देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु
सारांश
- देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ।
- काठमाडौँ, सिन्धुली, रूपन्देही, तनहुँ, ललितपुर, चितवन, कास्की र काभ्रे जिल्लामा भएका दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको हो।
- दुर्घटनामा परी मृत्यु हुनेमा पैदलयात्री, मोटरसाइकल चालक र स्कुटरमा सवार व्यक्तिहरू रहेका छन्।
काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि नौ जनाको मृत्यु भएको छ। काठमाडौँ, सिन्धुली, रूपन्देही, तनहुँ, ललितपुर, चितवन, कास्की र काभ्रेमा भएका यी दुर्घटनामा ती मानिसहरूले ज्यान गुमाएका हुन्।
काठमाडौँ महानगरपालिका-११ भोटेबहालस्थित सडकमा बा.३ ख ४६४० नम्बरको गाडीको ठक्करबाट पैदलयात्री एक महिलाको आइतबार राति मृत्यु भएको छ। नाम, थर र वतन नखुलेकी अन्दाजी २८ वर्षीया ती महिलाको राष्ट्रिय ट्रामा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका-८ करकरेमा पार्किङ गरी राखिएको ना.६ त २५३४ नम्बरको ट्याक्टर आफै गुड्न गई किच्दा पाँच वर्षीया बालिका शान्वी थापाको मृत्यु भएको छ। जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा उनको मृत्यु भएको हो र प्रहरीले फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ।
रूपन्देहीको देवदह नगरपालिका-१० मा बुटवलबाट भलुहीतर्फ जाँदै गरेको लु.१४ प २९७४ नम्बरको मोटरसाइकल सोमबार बिहान दुर्घटना हुँदा बर्दघाटका ३२ वर्षीय चालक प्रेम सापकोटाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। मोटरसाइकलमा सवार अन्य एकजना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ।
यता तनहुँको बन्दीपुर गाउँपालिका-४ गुम्बामा ग.१ क ५४६६ नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना हुँदा व्यासका ३६ वर्षीय चालक चुनु श्रेष्ठको आर्मी अस्पताल फूलबारीमा उपचारको क्रममा मृत्यु भएको छ।
ललितपुरको गोदावरी नगरपालिका-३ नयाँबाटोमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नौ वर्षीय बालक पाल्तेन तामाङको पाटन अस्पतालमा उपचारको क्रममा आइतबार बेलुकी मृत्यु भएको छ। प्रहरीले फरार मोटरसाइकल र चालकको खोजी तीव्र पारेको छ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका-१५ मा ना.५ ख ५८१६ नम्बरको ट्रकमा बा.प्र-०६-००४ प ७२४८ नम्बरको स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक २२ वर्षीय अशोक भण्डारी र १९ वर्षीय राजिब गुरूङ रहेका छन्। उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्कीको पोखरा महानगरपालिका-६ बुलौदीको ओरालोमा ग.९ प ९४२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बागमाराका २३ वर्षीय चालक बिबश मल्ल ठकुरीको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अर्की एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
उता काभ्रेको मण्डनदेउपुर नगरपालिका-१२ ठुली वेशीस्थित वेतेनी बगरमा बा.४ ख ९८२५ नम्बरको टिपर बालुवा लोड गरी ब्याक गर्ने क्रममा रोकी राखेको अर्को टिपरबिच च्यापिएर १९ वर्षीय देबेन्द्र तामाङको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीले ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएको छ। यी सम्पूर्ण दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण