीलाई लिएर विरोधका आवाज पनि सुनिए । कहिले प्रधानमन्त्री बालेन नबोलेको विषयमा विवाद भयो, कहिले उनी बोलेको विषयमा विवाद भयो । कहिले उनी संसद् बैठकमा नआएको विषयमा विवाद निकालियो भने कहिले उनी बैठक छाडेर हिँडेको विषयमा विवाद भयो ।

यिनै परिस्थितिका बिच रास्वपा प्रथम महाधिवेशनमा होमिएको छ। महाधिवेशनको तयारी हुँदैगर्दा पनि यो पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासप्रति धेरैको चासो रह्यो । जिल्ला अधिवेशन, प्रदेश अधिवेशनमा सभापति रवि लामिछाने पक्ष हावी भयो कि बालेन पक्ष भन्नेबारे समेत चासो रहेको पाइयो ।

शीर्ष नेताले दिएका सन्देश

जङ्गलमा अनेक रुख हुन्छन्, तर जुन रुख विशाल छ, मानिसको आँखा ती असङ्ख्य अन्य रुखलाई छाडेर त्यही विशाल रुखतिर गड्छन् । त्यसैले छोटो समयमा चमत्कारकै रूपमा सफलता पाएर देशकै ठुलो दल बनेको रास्वपामा सबैको आँखा पर्नु, धेरैले चासो राख्नु स्वाभाविक हो ।

रास्वपाले हासिल गर्ने सिटका बारेमा जसरी निर्वाचन अघि चर्चा हुन्थ्यो, उसको प्रथम महाधिवेशनको पूर्वसन्ध्यामा यसको नेतृत्व, विचार, सिद्धान्तबारे टिप्पणी हुनु, चासो बढ्नु अस्वाभाविक थिएन । किनकि अहिले त रास्वपा देशकै ठुलो पार्टीमात्र होइन, उसकै नेतृत्वमा एकल सरकार छ । यस पार्टीका दुई प्रमुख नेता अर्थात् सभापति रवि लामिछाने पार्टी सत्ताको नेतृत्व गर्दै, वरिष्ठ नेता बालेन शाह राज्य सत्ताको नेतृत्व गर्दै महाधिवेशनमा पुगेका छन् ।

स्वाभाविक रूपमा महाधिवेशनले नयाँ नेतृत्व चयनका साथै पार्टीको विचार, सिद्धान्तमाथि छलफल गरेर पार्टीलाई मार्गनिर्देश गर्नेछ । महाधिवेशनमा कतै रवि लामिछाने र बालेन शाहको गुटबिच प्रतिस्पर्धा हुने हो कि, पार्टीमा को बलियो हुने भन्नेमा होडबाजी चल्ने हो कि भन्ने आशङ्का नउब्जिएको पनि हैन ।

किनकि, पुराना भनिएका राजनीतिक दलका महाधिवेशनमा गुट–गुटबिच प्रतिस्पर्धा हेरेर हुर्किएको पुस्ताले महाधिवेशनप्रति त्योभन्दा बढी अपेक्षा नगर्नु अनौठो होइन । यद्यपि, पुराना दलहरूको बेथिति, राज्य सत्ता सञ्चालनका क्रममा उनीहरूले गरेका भ्रष्टाचार, अनियमितताविरुद्ध आवाज उठाउँदै आएको रास्वपाले महाधिवेशनका क्रममा हुने गुटगत प्रतिस्पर्धालाई खारेज गरिदिएको छ ।

रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाहले गुटगत प्रतिस्पर्धालाई निरुत्साहितमात्र गरेनन्, महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधनका क्रममा त्यस्ता गतिविधिविरुद्ध नेता–कार्यकर्तालाई खबरदारीसमेत गरे ।

दुवै नेताले पार्टी सत्ता र राज्य सत्ताबारे उठेका आशङ्का पनि मेटाइदिएका छन् । प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाहले महाधिवेशनको अवधिभर पार्टीका बारेमा सोच्न र त्यसपछि देशका बारेमा सोच्न नेता–कार्यकर्तालाई आह्वान गर्दै सन्देश दिएका छन्– हमेसा आफूलाई केन्द्रमा राखेर राजनीति गर्ने होइन, निश्चित समय पार्टीका लागि सोचेर अधिकांश समय देशका लागि सोचौँ ।

त्यस्तै सभापति रवि लामिछानेले पार्टीभित्र लडाउने, ढलाउने, फाटो ल्याउने प्रयास निकै हुनेछ भन्दै त्यस्ता गतिविधिप्रति आफू सचेत रहेको सन्देश दिए । उनले भने, ‘हामीले नेपाली जनता र इतिहासलाई साक्षी राखेर गरेको सहमतिको एक–एक अक्षर इमानदारीपूर्वक पालना गर्ने प्रण गर्न चाहन्छु ।’

उनको आशय बालेन शाह प्रधानमन्त्रीका रूपमा रहिरहने र आफू पार्टी सत्ताको नेतृत्व गर्ने सन्दर्भमा केन्द्रित थियो ।

केही साताअघि रविले भारत भ्रमणका क्रममा पाएको स्वागत–सत्कार, प्रधानमन्त्री बालेन शाहको कार्यशैली लगायतलाई केन्द्रमा राखेर कतिपयले कतै रवि नै अब प्रधानमन्त्री त हुने होइनन् भन्ने आशङ्का पनि नगरेका होइनन् । यद्यपि रविले महाधिवेशन उद्घाटन सत्रमै त्यस्ता आशङ्कालाई आफ्ना अभिव्यक्तिमार्फत मेटाइदिएका छन् ।

रास्वपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्‍याइसकेको चर्चा गर्दै उनले ‘अब भटाभट गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेन शाहको हुनेछ’ भने । यतिमात्र होइन, झुक्किएर त्यो बल कहीँ आफूतिर आएछ भने पनि त्यही खुट्टा (बालेनको खुट्टा)मा पास गर्ने जिम्मा आफ्नो भन्दै उनले बालेनलाई ढाडससमेत दिए । ‘किनकि यहाँ मुख मिठ्याउनेहरू धेरै छन्,’ रविले भने, ‘म तिनलाई जबाफ दिन बोलिरहेको छैन, म त इतिहासलाई जबाफ दिन बोलिरहेको छु ।’

२०४६ सालको जनआन्दोलन सफल भएपछि अन्तरिम सरकारको नेतृत्व गर्न आफूलाई आएको प्रस्ताव सर्वोच्च नेता गणेशमान सिंहले अस्वीकार गर्दै कृष्णप्रसाद भट्टराईलाई अघि बढाएका थिए । सोही शैलीमा यतिबेला रविले बालेनलाई निर्धक्कसँग काम गर्ने वातावरणको सुनिश्चितता बनाइदिएका मात्र होइनन्, चुनाव अघि नै आफूले ‘भावी प्रधानमन्त्री’ भनेर जनाएको प्रतिबद्धताप्रति इमानदार रहने प्रण पनि दोहोर्‍याएका छन् ।

बालेनले पनि रास्वपा हरेक निर्वाचनमा एउटै एजेन्डा लिएर नजाने प्रस्ट पार्दै सुशासनको अभिभारा यही कार्यकालमा पूरा गरेर अर्को निर्वाचनमा अन्य एजेन्डा बोकेर जनतामा जाने प्रतिबद्धता जनाए ।

केही दिनमै रास्वपा नयाँ नेतृत्व चयन गरी चितवनबाट फर्कने छ । महाधिवेशनकै उदघाटनसत्रमा पार्टीका शीर्ष दुई नेताले दिएका अभिव्यक्तिको आधारमा रवि नै नेतृत्वमा दोहोरिने निश्चितजस्तै रहेको भन्न सकिन्छ । अन्य पदाधिकारीमा पनि खासै परिवर्तन नहोला । किनकि, यो त्यही टिम हो, जसले गत फागुनको निर्वाचनमा पार्टीलाई ऐतिहासिक उपलब्धि हासिल गरायो ।

एकता प्रक्रियाबाट जोडिएका कतिपय नेतालाई समेट्न कार्यसमितिमा ५१ जना मनोनीत गर्ने प्रावधान पनि राखिएको छ । जसका आधारमा अहिले कार्यसमितिमा नरहेका तर रहनैपर्ने अनुहारलाई समेट्ने ठाउँ बनाइदिएको छ ।

नेपालको राजनीतिक इतिहासमा दुई तिहाइ वा झन्डै दुई तिहाइ मत पाएर सरकार गठन गरेका उदाहरण नभएका होइनन् । यद्यपि कुनै पनि सरकार पूरा अवधि टिक्न नसकेर राजनीतिक अस्थिरताको लामो चक्र निर्माण भएको इतिहासलाई मेट्दै रास्वपा र उसको नेतृत्वमा रहेको सरकारले पाँच वर्षसम्म देशलाई स्थिर सरकार दिन सकोस्। रास्वपा र उसको नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकासप्रतिको जनआकाङ्क्षामा खरो उत्रिन सकोस् । तबमात्र जनताले गरेको अपार विश्वासले सार्थकता पाउने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप